जनादेश अन्तर्राष्ट्रिय वाच।
विश्वका धनाढ्य व्यक्ति इलोन मस्कले ट्विटरमा युक्रेनमा रुसी अतिक्रमण अन्त्य गर्ने आफ्ना सुझाव रहेको पोल (एक किसिमको मत सर्वेक्षण) पोस्ट गर्नु अगाडि उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरेका भन्ने विवरणलाई असत्य भन्दै अस्वीकार गरेका छन्। युरेसिया ग्रुपको राजनीतिक जोखिमसम्बन्धी परामर्शदातृ निकायका प्रमुख इयान ब्रेमरले पुटिनसँगका कुराकानीबारे उनलाई मस्क स्वयंले बताएको आरोप लगाएका थिए। तर मस्कले उक्त कुरा अस्वीकार गरेका छन्।
मस्कले हालसालै आफूले पुटिनसँग कुरा नगरेको बताएका छन्। “मैले पुटिनसँग केवल एकपल्ट त्यो पनि १८ महिना अगाडि कुरा गरेको थिएँ। उक्त कुराकानीको विषय अन्तरिक्ष थियो,” मस्कले भने। ट्विटरमा १० करोड ७० लाख फलोअर भएका मस्कले गत साता युक्रेन युद्ध समाधान गर्ने उपायबारे मत प्रकट गर्न आफ्ना फलोअरहरूलाई आह्वान गरेका थिए। त्यसमा उनले रुसले गाभेका युक्रेनी भूभागमा चुनाव गराउने प्रस्ताव पनि थियो। उनका ती भनाइलाई मस्कोले स्वागत गरेको थियो। खर्बपति मस्कले ट्वीटरमा लेखेका थिए: “यदि त्यहाँका मानिसले (विपरीत) मत दिए रुसले छाड्नुपर्छ।” किएभ तथा उसका पश्चिमा समर्थकहरूले अवैध भनेको जनमत सङ्ग्रह गराएर राष्ट्रपति पुटिनले चार युक्रेनी भूभागलाई रुसमा गाभेको घोषणा गरिसकेका छन्।
सुझाव र शर्तका विवरण
मस्कले के पनि सुझाव दिएका छन् भने रुसले सन् २०१४ मा अवैध रूपमा गाभेको युक्रेनको क्राइमियालाई विश्वले मान्यता दिनुपर्छ। यदि क्राइमियालाई रुसले गाभेको मान्यता दिने, युक्रेनले स्थायी तटस्थता अपनाउने, र किएभले लुहान्स्क, डोनेत्स्क, खेअरसन र जापोरिज्यालाई रुसले गाभेको मान्यता दिने भएमात्र ‘छलफलबाट समस्या समाधान’ गर्न रुसी राष्ट्रपति इच्छुक हुने आफूलाई बताइएको भनेर मस्कले भनेको ब्रेमरले एक न्यूजलेटरमा लेखेका छन्। स्पेस एक्सका मालिक मस्कले आफूसँग कुरा गर्दै पुटिनले जसरी भएपनि ती उद्देश्य हासिल गरेरै छाड्ने भनेको अनि यदि युक्रेनले क्राइमिया अतिक्रमण गरे परमाणु हमलाको सम्भावना हुने बताएको ब्रेमरले उल्लेख गरेका थिए। तर ती सबै विवरणलाई मस्कले खण्डन गरेका छन्।
ट्वीट बन्यो विवादित
मस्कको ट्विटर मत सर्वेक्षण निकै विवादित बनेको थियो। युक्रेनका विदेशमन्त्री डिमित्रो कुलेबाले युक्रेनले आफ्ना मानिस र भूमि त्याग्न प्रस्ताव गर्नेहरूले ‘रुसलाई थप हजारौँ युक्रेनीको हत्या र बलात्कार गर्न अनि भूमि लुट्न’ दिनका निम्ति ‘शान्ति’को कुरा गर्न बरु त्याग्न भनेका छन्। रुसी चेस ग्रान्डमास्टर ग्यारी कास्पारोभले मस्कको ट्वीटलाई ‘नैतिकहीन मूर्खता, क्रेम्लिन प्रोपागान्डाको विस्तार, अनि युक्रेनी साहस र बलिदानप्रति बेइमानी,’ भनेका छन्। क्रेम्लिनका प्रवक्ता डिमित्री पेस्कोफले मस्कको सुझावलाई स्वागत गर्दै भनेका थिए: “यो एकदमै सकारात्मक छ कि इलोन मस्कजस्तो व्यक्तिले यस समस्याको शान्तिपूर्ण समाधान खोजिरहेका छन्।” युद्धको प्रारम्भकालमा मस्कले युक्रेनमा उनका स्टारलिङ्क इन्टरनेट टर्मिनलहरू पठाइदिएका थिए र उनी त्यहाँ निकै लोकप्रिय पनि भए। उनलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भ्रमणको निम्तो पनि दिएका थिए। तर उनका पछिल्ला ट्वीटहरूपछि उक्त सम्बन्ध बिग्रिएको छ।
गत साता जेलेन्स्कीले ती ट्वीटहरूको चर्को आलोचना गरे। अमेरिकाको सङ्घीय कानुनले अमेरिकी नागरिकहरूलाई सरकारको अनुमति वा सहभागितामा बाहेक विदेश मामिला सञ्चालन गर्न रोक्छ। लोगन एक्ट भनिने उक्त कानुन सन् १७९९ मा राष्ट्रपति जोन एडम्सले लागु गराएका थिए। तर उक्त कानुनअन्तर्गत हालसम्म कसैलाई कारबाही भने गरिएको छैन।