फुङ्लिङ । चाँदी झैँ टल्किइरहेको छ विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा । हिमालको फेदीमा गुराँसका फूलहरुले मनै आकर्षित गरिरहेको छ यतिबेला । यस क्षेत्रका पदमार्ग, यिनको छेउछेउ भएर बहने झरना तथा जङ्गलको बाटो हिँड्दा सुनिने चराचुरुङ्गीका सङ्गीतमय आवाजले जो कोहीलाई पनि मोहित बनाउँछ । यही सौन्दर्यको आनन्द लिन आउँछन् कञ्चनजङ्घा क्षेत्रमा बर्सेनि हजारौँ विदेशी र स्वदेशी पर्यटक ।
हातमा लठ्ठी र काँधमा क्यामेरा बोेकेका विदेशी यहाँका पदमार्गमा भेट्न सकिन्छ । कञ्चनजङ्घा क्षेत्र प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण छ । कञ्चनजङ्घा प्रवेशद्वार घुन्सा क्षेत्रमा गत साता मात्र ८५ जना बाह्य पर्यटक पुगेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ । कोरोना महामारीपछि लामो समय सुस्ताएको पर्यटन व्यवसाय बिस्तारै लयमा फर्कंदै छ । गत चार महिनामा चार सय ३९ बाह्य पर्यटकले भ्रमण गरेका छन् ।
आर्थिक वर्ष २०७६/७७ मा तीन सय ८६ पुरुष र एक सय ८६ महिला विदेशी पर्यटक कञ्चनजङ्घा क्षेत्रमा आएको परिषद्को तथ्याङ्कमा उल्लेख छ । दक्षिण एसियाली मुलुकबाट २५ पुरुष र चार महिला पर्यटक यहाँ आएका थिए । विसं २०५६ मा सात सय ९९ विदेशी पर्यटक घुमघाम गर्न आएको तथ्याङ्क छ । विसं २०५७ मा आठ सय ७३ तथा २०५७ देखि २०७७ सालसम्म ११ हजार एक सय ९७ विदेशी पर्यटकले कञ्चनजङ्घा हिमालको अवलोकन गरेका थिए ।
कञ्चनजङ्घाको आधार शिविर पुग्न दुई पदमार्ग प्रयोग गरिँदै आएको छ । पाँचथरको गणेशचोक हुँदै ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका भएर पर्यटक कञ्चनजङ्घा हिमालको आधार शिविर पुग्छन् । काठमाडौंबाट हवाई मार्ग भएर ताप्लेजुङको सुकेटर विमानस्थलसम्म हुँदै फक्ताङलुङ गाउँपालिकाको बाटो प्रयोग गरी कञ्चनजङ्घाको आधार शिविर पुग्न सकिन्छ ।
अष्ट्रेलियाली नागरिक क्यारोन मिल्नी गत वर्ष कञ्चनजङ्घा हिमाल क्षेत्रमा चार महिना बिताउनुभयो । कञ्चनजङ्घा क्षेत्रमा बस्दा मिल्नीले भनेका भन्नुभएको थियो, “म नेपाल आएको छ पटक भयो । नेपालको प्राकृतिक सौन्दर्य त छँदैछ यहाँको संस्कृति एवम् संस्कार पनि विश्वमै उदाहरणीय छ । यहाँका प्राकृतिक सुन्दरताले मलाई सधैँ नेपाल तानिरहन्छ । त्यसैले मलाई नेपाल छ पटक घुम्न आएको छु ।”
कञ्चनजङ्घा आउने पर्यटकलाई लक्षित गरेर कञ्चनजङ्घा हिमाल जाने पदमार्गमा सानो ठूलो लगानीका ५२ वटा होटल सञ्चालनमा रहेका कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ । फक्ताङलुङ गाउँपालिका–६ ग्याप्लामा रु सात करोडभन्दा माथिको लगानीमा बनेको सिंगी नामजोंग होटल सञ्चालनमा आएको छ । समुद्र सतहदेखि तीन हजार पाँच सय मिटरदेखि चार हजार पाँच सय मिटर उचाइमा रु एक करोडभन्दा बढी लगानीमा बनेका चारवटा होटल सञ्चालनमा रहेको परिषद्का कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले बताउनुभयो । उहाँका अनुसार अन्य करिब रु ८० लाखदेखि माथि लगानीमा होटलहरु सञ्चालनमा रहेका छन् ।
ताप्लेजुङको समदरमुकाम फुङलिङ बजारमा समेत पर्यटकलाई लक्षित गरेर ठूलो लगानीमा होटलहरु खोलिएका छन् । पर्यटकको चहलपहल बढेसँगै यहाँका पर्यटन तथा होटल व्यवसायी उत्साहित भएका छन् । कञ्चनजङ्घा संरक्षण क्षेत्रका समुदायको प्रमुख व्यवसाय भनेकै पर्यटन, होटल र पशुपालन हो । पर्यटकीय क्षेत्र घुन्सा, फले र याम्फुदिन क्षेत्रका प्रत्येक घरपरिवार पर्यटनसँग प्रत्यक्ष जोडिएको परिषद्का कार्यक्रम सहायक जितेन चेम्जोङ बताउनुहुन्छ । केही होटल सञ्चालन गरेर स्वरोजगार बन्दै आएका छन् भने कोही पर्यटकको सहयोगी बनेर राम्रो आयआर्जन गर्दै आएको छ । यी क्षेत्रहरुमा खेतीपाती नहुने भएकाले पछिल्लो समय युवा पुस्ता पशुपालनभन्दा पर्यटन व्यवसयतर्फ नै आकर्षित देखिन्छन् ।
इलाइट एक्सपिडिसन ग्रुरुपका मिङमा डेभिड शेर्पाका अनुसार कञ्चनजङ्घा आरोहणका लागि यस याममा ५० भन्दा बढी विदेशीसहित उनीहरुको सहयोगीसमेत गरी करिब तीन सयजना मानिस आधार शिविरमा जम्मा हुनेछन् । दक्षिणी मोहडाबाट आरोहण गर्नेहरू अर्को साता आधार शिविरमा पुग्ने तयारीमा रहेको पर्यटन व्यवसायीले बताएका छन् । कञ्चनजङ्घा क्षेत्रको घुन्सा आधार शिविरमा अहिले नै ट्रेकिङ गर्नेहरू पुग्न थालेका छन् । पैदलमार्ग खराब भएकाले उहाँहरुका लागि खाद्यान्न, एक्सपिडिसनमा प्रयोग हुने सामग्री हेलिकप्टरबाट लाने तयारी भइरहेको पनि शेर्पाले बताउनुभयो ।
सन् १९५५ मे २५ का दिन पहिलोपटक कञ्चनजङ्घाको आरोहण भएको थियो । अहिलेसम्म कति आरोहीले कञ्चनजङ्घा हिमालको सफल आरोहण गरिसकेका छन् भन्ने यकिन तथ्याङ्क नभएको परिषद्ले जनाएको छ । कोरोना सङ्क्रमणका कारण २०७५ देखि २०७७ सालमा हुन नसकेको कञ्चनजङ्घामा गत वर्ष आरोहण भएको थियो । गएको याममा पाँच सय ४३ जना विदेशी पर्यटकले कञ्चनजङ्घाको भ्रमण गरेका थिए भने यो वर्ष पनि त्योभन्दा बढी विदेशी आरोही आउने व्यवसायी बताउँछन् ।
कञ्चनजङ्घा संरक्षण क्षेत्रका पर्यटन सहायक टाँसी शेर्पाका अनुसार जर्मनी, इरान, जापानलगायतबाट पदयात्रा गर्नेहरू चाहिँ घुन्सा पुगिसकेका छन् । दक्षिणी र उत्तरी दुई बेसक्याम्पबाट आरोहण गर्न सकिने भए पनि उत्तरी मोहडाबाट आरोहण गर्न अलि कठिन हुने भएकाले यसपटक कोही पनि आरोही नभएको टाँसीले बताउनुभयो । सदरमुकाम फुङलिङदेखि पैदल यात्रा गर्दा २४ दिनमा मात्रै एक फन्को लगाएर फर्कन सकिने कञ्चनजङ्घा क्षेत्रको भ्रमण दूरी अहिले छोटिएर ११ देखि १६ दिनमा दुवै आधार शिविर पुगेर फर्कन सकिन्छ ।
कञ्चनजङ्घा क्षेत्रमा ठूलो सङ्ख्यामा पर्यटक भने चैत, वैशाख, जेठ र असोज, कात्तिक, मङ्सिरमा आउने गर्दछन् । कञ्चनजङ्घा आरोहण भने वैशाख र जेठमा मात्रै हुने गरेको छ । सामान्यतः ४५ दिनको कोसिसमा आरोहण गरेर फर्कने पर्यटन व्यवसायी मिङमा डेभिड बतानुहुन्छ । यहाँ जापानी, जर्मनी, अस्ट्रेलिया, अमेरिका, फ्रान्स, बेलायत, नेदरल्याण्ड, क्यानडा, स्विजरल्याण्ड, बेल्जियम, फिलिपिन्स, स्पेन, स्विडेनलगायत देशबाट आउने गरेको तथ्याङ्क छ । भारत र चीनबाट पनि आरोहण तथा भ्रमणका लागि केही पर्यटक आउने गरेका छन् ।
विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल भएर पनि यहाँ आउने पर्यटकको सङ्ख्या न्यून रहेको छ । यसलाई कसरी बढाउन सकिन्छ भन्ने बारेमा समृद्ध पहाड र परिषद्ले पर्यटनको प्रवर्द्धनका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् । यस क्षेत्रहरुमा इन्टरनेट सेवाका लागि वर्ड लिङ्कको प्राविधिकहरुले याम्फुदिन, लासे, नयाँझोरेनी, कस्तुरी डाँडा, तोरोङ्देन, अन्धाफेदी, चेराम, राम्जेर र ओक्ताङ क्षेत्रमा वाइफाई सेवा सञ्चालन गर्ने तयारी भएको परियोजनाले जनाएको छ ।
साथै, यस क्षेत्रमा खानेपानी, शौचालय, होटल तथा लज, चिया पसल, क्याम्प साइट, पदमार्ग, विश्राम गृह, विद्युत् आपूर्ति, फोहोरमैला व्यवस्थापन, पुलपुलेसा निर्माण, हेलिप्याड निर्माण गर्ने बारेमा तयारी थालिएको जनाइएको छ ।
कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्सँगको सहकार्यमा विगतमा समृद्ध पहाडले लामो समयदेखि यस क्षेत्रको पर्यटन प्रवर्द्धन र वित्तीय पहुँचको क्षेत्रमा काम गरिरहको छ । यही कार्यक्रमले कञ्चनजङ्घा क्षेत्रको दक्षिणी क्षेत्रको पर्यटकीय पदमार्गहरुमा पर्ने यासाङ, केङ्स्रा, तोरोङदेन, अन्धाफेदी, चेराम र राम्जेरलाई लक्षित गरी गुरुयोजना तयार गर्न लागिएको परियोजनाका कार्यक्रम संयोजक चित्राकुमारी चंसुले जानकारी दिनुुभयो । यस कार्यक्रमलाई आफ्नै लगानीमा आर्थिक सहयोग गरिरहेको समृद्ध पहाडका दाता तथा हिमालयन ट्रष्ट युकेका अध्यक्ष सर ग्राम रिग्लीले गत चैत्रमा कञ्चनजङ्घा क्षेत्रमा पर्यटन प्रवर्द्धन र विकासको ढाँचाबारे परिषद्का पदाधिकारीहरुसँग छलफल गरी स्थलगत भ्रमण पनि गर्नुभएको थियो । सो अवसरमा उहाँले यस क्षेत्रलाई विशवकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार विकास र प्रचारप्रसारमा जोड दिनुभएको थियो । रासस