इटालेली फुजी स्याउ उत्पादनमा रमाउँदै किसान    – Janadesh Daily | ePaper

इटालेली फुजी स्याउ उत्पादनमा रमाउँदै किसान   


शुरबहादुर सिंह  

सुर्खेत ।  यतिबेला जुम्लामा लटरम्म फलेको इटालियन फुुजी जातको स्याउले त्यहाँ जाने जो कोहीलाई मोहित बनाउँछ । सानो स्याउको बिरुवा तर फलेको स्याउको ओजन धान्न नसकेर भुइँमा नुगेको डालीले अवलोकन गर्न जाने हरेकलाई हेरिरहुँ बनाउँछ ।

जुम्ली एग्रो फार्म र हाम्रो सहकारी प्रालिले चार वर्षअघि १० वर्षका लागि चन्दननाथ मन्दिरको २० हजार वर्गमिटर क्षेत्रफलको जग्गा लिजमा लिएर स्याउ खेती गरिरहेका छन् । जसमा तीन हजार ५०० फुजी जातको स्याउको बिरुवा लगाइएको छ । स्याउ बिरुवाको बीचमा कोसेबाली सिमी फलाइएको छ ।

जिल्लाभरि लगाइएका अन्य स्याउ नफलिरहेको अवस्थामा फुजी स्याउ लटरम्म फल्दा त्यससँग सम्बन्धित स्याउ किसान यतिबेलो निकै रमाइरहेका छन् । स्याउले रङ्ग, आकार र स्वाद दिइसकेको छ । जुम्ला एग्रो फार्म जुम्लाका व्यवस्थापक रेश्मा श्रेष्ठले मन्दिर परिसरको १० हजार वर्गमिटर क्षेत्रफलमा लगाएको दुई हजार २०० स्याउको बिरुवामध्ये एक हजार ७०० बिरुवा फलेको जानकारी दिनुभयो ।

“फुजी, गोल्डेन डेलिसियस, रेड चिप, गाला र जोर्डन गरी पाँच प्रकारका स्याउ लगाइएको छ”, व्यवस्थापक श्रेष्ठले भन्नुभयो, “यो वर्ष कम्तीमा १०–१२ टनसम्म उत्पादन हुने अनुमान गरेका छौं ।” २०७३ साल फागुन ६ गते जुम्लामा ल्याई पु¥याउँदा प्रतिबिरुवा रु एक हजार ३०० परेको जनाउँदै उहाँले इटालियन फुजी स्याउमा लगानीअनुसार अब आम्दानी उठ्ने अपेक्षा गरिएको बताउनुभयो ।

जुम्ला एग्रो फार्मले रु २८ लाख ६० हजार र हाम्रो सहकारी प्रालिले रु १६ लाख ९० हजार लगानीमा लगाएको स्याउले निरन्तर आम्दानी दिइरहेको छ । यद्यपि जरा धेरै गहिरो नजाने भएकाले भिरालो जमीनमा यो स्याउको खेती त्यति सजिलो नहुने उहाँको भनाइ छ । व्यवस्थापक श्रेष्ठका अनुसार एउटा बिरुवामा १० देखि १५ केजी स्याउ फल्ने गर्दछ । गत वर्ष ‘ए’ ग्रेड स्याउको प्रतिकेजी रु १५० र ‘बी’ ग्रेडको प्रतिकेजी १०० का दरले बिक्री वितरण भएको स्याउबाट उक्त फार्मले यो वर्ष रु १२ देखि १८ लाख आम्दानी गर्ने देखिन्छ ।

हाम्रो सहकारी प्रालि जुम्लाका व्यवस्थापक सरोज शाहीले पोटिलो एवं त्यसको ओजन बढाउनका लागि असोज महिनासम्म स्याउ भण्डारण नगरिने जानकारी दिनुभयो । “हामीले पाँच हजार वर्गमिटर क्षेत्रफलको जमीनमा एक हजार ३०० फुजी जातका स्याउ लगाएका छौँ,” व्यवस्थापक शाहीले भन्नुभयो, “त्यसमध्ये ८०० बिरुवामा स्याउ फल्दा आठ टन स्याउ उत्पादन हुने अनुमान गरेका छौँ ।”

गत वर्ष नै ‘ए’ ग्रेडको स्याउको बजार मूल्य प्रतिकेजी रु १५० थियो । यस वर्ष जुम्लामा अन्य स्याउ राम्रोसँग नफलेकाले फुजी स्याउको मूल्यमा वृद्धि भएर राम्रै आम्दानी हुने उहाँको भनाइ छ । उहाँका अनुसार सात÷आठ टन स्याउ फलेमा यस वर्ष रु आठ लाखदेखि ११ लाख आम्दानी हुने अनुमान गरिएको छ ।

लगाएकै वर्ष केही आम्दानी लिन सकिने विशेषताको स्याउ लगानी गर्नमै महँगो हुने भएकाले सामान्य किसानको पहुँच भने यो जातको स्याउसँग छैन । यसबाट व्यावसायिक तर साना लगानीका किसान निकै मर्कामा पर्दै आएको व्यवस्थापक श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार चालू आवदेखि प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना स्याउ सुपरजोन जुम्लाले किसानलाई प्रतिबिरुवा रु ५०० अनुदान उपलब्ध गर्ने योजना बाहिर ल्याएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्