७० करोडको आरोप खेप्दै बास्कोटा-विपक्षीका लागि बन्यो उनीविरुद्ध प्रचारको मुख्य मसला – Janadesh Daily | ePaper

७० करोडको आरोप खेप्दै बास्कोटा-विपक्षीका लागि बन्यो उनीविरुद्ध प्रचारको मुख्य मसला


जनादेश, काठमाण्डौं । २०७४ सालको आम निर्वाचनमा अध्यक्ष केपी शर्मा ओलीपछि दोस्रो बढी लोकप्रिय मत ल्याएर काभ्रे क्षेत्र नम्बर-२ बाट निर्वाचित बनेका गोकुल बास्कोटा फेरि त्यही जित हात पार्ने प्रयत्नमा छन्।

काभ्रे-२ : बास्कोटा आक्रामक, विपक्षीको प्रचार ‘७० करोड’

तीन झण्डै तीन वर्षसम्म सञ्चारमन्त्रीको हैसियतमा सरकारको प्रवक्ता रहँदा उनी विपक्षीमाथि सधैं हाबी भए। सरकारको प्रवक्ता रुपमा सरकारको प्रतिरक्षा गर्ने सवालमा बास्कोटा सधैं अग्रपंक्तिमा रहेका थिए।

उनको आक्रामक शैली यसपटकको चुनावमा भोटमा पनि त्यही हिसावले रुपान्तरिक हुन्छ कि हुँदैन त्यसका लागि केही हप्ता कुर्नु पर्ने छ तर उनको चुनाव प्रचार भने निकै आक्रामक पाइएको छ।

प्रधानमन्त्री ओलीका विश्वास पात्र रहेका बास्कोटाको रुखो शैली धेरैलाई मन पर्दैन थियो। तर उनी सेक्युरिटी प्रेस खदिर प्रकरणमा सार्वजनिक भएको अडियोपछि उनले त्यही विवादमा ओली सरकारलाई जोगाउन मन्त्री पदबाट राजीनामा दिए। निकै नै राजनीतिकरण भएको सो प्रकरण हालसम्म पनि प्रमाणित हुन सकेको छैन।

यो प्रकरणलाई नै विपक्षीले उनीविरुद्ध प्रचारको मुख्य मसला बनाएको छ र यसैकारण गोकुलको लोकप्रियताका कमी आएको छ भन्ने विश्वासका आधारमा विपक्षीले उनीमाथि सधैं ७० करोडको आरोप लगाउने गरेका छन्।

अहिले यही ७० करोडको आरोप खेप्दै आएका बास्कोटा फेरि जनताबीचमा गएका छन्। मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा काभ्रे-२ बाट उम्मेदवार बनेका बास्कोटालाई पुरानै नतिजा प्राप्त गर्न ठूलो चुनौती खडा भएको छ।

अघिल्लो निर्वाचनमा बाम गठबन्धन थियो, एमाले सिंगो थियो। तर अहिले परिस्थिति फेरिएको छ। यसअघिको सहयात्री दल माओवादी केन्द्रले अहिले नेपाली कांग्रेससँग गठबन्धन गरेको छ भने एमाले विभाजित अवस्थामा छ। पार्टी विभाजनको असर तुलनात्मक रुपमा अन्त भन्दा बढी काभ्रे जिल्लामा बढी परेको छ।

बास्कोटाको प्रतिस्पर्धा ०५६ साल र ०७० सालमा जित निकाल्न सफल कांग्रेस शिव हुमागाईंसँग हुँदैछ। यसका बावजुद पनि एमाले यहाँ जित निकाल्नेमा ढुक्क देखिन्छ। मन्त्री हुँदा गरेको विकासको काम, केन्द्रसम्म पहुँच भएको र जनतासँग भिजेको हिसावले पनि यो पटक गठबन्धनलाई हराउन सक्ने नेता गोकुल बास्कोटा भएको बताउँछन् बनेपा नगरपालिकाका दिनेश श्रेष्ठ।

‘०७४ सालको जस्तो सहज उहाँलाई छैन। ०७४ मा केपी ओली दोस्रो लोकप्रिय मत ल्याएर जित निकाल्नु भएको थियो,’ श्रेष्ठ भन्छन्, ‘अहिले परिस्थिति फेरिएको छ। यसअघि साथ दिएको माओवादीले अहिले कांग्रेसलाई साथ दिएको छ। जित निकाल्न चुनौती त छ, तर असंभव छैन।’

बस्कोटा मन्त्री हुँदा विषेश गरी खानेपानीको समस्या समाधानका लागि धेरै काम गरेको उनले बताए। जनताले विकास निर्माणलाई नै हेर्ने हो भएकाले विकास गर्ने नेताको रुपमा सो क्षेत्रमा मतदाताले बास्कोटालाई नै मतदान गर्ने पाँचखाल नगरपालिकाका जयसिंह खरेल दाबी गर्दछन्। ओली सरकारको पालामा काभ्रेमा धेरै बजेट पारेका थिए। उनले धेरै बजेट लगेको भन्दै संसदमासमेत विरोध भएको थियो।

काभ्रे-२ मा भएको विकासलाई विपक्षी नेताहरुलेसमेत विरोध गर्न सकेका छैनन्। बनेपा, पनौती, धुलिखेल र पाँचखालमा खानेपानीका ठूला आयोजना, सूर्यविनायक धुलिखेल राजमार्ग विस्तार, ग्वार्को-कुशादेवी-पनौती सडकलाई राजमार्गको रूपमा विकास जस्ता कामले बास्कोटा काभ्रेमा परिचित छन्।

मदन भण्डारी प्राविधिक विश्वविद्यालय र प्रतिरक्षा विश्वविद्यालय काभ्रेमा लैजान गरेको पहल पनि गोकुलका चुनावी एजेण्डा बन्दैछन्। काभ्रे-२ मा २०६४ को संविधानसभा निर्वाचनमा उक्त क्षेत्रबाट कृष्णप्रसाद सापकोटा र २०७० मा अहिलेको क्षेत्र नम्बर २ कै एक हिस्सा रहेको क्षेत्र नम्बर ४ बाट विदुर सापकोटाले चुनाव जितेका थिए।

एमालेबाट चुनाव जितेका सापकोटाद्वय अहिले अहिले बाँस्कोटाका साथमा छैनन्। एमालेका प्रभावशाली नेता रूपमा लिने उनीहरू दुवैजना नेतासँग क्षेत्र नम्बर २ को क र ख का दुवै सांसदद्वय बसुन्धरा हुमागाईं र लक्ष्मण लम्साल लगायतका अधिकांश नेता एकीकृत समाजवादीमा छन्।

यी नेताहरूको उपस्थिति नै बास्कोटालाई ठूलो चुनौती हुन सक्छन्। त्यस्तै माओवादीका समेत ठूला नेता रहेकाले गठबन्धनका उम्मेदवार हुमागाईं बास्कोटालाई मुख्य चुनौती बन्न सक्छन्।

बास्कोटा एक्लै चनावी प्रतिश्पर्धामा रहेका बेला हुमागाईंलाई गठबन्धनको साथ छ। तर हुमागाईं क्षेत्र परिवर्तन गरेर दुई नम्बरमा आएको र उनीमाथि लाग्ने गरेको टुरिष्ट उम्मेदवारको आरोपको फाइदा बास्कोटालाई हुन सक्छ। मतदातामा नामावलीमा उनको नाम काभ्रे-१ मा पर्छ भने काभ्रे-२ गोकुलको निर्वाचन क्षेत्र हो।

कांग्रेसभित्रको अन्तरविरोध मिलाउन नसकेको अवस्थामा त्यसको फाइदा बास्कोटाले लिन सक्ने सम्भावना समेत उत्तिकै रहेको एक नेताले बताए। उनका अनुसार त्यस्तो हुनबाट रोक्न गठबन्धनका उम्मेदवार हुमागाईंले टिकटका प्रतिस्पर्धी कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्य गुटलाई मनाउनुपर्ने हुन्छ।

पछिल्लो चुनाव लक्षित कार्यक्रममा नेता आचार्य र उनका निकटस्थहरू सहभागी नभएको देखिएको हुनाले खतरा भने टारेको देखिँदैन।
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गरेर गोकुल विजयी भएका थिए।

गोकुलले ५४ हजार ४ सय २७ मत पाउँदा प्रतिद्वन्द्वी कांग्रेसका मधु आचार्यले ३६ हजार ५ सय ७९ मत प्राप्त गरेका थिए। दुई उम्मेदवारबीचको मतान्तर १७ हजार ८ सय ४८ थियो।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको वडा तहको मतमा पनि एमाले अगाडि छ। एमालेको ४५ हजार ५ सय १४ मत छ भने कांग्रेसको ४५ हजार ४ सय ५६ मत छ। काभ्रे-२ मा १ लाख ५७ हजार ४ सय ४२ मतदाता छन्।

यो समाचार डिसीनेपालमा छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्