आगामी चुनावमा उम्मेद्ववार बन्न कस्तो योग्यता चाहिन्छ? (सम्पूर्ण विवरणसहित) – Janadesh Daily | ePaper

आगामी चुनावमा उम्मेद्ववार बन्न कस्तो योग्यता चाहिन्छ? (सम्पूर्ण विवरणसहित)


जनादेश वाच।

आगामी निर्वाचनमा राजनीतिक पदबाहेक कुनै सरकारी कोषबाट आर्थिक लाभ लिएका व्यक्ति उमेदवार बन्न नपाउने भएका छन् । आयोगले असोज २३ गते आइतबारका लागि मनोनयन दर्ताको मिति तोकेको छ । मनोनयनको मिति नजिकिएसँगै आयोगले उमेदवार हुन चाहनेको योग्यताबारे जानकारी गराएको छ ।

आयोगका अनुसार निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ र निर्वाचन आयोगले निर्धारण गरेको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ बमोजिम कुनै व्यक्ति निर्वाचनमा उमेदवारको योग्यता पुगेको हुनुपर्छ ।

उमेदवार बन्न योग्य हुने अवस्था :
(क) नेपालको नागरिक,
(ख) प्रतिनिधि सभा सदस्य निर्वाचनको हकमा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र प्रदेश सभा सदस्य निर्वाचनको हकमा सम्बन्धित प्रदेशको कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको,
(ग) पच्चिस वर्ष उमेर पूरा भएको,
(घ) कुनै सङ्घीय कानूनले अयोग्य नभएको र
(ङ) कुनै लाभको पदमा बहाल नरहेको ।

उमेदवार हुन अयोग्य मानिने अवस्था :
(क) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा तथा नेपाल सरकार, प्रदेशसरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको,

(ख) निर्वाचनसम्बन्धी प्रचलित कानूनबमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको,

(ग) भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागु औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाई वा कुनै कसूरमा जन्म कैद वा बिस वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको,

(घ) सङ्गठित अपराधसम्बन्धी कसूरमा कैदको सजाय पाई वा कर्तव्य ज्यान सम्बन्धी कसूरमा बीस वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको,

(ङ) जातीय भेदभाव तथा छुवाछुत, बोक्सा बोक्सी वा बहुविवाहसम्बन्धी कसूरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको,

(च) यसबाहेक अन्य कसूरमा पाँच वर्ष वा सो भन्दा बढी कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको,

(छ) प्रचलित कानूनबमोजिम कालो सूचीमा रहेको,

(ज) कैदमा बसेकोमा कैद बसेको अवधिभर,

(झ) नेपालको संविधानको धारा २९१ विपरीत विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेको,

(ञ) मानसिक सन्तुलन ठीक नभएको ।

मनोनयनपत्र दर्ता भएको कुनै उमेदवार अयोग्य भएमा अन्य कुनै उमेदवार वा निजको प्रतिनिधिलाई लागेमा सो विषयमा स्पष्ट प्रमाणसहित सम्बन्धित निर्वाचन अधिकृत समक्ष उजुरी दिन सकिने जनाइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्