जेमिमा केली
इलोन मस्कले भनेका थिए, ट्विटर मानव सभ्याताको भविष्यका लागि महत्वपूर्ण छ। उनले भनेको सही हो भने हाम्रो भविष्य अन्धकार देखिन्छ। ट्विटरमा प्राविधिक अवरोध आउने क्रम बढ्दो छ, विज्ञापनबाट हुने कमाइ घटेको छ। मात्र चार महिनाअघि ७ हजार ५ सय जना कर्मचारी भएको कम्पनीमा पटकपटकको कटौतीपछि अहिले २ हजार कर्मचारी छन्।
अक्टोबरमा ट्विटर किन्दा बेलाबेलामा विश्वकै सबैभन्दा धनाढ्य व्यक्ति बनिरहने मस्कले पैसा कमाउन नभई ‘मानवतालाई सहयोग गर्न’ यसको स्वामित्व लिएको बताएका थिए। ट्विटरलाई अझ गतिलो बनाउन आफू प्रतिबद्ध रहेको उनको भनाइ थियो। किनभने यो ‘सभ्याताको भविष्यका लागि एउटा साझा डिजिटल चौतारी रहनु महत्वपूर्ण हुने’ उनको तर्क थियो, जहाँ अनेक विचारबीच स्वस्थ बहस चलाउन सकियोस्।
पछिल्लो समय स्वस्थ होस् वा नहोस्, मस्कले कुनै गम्भीर बहसमा भाग लिएको मैले देखेकी छैन। तर, सस्ता मिम र खराब मजाक भने उनले अत्यधिक पोस्ट र सेयर गरेका छन्। मलाई अचम्म पनि लाग्छ, अमेरिकी राष्ट्रपतिको भन्दा आफ्नो ट्विट ज्यादा भिजिबल बनाउन ट्विटरको अल्गोरिदम नै बदल्न ८० इन्जिनियर खटाउने व्यक्तिले ट्विटरलाई र हामीलाई (उनका अनुसार) बचाउन कसरी सक्लान्?
केही हदसम्म यी कुरा बेकारका हुन्। ट्विटर किनेपछि मस्कले अचानक आफ्ना बकवास मजाक बन्द गर्लान् भन्ने अपेक्षा मैले गरेकै थिइनँ। न त आफ्ना १३ करोड फलोअर्ससामु गैरजिम्मेवार तरिकाले आधारहीन दाबी गर्न छाड्लान् र ट्विटरलाई व्यक्तिगत फाइदाका लागि उपयोग नगर्लान् भन्ने अपेक्षा नै गरेकी थिएँ। ट्विटरमा बेरोकटोक वाक् स्वतन्त्रता प्रदान गर्ने इच्छासम्म राख्लान् भन्ने आशा पनि थिएन।
त्यसमाथि, ट्विटर कुनै ‘डिजिटल चौतारी’ नभई दर्शकले समेत प्रस्तुति दिन मिल्ने रात्रिकालीन जमघटजस्तो छ। त्यसैले मस्कले हामी सबैलाई एक ठाउँमा ल्याउँछन् भन्ने विचार नै असम्भवप्रायः लाग्छ। मैले के चाहिँ अपेक्षा गरेकी थिएँ भने ट्विटर पहिले जति खराब थियो, वा जति असल थियो, मस्कले किनेपछि पनि त्यत्तिकै खराब वा असल रहिरहला।
तर, उनले किनेपछिका चार महिनालाई हेर्दा ट्विटर थप खराब बनेको छ। ट्विटरका सामग्री ज्यादा आपत्तिजनक वा ज्यादा आक्रामक वा ज्यादा झुट बनेकाले मात्र मैले यसो भनेकी होइन। नियमित रुपमा आउने प्राविधिक खराबीको कुरा पनि गरेकी होइन। ट्विटर यसै पहिलेभन्दा कम रोचक लाग्छ। पट्यारलाग्दो लाग्छ। यस्तो मलाई मात्र लागेको हो कि अरुलाई पनि भनेर बुझ्न गत साता मैले एउटा ट्विटर पोल गरेकी थिएँ। मैले चार सम्भावित विकल्प दिएकी थिएँः पहिलेभन्दा अत्यधिक खराब, अलिअलि खराब, पहिलेभन्दा गज्जब र कुनै फरक देखिँदैन।
२४ घण्टापछि नतिजा आयो। मत दिने २ हजार जनामध्ये ६ प्रतिशतले मात्रै मस्कले किनेपछि ट्विटर राम्रो बनेको जनाएका छन्। १७ प्रतिशतले कुनै फरक देखेनन्। यसको अर्थ हो, तीन चौथाइले खराब भएको महसुस गरे। जसमध्ये ३१ प्रतिशतले अत्यधिक खराब र ४६ प्रतिशतले अलिअलि खराब भनेका छन्।
मेरो अनुभव पनि यही हो। ट्विटर पहिलेभन्दा कम चाखलाग्दो उत्पादन बन्दै गएको छ। प्राविधिक अवरोधका अलावा ट्विटर प्रयोगकर्ताको अनुभव देखिनेगरी खस्केको छ। अल्गोरिदमले छानिदिने ‘फर यु’ ट्याब सामाजिक सञ्जालका अन्य प्लाटफर्मजस्तै लाग्छन्। जहाँ धेरै तस्बिर, भिडिओ र भाइरल हुन तम्तयार सामग्री छन्। जसको लत लाग्नसक्छ तर, त्यसमा गुदी भने अलिकति पनि हुँदैन। त्यसका लागि त हामीसँग इन्स्टाग्राम छँदैछ।
ट्विटरले ‘थर्ड पार्टी एप’हरुलाई पनि आफ्नो डेटामा सहज पहुँचको अनुमति दिन छाडेको छ। जसका कारण ती एपहरु बेकार भए। जुन प्रयोगकर्ताका अनुभवको एउटा अभिन्न हिस्सा थियो र थियो, ट्विटरको आफ्नो विकासको एउटा हिस्सा।
र, पहिलेभन्दै धेरै नै विज्ञापन देखिन थाले पनि थुप्रै विज्ञापनदाताले ट्विटर छाडेका छन्। जसले आम्दानी घटेको छ। उनीहरुको पछिपछि प्रयोगकर्ता पनि घट्न थालेका छन्। डेटा इन्टेलिजेन्स कम्पनी सिमिलरवेबका अनुसार जनवरीमा अघिल्लो वर्षको तुलनामा ट्विटरको ट्राफिक २ प्रतिशतले घट्यो। फेब्रुअरी २५ सम्मको २८ दिनमा ट्राफिक ५ प्रतिशतले घटेको छ।
कुनै समय ट्विटर अपराजेय लाग्थ्यो। तैपनि यो सदा टिकिरहने थिएन। हामी सबैलाई अहिलेसम्म ट्विटरमा टिकाइराखेको ‘नेटवर्क इफेक्ट’ले कुनै न कुनै विन्दुमा अर्को नेटवर्कका लागि बाटो खोलिदिने नै थियो। त्यसैले अन्ततः ट्विटरको मृत्यु हुँदा त्यसको सम्पूर्ण दोष हामीले मस्कको थाप्लोमा हाल्न सक्दैनौँ। तर, ट्विटरको मृत्युलाई यति झ्याउलाग्दो बनाएको दोष भने हामी उनलाई दिन सक्छौँ।
(फाइनान्सियल टाइम्सबाट)