१.५२ प्रतिशतले घट्यो नेपाल टेलिकमको खुद नाफा – Janadesh Daily | ePaper

१.५२ प्रतिशतले घट्यो नेपाल टेलिकमको खुद नाफा


नेपाल टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार गत वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद मुनाफा १.५२ प्रतिशतले घटेको छ ।

टेलिकमले चालु आवको पहिलो त्रैमासमा २ अर्ब २२ करोड ५५ लाख ७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिमा टेलिकमले २ अर्ब २५ करोड ९९ लाख ४ हाजर रुपैयाँ नाफा आर्जन गरेको थियो ।

असोज मसान्तसम्म कम्पनीको कुल सञ्चालन आयमा ७.१४ प्रतिशतले घटेको छ । गत आर्थिक बर्षको असोज मसान्तमा ९ अर्ब ७७ करोड ५२ लाख ९४ हजार रुपैयाँ कूल सञ्चालन आय रहेको कम्पनीको समीक्षा अवधिमा यस्तो रकम ६९ करोड ७७ लाख ९ हजार रुपैयाँले कमी भई ९ अर्ब ७ करोड ७५ लाख ८५ हजार रुपैयाँमा सीमित रहेको हो ।

कम्पनीले गत आवको प्रथम त्रैमासिक अवधिसम्मको तुलनामा कुल आय भने ८ करोड ७७ लाख ४३ हजार रुपैयाँ अर्थात ०.८० प्रतिशतले बृद्धि गर्न सफल भएको छ । गत आवको समीक्षा अवधिमा १० अर्ब ९५ करोड २३ लाख ४६ हजार रुपैयाँ कूल आय रहेको कम्पनीको हाल यस्तो रकम बढेर ११ अर्ब ४ करोड ९० हजार रुपैयाँ पुगेको हो ।

चालू आर्थिक बर्षदेखि कर्मचारीहरूको तलब सुविधामा वृद्धि भएको कारणले कर्मचारी खर्च वृद्धि हुन गएको । अन्तरआबद्धता सम्बन्धी निर्देशिका अनुसार डोमेस्टिक अन्तरआबद्धता शुल्कमा कमी आएको र ओटिटि सेवाको बढ्दो प्रयोगका कारण अन्तरआबद्धता आयमा करिब १० करोड रुपैयाँले कमी भएको कम्पनीले जनाएको छ । साथै कम्पनीकाअनुसार ओटिटिले सेवाको बढ्दो प्रयोगका कारण भ्वाइस सेवाको समग्र आयमा कमी भएको हो ।

मौसमको प्रतिकूल असरले गर्दा विद्युत आपूर्ति तथा मर्मत सम्भार कार्य समयमा हुन नसकेकोले साइटहरू पनि समयमा सञ्चालन हुन नसकेको कम्पनीको भनाई छ ।

आर्थिक ऐन, २०७९ बाट दूरसञ्चार सेवा दस्तुरमा भएको परिवर्तनको कारण राजस्वमा प्रभाव पर्न गएको र कोभिड लगायत विभिन्न कारणले गर्दा विश्वव्यापी आर्थिक मन्दीका कारण देशको आर्थिक अवस्थामा परेको असरले क्रयशक्तिमामा असर गरेका कारण कम्पनीको नाफामा दबाव परेको कम्पनीले जनाएको छ ।

त्यस्तै, कम्पनीको गैर कार्य सञ्चालन आय भने बढेको छ । बैङ्क ब्याजदरमा भएको परिवर्तनका कारण कम्पनीको ब्याज आम्दानीमा करिब ७९ करोड रुपैयाँले वृद्धि भएको हो ।

विदेशी विनिमय दरमा भएको परिवर्तनका कारण करिब ७ करोड रुपैयाँ Foreign Exchange Gain भएको र कम्पनीको लेखा नीति तथा IFRS/NFRS बमोजिम गणना गर्दा इम्पेरियमेन्ट तथा फाइनान्स कस्टमा गत आ।व।मा भन्दा कमी आएको कम्पनीले जनाएको छ ।

डाटा सेवाको प्रयोगमा वृद्धि भएका कारण कम्पनीको जीएसएम डाटातर्फ करिब ११ करोड ४० लाख रुपैयाँ वृद्धि भएको कम्पनीको तथ्याङ्क छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्