नेकपाःसकारात्मक सन्देशका साथ अध्यक्षद्वयबीच छलफल – Janadesh Daily | ePaper

नेकपाःसकारात्मक सन्देशका साथ अध्यक्षद्वयबीच छलफल


काठमाडौँ,

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टीभित्रको आन्तरिक विवाद मिलाउन आज नौ दिनपछि पुनः छलफल भएको छ ।

यही साउन २० गतेयता संवादहीनता देखिएकामा आज उहाँहरुबीच छलफल हुनु र प्रधानमन्त्री ओलीले पाँचदिनभित्र विवाद समाधानोन्मुख हुन्छ भन्ने अभिव्यक्ति दिनाले कार्यकर्ता तहमा पार्टी विभाजन हुने चिन्ता मत्थर भएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उहाँहबीच आज अपराह्न करीब चार घण्टा प्रधानमन्त्री निवास बालुुवाटारमा भेटवार्ता भएको हो । आज अन्य सहयोगी नेता नराखी उहाँहरुबीच मात्रै छलफल भएको हो ।

यसअघि साउन १९ र २० का छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि सहभागी हुनुभएको थियो । सो भेटवार्तामा उहाँहरुबीच विचार माझ्ने गरी छलफल हुन थालेको र स्थिति सकारात्मक भएकाले स्थगित सचिवालय र स्थायी कमिटीको बैठक बस्ने या नियमित कार्यसूचीमा छलफल भई आन्तरिक विवाद हल हुने आकलन गरिएको छ ।

गत असार १० गते शुरु भएको स्थायी कमिटीमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँट र सरकार–पार्टीबीचको समन्वयबारे विवाद छ ।

यही साउन १३ गतेको पूर्वनिर्धारित स्थायी कमिटीको बैठक स्थगनपछि अध्यक्ष दाहालसहित बहुमत सदस्यको भेलाले अध्यक्ष ओलीसँग संवाद गर्न अध्यक्ष दाहाललाई जिम्मेवारी दिएकामा सोही भावनाबमोजिम दुई अध्यक्षको निरन्तर छलफल भएको हो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्