भारतबाट फर्किनेमा देखिँदै छ कोरोनाः नयाँ सब भेरियन्ट एक्सबीबी.१.१६ कति घातक ! – Janadesh Daily | ePaper

भारतबाट फर्किनेमा देखिँदै छ कोरोनाः नयाँ सब भेरियन्ट एक्सबीबी.१.१६ कति घातक !


जनादेश हेल्थ डेस्क।
भारतबाट घर फर्किएका नेपालीहरूमा कोरोना संक्रमण देखिन थालेको छ। बाँकेस्थित नेपाल-भारत सीमा जमुनाहा नाकाबाट नेपाल प्रवेश गरेकाहरूमा कोरोना संक्रमण पाइएको हो।

भारतबाट नेपाल आएकाहरूमा कोरोना देखिएसँगै परीक्षणको दायरा पनि बढाइएको जमुनाहा नाका हेल्थ डेस्क प्रमुख गीता गिरी शाहीले जानकारी दिइन्।

‘हामीले दिनहुँ १५० देखि २०० जनासम्म परीक्षण गरिरहेका छौं,’ उनले भनिन्, ‘चैत महिनामा मात्र ३० जनामा कोरोना पुष्टि भएको छ।’ कोरोना देखिएका र सामान्य लक्षण भएकाहरूलाई आइसोलेसनमा बस्न आग्रह गरिएको उनले बताइन्।

पछिल्लो दुई सातायता नेपालमा कोरोना संक्रमितको संख्या नियमित बढिरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार सोमबारसम्ममा देशभर सक्रिय संक्रमितको संख्या २२७ पुगेको छ । नेपालमा अहिले संक्रमितको संख्या बढ्नुमा ओमिक्रोनको नयाँ सब भेरियन्ट एक्सबीबी.१.१६ मुख्य कारक देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको जिन सिक्वेन्सिङ रिपोर्टअनुसार पछिल्लो पटक परीक्षण गरिएका २४ वटा नमूनामा सबैभन्दा धेरै १० जनामा सो सब भेरियन्ट पुष्टि भएको छ । ३ अप्रिलसम्म नेपालसहित विश्वका २२ मुलुकमा यो भाइरस फैलिएको डब्लूएचओले जनाएको छ ।

भारतमा गत जनवरीको दोस्रो साता एक्सबीबी.१.१६ नामक नयाँ सब भेरियन्ट देखिन सुरु भएको थियो । यो ओमिक्रोनको सब भेरियन्ट रहेको विज्ञहरूले बताउँदै आएका छन् । भारतको गुजरात, तेलंगाना, महाराष्ट्र, कर्नाटक लगायतका राज्यमा फैलिएको यो भाइरस नेपालमा भारतबाट नेपाल भित्रिने नाकामा देखिएका संक्रमितहरूमा बढी देखिएको छ ।

ओमिक्रोनको सब भेरियन्टको रुपमा रहेको एक्सबीबी.१.१६ लाई अति संक्रामक भाइरसको रुपमा विश्व स्वास्थ्य संगठनले वर्गीकरण गरेको छ । भारतमा यो भाइरस देखिएका तर बुस्टर डोज खोप लगाएकाहरूमा अस्पताल हुने संख्या निकै कम देखिएको छ । एक्सबीबी.१.१६ संक्रमितहरूमा ओमिक्रोन संक्रमणका लक्षणहरू देखिएका छन् ।

एक्सबीबी.१.१६ सब भेरियन्टलाई धेरै अध्ययन नभइसकेको तर संक्रामक भाइरसको रुपमा लिइएको छ । विशेषगरी दीर्घरोगी, रोग प्रतिरोधी क्षमता कम भएका वृद्धवृद्धा लगायतका वर्गका लागि जोखिमयुक्त हुनसक्ने बताइएको छ । क्षयरोग, मधुमेह, मुटुसम्बन्धी समस्या भएका तथा मिर्गौलाका बिरामीहरूका लागि पनि विशेष सतर्कता अपनाउन विज्ञहरूको सुझाव छ ।

उच्च शरीर दुख्ने, ज्वरो आउने, घाँटी दुख्नेजस्ता लक्षणहरू लगातार ४८ घण्टासम्म देखिएमा अनिवार्य कोरोना परीक्षण गराउन विज्ञहरूले सुझाव दिएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पछिल्ला केही दिनयता कामज्वरो आउने, आँखा दुख्ने, जीउ दुख्नेजस्ता समस्या लिएर आउने बिरामीको संख्या बढेको बताइएको छ ।

यस्ता बिरामीमध्ये केहीमा कोरोना र केहीमा फ्लु देखिने गरेको अस्पतालका क्लिनिकल रिसर्च युनिट प्रमुख तथा सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । एक्सबीबी.१.१६ सब भेरियन्टकै कारणले पहिलो र दोस्रो लहरमा जस्तो संक्रमण फैलिने सम्भावना भने कम रहेको डा. पुनको भनाइ छ । भारतको हकमा हेर्ने हो भने यसबाट सिकिस्त हुने र अस्पताल भर्ना हुनेको संख्या अत्यन्तै न्यून छ । यद्यपि, सतर्कता भने अपनाउनुपर्नेमा डा. पुन जोड दिन्छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाउन पटकपटक आग्रह गर्दै आएको छ । स्वास्थ्य सेवा विभागले पछिल्लो पटक बुस्टर र दोस्रो बुस्टरका लागि तीस लाख डोज फाइजर खोप ल्याएको छ । कोभ्याक्स सुविधामार्फत् ल्याइएको सो खोप अहिले प्रदेशस्तरबाट वितरण भइरहेको छ ।

नेपालमा अहिले दिइरहेको फाइजर बाइभ्यालेन्ट खोपले ओमिक्रोनका सब भेरियन्टहरूविरुद्ध पनि काम गर्ने अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थले पुष्टि गरिसकेको छ । यस अर्थमा फाइजर बुस्टर डोजले ओमिक्रोनका सब भेरियन्टहरूबाट सिकिस्त गराउने जोखिम कम गराउने देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले पहिलो र दोस्रो दुवै डोज खोप दिँदै छ । मन्त्रालयका अनुसार कोरोना संक्रमण भएका व्यक्तिहरूले संक्रमणमुक्त भएको एक महिनापछि बुस्टर डोज खोप लगाउन मिल्छ । त्यस्तै, दुई डोज खोप लगाएको तीन महिनापछि बुस्टर डोज लगाउन मिल्छ । पहिलो बुस्टर लगाएको ६ महिनापछि दोस्रो अर्थात् थप बुस्टर डोज खोप लगाउन मिल्ने मन्त्रालयले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्