के हो ‘नट अगेन अभियान’को फण्डाः किन सार्वजनिक रूपमै आक्रोशित बने बाबुराम – Janadesh Daily | ePaper

के हो ‘नट अगेन अभियान’को फण्डाः किन सार्वजनिक रूपमै आक्रोशित बने बाबुराम


जनादेश वाच।
पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले आफ्नोबारेमा अनर्गल प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् । आफू स्वेच्छाले निर्वाचनको प्रतिस्पर्धामै नहुँदाहुँदै पनि तस्वीर राखेर अनर्गल प्रचार गरिएको भन्दै उनले आपत्ति जनाएका हुन् । ‘जो स्वेच्छाले चुनावी प्रतिस्पर्धामै छैन र स्वविवेकले भिन्न ढंगगको रूपान्तरणकारी राजनीतिको पैरवी गरिरहेको छ उसको समेत फोटो राखेर अनर्गल दुष्प्रचार गर्नेहरू कुन ग्रहबाट आएका हुन् ?’ उनले प्रश्न गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘ उनीहरूको चर्मचक्षु भएपनि ज्ञानचक्षु छैन कि ? सामाजिक संजालमा फोहर ओकल्नेहरूको हिसाब इतिहासले राख्ने नै छ !’

केही समूहले चलाएको ‘नट अगेन’ भन्ने अभियानमा बाबुरामको पनि तस्विर राखिएको थियो। निर्वाचन आयोगले मंगलबार ‘नो, नट अगेन’ नामका फेसबुक पेज र ग्रुपमा विभिन्न दलका शीर्ष नेताहरूलाई गालीगलौज गरिएको भन्दै त्यस्ता गतिविधि रोक्न र नरोकिए कारबाही गर्ने भन्दै विज्ञप्ति जारी गरेको थियो। ‘नो, नट अगेन’ नामका तीन वटा पेज र समग्र अभियानले नै विभिन्न दलका शीर्ष नेताविरूद्ध घृणा फैलाएकाले बन्देज लगाउनु परेको आयोगको भनाइ छ। आयोगको उक्त निर्णयको सामाजिक सञ्जालका केहीले विरोध गरेका छन्।

तर बाबुरामले भने आफ्नो तस्विरको प्रयोग भएकोमा विरोध जनाएका हुन्। शीर्ष नेताहरूविरूद्ध बोल्न नपाइने भन्दै आयोगले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हकविरूद्ध र शीर्ष नेताका पक्षमा निर्णय गरेको भन्दै आलोचना भएको छ।

नेकपा (एमाले) का नेता भीम रावलले बुधबार बिहान ट्विट गर्दै भनेका छन्- कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले ‘शीर्ष’ ठानेका नेताहरूलाई अहिले नै ‘विजयी’ घोषणा गरिदिए कसो होला? यद्यपि आयोगको भनाई नेपालको संविधानको धारा १७ को विचार र अभिव्यक्तिको स्वतन्त्रता र १९ को सञ्चारको हक विरूद्ध छ। उनले आयोगको यो निर्णयले एमालेको दशौं महाधिवेशनमा आफूलाई मत नदिन भन्दै गरिएको खुला प्रचारको सम्झना दिलाएको बताएका छन्।

आयोगले भने मंगलबारको निर्णय संगठित रूपमा पेज नै चलाएर दुष्प्रचार र गालीगलौजसहित अमुक दलका उम्मेदवारलाई समर्थन गर्ने अभिप्रायसमेत देखिएकाले त्यस्ता पेज तथा गतिविधिलाई आयोगले बन्देज लगाउन खोजेको बताएको छ। ‘शीर्ष नेताहरूको फोटो राखेर त्यसमा क्रस गर्दै वा उहाँहरूको विषयमा द्वेषपूर्ण अभिव्यक्ति र गालगलौज गरेको देखियो। कुनै पेजमा अमुक दलको प्रचार पनि भेटियो। आयोगले त्यस्ता गतिविधिलाई नियमन गर्दै कारबाहीको चेतावनी दिएको हो,’ आयोगका सहायक प्रवक्ता सुर्यप्रसाद अर्यालले भने।

आयोगले मुख्यत: एउटै नाम नो, नट अगेन भएका तीन वटा पेजलाई प्रष्ट तोकेको छ। यी पेजबाट उम्मेदवारहरूप्रति लाञ्छनापूर्ण अभिव्यक्ति प्रकाशन भएको आयोगको ठहर छ। ३० हजार बढी फलोअर्स रहेको No, Not Again ले मंसिर ४ वारपार भन्दै शीर्ष नेताहरूलाई विदाई गर्नुपर्ने अभियान चलाएको छ। शीर्ष नेताहरूको फोटो राखेर त्यस पेजबाट शेयर गरेको तस्बिरमा भनिएको छ, ‘अबको निर्वाचनबाट स-सम्मान बिदा गरौं, भूमाफिया तस्कर, दलाल र व्यापारीसँगको सेटिङमा सामेल भएर देशलाई खोक्रो बनाउने नेताहरूले देशको अर्थतन्त्र र विकासको काम अघि बढाउन सक्दैनन्।’

मधेस केन्द्रित दलका नेताहरूको तस्बिर राख्दै जनमत सत्ताको भर्‍याङ मात्रै नभएको र सत्ता लिप्सा मात्रै रहेकाहरूलाई बिदा गर्नुपर्ने भन्दै पोष्टर बनाइएको छ। अर्को पेज No. Not Again का १९ हजार सदस्य छन्। त्यस पेजबाट रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचार भइरहेको छ। त्यस पेजमा स्वतन्त्र उम्मेदवारलाई स्वतन्त्र मत भन्दै स्वतन्त्र पार्टीको विज्ञप्ति समेत राखेको देखिएको छ भने प्रमुख दलहरूलाई दलाल भन्दै गालीगलौज गरिएका पोष्ट समेत छन्।

यस्तै, १२ हजार सदस्य रहेको No Not Again पेजबाट समेत घृणात्मक अभिव्यक्ति सहितका प्रचार भइरहेको भन्दै आयोगले तत्काल बन्द गर्न निर्देशन दिएको हो। आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘’No, Not Again”, “NO NOT AGAIN” र “No. Not again” समेतका फेसबुक पेज/ग्रुपहरूबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरूबारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य/श्रव्यदृश्य सामग्री प्रकाशन गरेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। उल्लेखित कसूर गर्ने व्यक्तिहरूलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुबै सजाय हुने व्यवस्था रहेको हुँदा झुठा फेसबुक पेज /ग्रुपहरू तत्काल हटाइ उप्रान्त यस किसिमका गतिविधि नगर्न सम्बन्धित सबैलाई जानकारी गराइन्छ।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्