जनादेश वाच।
बागमती किनारमा रहेको सुकुम्वासी बस्ती हटाउन पुगेको काठमाडौं महानगरपालिका ‘ब्याक’ भएको छ। स्थानीयहरूले चर्को प्रतिकारपछि महानगरले डोजर फिर्ता लगेको हो। सोमबार दिउँसो २ बजे बस्ती हटाउन भन्दै महानगरको टोली थापाथली पुगेको थियो। स्थानीयवासी प्रदर्शनमा उत्रिएर महानगरका एसपी राजु पाण्डेको टाउको फुटेको छ। उनीहरू कुनै पनि हालतमा बस्तीमा डोजर लाउन नदिन प्रतिकार गर्न लाठी, ढुङ्गा घरेलु हतियारसहित तयार बसेपछि महानगर पछि हटेको हो।
सोमबार दिउँसो अचानक काठमाडौं महानगरको डोजर छिरेपछि आन्दोलित बनेको थापाथलीस्थित सुकुम्बासी बस्ती राति पनि जाग्राम बसेको थियो। रातको मौका छोपेर जुनसुकै बेला पनि बस्तीभित्र डोजर लिएर महानगर आइपुग्ने शंशयले बस्तीका मान्छेहरु प्रतिकार गर्ने पूर्ण तयारीका साथ बसेका थिए। करिब १५ सयलाई खाना बनाइरहेका उनीहरु ज्यान गए जाओस्, तर बस्तीभित्र मुसो पनि छिर्न नदिने भनेर बस्तीका तीनै चोकमा ‘हाइ अलर्ट’ अवस्थामा थिए।
बस्तीका तिनै चोकमा ड्युटीको पालो मिलाएर टायर बालिरहेका छन् । वस्तीको मुख्य चोकमा ठूलो आगो बालिएको थियो भने त्यहाँ एक कफिन पनि राखिएको थियो । कफिनमा काठमाडौं महानगरका मेयर बालेनन्द्र शाहको ब्ल्याक एण्ड ह्वाइट फोटो राखिएको थियो । र फोटोमा जुत्ताको माला लगाइएको छ ।
यसबारे बस्तीका पूर्वअध्यक्ष चन्द्र बहादुर लामाले भने, ‘यो प्रतिकात्मक विरोध र विद्रोह हो । परिआएको खण्डमा बालेनमाथि जहाँ पनि आक्रमण हुन सक्छ ।’ आफूहरुले मेयर शाहलाई यस्तो अवस्थामा राख्नुपर्ला भनेर कहिल्यै नसोचेको बताउँछन् लामा । बरु युवाले महानगरको नेतृत्व गर्न आएपछि आफूहरुको समस्यामाथि गम्भीर बनिदिने अपेक्षा वस्तीका सबैले गरेका थिए ।
आफूहरुको सबै अपेक्षालाई कुल्चिँदै सडकमा पुर्याउने दुर्नियत बोकेर बालेनले डोजर पठाएपछि स्वयं बालेनसमेत अबका दिनमा सुरक्षित नरहेको जाग्राम बसिरहेका पदम बहादुर सिजापतिले धम्कीपूर्ण भाषामा हामीलाई बताए । राष्ट्रिय सुकुम्बासी मोर्चाको केन्द्रिय सल्लाहकार सिजापतिले भने, ‘प्राण जाला, तर बस्तीभित्र डोजर छिर्न दिने छैनौं । यदि छिरेमा हाम्रो लाशमाथि गुडेर मात्रै टहरा भत्काउने ठाउँमा पुनेछ डोजर । नत्र जे पनि गर्न हामी तयार छौं । यदि यसको समाधान खोज्ने हो भने राज्यले हामीसँग वार्ता गर्न तयार हुनुपर्छ । र हाम्रो समस्यालाई व्यवस्थित ढंगले सम्बोधन गरिनुपर्छ ।’
सोमबार दिउँसो महानगरले डोजर लिएर बस्तीअघि पुगेपछि स्थिति तनावग्रस्त बनेको थियो । वर्षौंदेखि बस्दै आएका निहत्था नागरिकलाई डोजरको भरमा राज्यले पेल्न खोजेपछि उनीहरु हिंसात्मक आन्दोलनमा उत्रिन बाध्य भएका थिए । केटाकेटीदेखि युवा हुँदै वृद्धसम्म भाला, खुडा, खुकुरी, रड, लाठी, इँटालगायत हातहतियार लिएर प्रतिकारमा उत्रिएपछि महानगरले डोजर फिर्ता गर्न बाध्य भएको थियो ।
टहरामा डोजर लगाउन पुगेका नगर प्रहरी एसपी पाण्डेको टाउकोमा चोट लागेपछि नगर प्रहरीको टोली नै ब्याक भएको थियो । ज्यान माया मारेर प्रतिकारमा सिंगो बस्ती उत्रिएपछि परिस्थिति नियन्त्रणमा लिन पुगेका नेपाल प्रहरी र सशस्त्र प्रहरी बल पनि पछि हट्न बाध्य भएको थियो । तर सिजापतिले एसपी पाण्डेको टाउकोमा ढुंगा लागेको नभएर चामलको गेडो लागेको दाबी गरे । उनले भने, ‘एसपी पाण्डेको टाउकोमा ढुंगा लागेको होइन, चामलको गेडो लागेको हो ।’
राति १० बजे बस्तीमा पुग्दा मुख्य चोक सुनसान मात्रै थिएन । चोकमा रहेको प्रहरी वृत्तमा ताला लगाइएको थियो । सुकुम्बासी बस्ती आफ्नो टहरा र सन्तानको भविष्य जोगाउन हिंसात्मक आन्दोलनमा उत्रिएपछि वृत्तबाट बाहिरिएका प्रहरीहरु राति पनि वृत्तमा गएनन्।
हाम्रो टिम बस्तीभित्र छिर्दा त्यहाँ १५ सयका लागि खाना तयार हँुदै थियो । कोही मस्यौराको तरकारी बनाइरहेका थिए भने कोही भात पकाइरहेका थिए । छेवैमा समूह–समूहमा बसेर आगो ताप्दै दिनभरको समीक्षा गरिरहेका थिए । महानगरको ‘एक्सन’को भर्त्सना गरिरहेका थिए ।
बस्तीकै बीच भागमा प्रोजेक्टरमार्फत् दिउँसो भएका झडप र हताहतीको भिडियो स्क्रिनिङ भइरहेको थियो । सयौं मान्छेहरु भिडिओलाई ध्यान दिएर हेरिरहेका थिए । जब आन्दोलनकारीको आक्रमणमा नगर प्रहरी हताहती भएको देख्थे, हुटिङ लगाउँथे । कुनै महासंग्राम जिते जसरी ताली पिट्थे । सिठ्ठी मार्थे ।
०६९ सालमै डा. बाबुराम भट्टराई प्रधानमन्त्री रहेको बेला वागमती किनारमा रहेको यो बस्तीमा डोजर पसेको थियो । भलै डोजरले त्यति धेरै क्षति पुर्याउन भने सकेन । त्यसबेलादेखि अहिलेसम्म दश वर्षको अन्तरालमा राज्यले कुनबेला डोजर पठाएर उठिबास लगाउँछ भन्ने भयले सिंगो बस्ती नै त्रसित भएर बाँचिरहेको छ । बस्तीमा मान्छेहरु यही चिन्ताले हरेक रात राम्रोसँग निदाउन सकेका छैनन् । उनीहरुलाई थाहा छ, उनीहरुसित लालपूर्जा छैन । र उनीहरुलाई थाहा छ, यस बस्ती छाडेर जाने ठाउँ कतै छैन ।