हिउँदे वर्षा नहुँदा काठमाडौंको वायु प्रदूषण घातक स्तरमाः कुन कुन उमेर समूहलाई कस्ता जोखिम – Janadesh Daily | ePaper

हिउँदे वर्षा नहुँदा काठमाडौंको वायु प्रदूषण घातक स्तरमाः कुन कुन उमेर समूहलाई कस्ता जोखिम


जनादेश हेल्थ डेस्क।
काठमाडौं उपत्यकाको वायु दिन प्रतिदिन थप प्रदूषित बन्दै गएको छ । गत वर्षझैँ यसपटकको हिउँदमा पनि हावामा घातक ग्यासहरू हाबी हुने, आद्रता कम हुने तथा समयमा वर्षा नहुनेजस्ता कारणले वायु अस्वस्थकर बन्दै गएको छ ।

आइतबार साँझ ४ः४५ बजेको विवरणअनुसार वायु प्रदूषण मापन सूचक (एक्यूआई) ९२ पुगेको छ । शनिबार एक्यूआई १६५ सम्म पुगेको थियो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को मापदण्ड अनुसार एक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थकर मानिन्छ । यसैगरी, ५१ देखि १०० सम्म श्वासप्रश्वासका बिरामीका लागि हानिकारक, १०० भन्दा बढी भए वृद्धवृदा, दीर्घरोगी तथा बालबालिकाका लागि हानिकारक र २०० भन्दा बढी भए सबैका लागि घातक मानिन्छ ।

 काठमाडौंको वायुमा पीएम २.५ कन्सन्ट्रेसन डब्लूएचओको मापदण्डभन्दा ६.३ गुणा बढी रहेको आईक्यूएयरको पछिल्लो अपडेटले देखाएको छ । पीएम २.५ ले वायुमा हुने आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई एकीकृत स्वरूपमा बुझाउँछ ।

सवारीको धुवाँदेखि फोहोर जलाउँदासम्मको असर
जाडोयाममा ठूलो हावाहुरी नआउने र छिटफुटमात्रै वर्षा हुने र बाक्लो तुवाँलोका कारण यसैपनि वायुमण्डल प्रदूषित बन्नपुग्छ । त्यसमा सहरी क्षेत्रमा मानवीय कारणले थप प्रदूषण बढाउने गरेको अध्ययनहरूले देखाएका छन् ।

केहीदिनअघि वन तथा वातावरण विभागले काठमाडौं उपत्यकामा वायु प्रदूषणको मुख्य कारण गाडीले फ्याक्ने धुवाँ रहेको रिपोर्ट सार्वजनिक गरेको थियो । विभागले पुस १ गतेदेखि गरेको प्रदूषण जाँच अभियानमा काठमाडौं उपत्यकामा चल्ने गाडीहरूले फ्याँक्ने धुवाँको अवस्था खराब देखिएको र विशेषगरी डिजेलबाट चल्ने जिप, भ्यान, बसलगायत परीक्षणमा वायु प्रदूषणको मुख्य कारक रहेको पाइएको विभागका प्रवक्ता शंकरप्रसाद पौडेल बताउँछन् ।

सबाहेक प्लास्टिकजन्य फोहोर जलाउँदा निस्कने धुवाँ, इँटाभट्टाबाट निस्कने कालो धुवाँ तथा सडकमै थुप्रिएको धुलोका कारण वायु थप हानिकारक हुँदै गएको विभागका वातावरण निरिक्षक गोविन्दप्रसाद लामिछानेले बताए । विशेषगरी बिहान र साँझको वायु स्वास्थ्यका हिसाबले हानिकारक रहेको उनको भनाइ छ ।

किन वर्षा हुन सकिरहेको छैन ?
यसपटक हिउँदमा लामो समयसम्म वर्षा नहुँदा पनि वायु प्रदूषण थप बढ्दै गएको मौसमविद्हरू बताउँछन् । सामान्यतया डिसेम्बरको दोस्रो सातामा वर्षा हुने गरेकोमा यसपटक अझै केहीदिन वर्षाको सम्भावना नरहेको मौसमविद् गंगा नगरकोटीले बताइन् ।

“पश्चिमी वायुको प्रभावले वर्षा गराउनुपर्ने हो । तर यसपटक यो वायु निकै कमजोर किसिमको देखिएको छ । तत्काल वर्षा हुने सम्भावना कुनैपनि प्रदेशमा देखिँदैन,” नगरकोटीले भनिन् । बरु तापक्रम अझै घट्नसक्ने र फेब्रुअरीको अन्त्यसम्म नै तापक्रम न्यून रहनसक्ने उनले बताइन् ।

कसलाई कति जोखिम ?
विश्व स्वास्थ्य संगठनका अनुसार वायु प्रदूषण मृत्युको चौँथो प्रमुख कारक हो । प्रदूषित वायुका कारण विश्वमा वार्षिक ७० लाख जनाको मृत्यु हुने गरेको छ । नेपालमा वायु प्रदूषणजन्य रोगका कारण वर्सेनि ४२ हजार १०० जनाको मृत्यु हुने गरेको तथ्यांक छ ।

जाडोयाममा वातावरणमा अक्सिजनको मात्रा कम र अन्य दूषित ग्यासहरू हावी हुने ‘एन्टी अक्सिजन पोलुसन’ बढ्ने हुनाले यसले श्वासप्रश्वासजन्य समस्या बढाउने विज्ञहरू बताउँछन् । त्यतिमात्र नभई एन्टी अक्सिजन पोलुसनले छालाको बाहिरी तहलाई चाहिने भिटामिन ‘सी’ र ‘ई’को मात्रालाई घटाइदिन्छ । परिणामस्वरूप छालाको बाहिरी तहमा विभिन्न समस्या हुँदै यसको असर भित्रसम्मै पुग्छ ।

त्यस्तै, अचानक हुने यस्तोखाले मौसम परिवर्तनलाई मानिसको छालाले तुरुत्तै पचाउन सक्दैन र एलर्जी, छाला सुख्खा हुँदै जाने डिहाइड्रेसन, एक्जिमाजस्ता समस्या देखा पर्नसक्छन् । त्यसैले पनि यो प्रदूषणको समयमा सकेसम्म बाहिर नहिँड्न तथा हिँड्नैपरे छालाको लागि विशेष सुरक्षा कवच अपनाउनुपर्ने विज्ञहरू बताउँछन् ।

त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छातीरोग विशेषज्ञ डा. निरज बम जाडो बढेसँगै प्रदूषित हावापानीका कारण श्वासप्रश्वासका बिरामी बढेको बताउँछन् । ज्येष्ठ नागरिक, रोग प्रतिरोधी क्षमता कमजोर भएका नागरिकहरूका लागि प्रदूषित हावापानीका कारण संक्रमणले छिटो आक्रमण गर्ने, श्वासप्रश्वासमा समस्या निम्त्याउने तथा निमोनियाको सम्भावना बढाउने हुँदा सतर्कता अपनाउन उनको सुझाव छ ।

सामान्य अवस्थाका व्यक्तिलाई समेत प्रदूषित हावापानीले छाती घ्याघ्यार हुने लामो समय ज्वरो आउनेजस्ता समस्या निम्त्याउने भएकाले यस्ता समस्या देखिइहाले तुरुन्तै चिकित्सकको सल्लाह लिन डा. बम सुझाउँछन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्