जनादेश वाच।
विभिन्न विद्यालयका शिक्षक तथा सरकारी कर्मचारीले उम्मेदवारको समर्थन र विरोधमा प्रचार–प्रसार गरेको भन्दै निर्वाचन आयोगले आपत्ति जनाएको छ । शिक्षक र कर्मचारीले चुनाव प्रचार गर्नु आचारसंहिता विपरीत हुने भन्दै निर्वाचन आयोगले त्यसो नगर्न देशैभरिका शिक्षक र कर्मचारीहरुलाई सचेत गराएको छ ।
चुनावको प्रचार प्रसार गर्दै सामाजिक सञ्जालमा कुनै सामग्री पोष्टिङसमेत नगर्न आयोगले भनेको छ ।
निर्वाचन आयोगले मंगलबार साँझ प्रेस वक्तव्य जारी गर्दै भनेको छ, ‘आचारसंहिताको प्रतिकूल हुने गरी कतिपय सरकारी कर्मचारी तथा सार्वजनिक संस्थामा कार्यरत कर्मचारी र विद्यालय, महाविद्यालय वा विश्ववविद्यालय तथा सोमा सम्वद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकहरु राजनीतिक दल र उम्मदेवारका पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न रहेको पाइएको छ ।’
आयोगले अगाडि भनेको छ, ‘त्यसरी प्रचार प्रसारमा संलग्न कर्मचारी तथा शिक्षकहरुले उम्मेदवारसँग तस्बिर खिचाई बधाई र शुभकामना दिने, राजनीतिक दल र उम्मेदवारहरुका प्रचार सामग्रीहरुको शेयर र लाइक गर्ने गरेका घटनाहरु अनुुगमनका क्रममा पाइएकाले आयोगदे आवश्यक कारवाही प्रारम्भ गरेको छ ।’