जनादेश टेक वाच।
अमेरिकी प्रविधि कम्पनी एप्पलले भारतमा दुइटा स्टोर खोलेको छ। मुम्बई र दिल्लीमा पहिलो पटक औपचारिक रूपमा खुद्रा स्टोर खुला गरेको हो। यसअघि आधिकारिक बिक्रेतामार्फत भारतीय बजारमा एप्पलका उत्पादन बिक्री हुँदै आएको थियो। अब कम्पनी आफैँले भारतमा औपचारिक रूपमै स्टोर खोलेर व्यापार थालेको हो। यी स्टोरको उद्घाटनमा कम्पनीका सीईओ टिम कुक आफैँ उपस्थित थिए। भारतीय शहरमा दुई स्टोर खोलेसँगै विश्वका २५ वटा देशमा गरी एप्पलका कूल ५५२ वटा औपचारिक स्टोर पुगेका छन्।
एप्पलका उत्पादनको बिक्रीको थोरै हिस्सा रहेको भारतीय बजारलक्षित व्यापारलाई किन केन्द्रित गरेका छन् त सीईओ कुक? भारतीय सञ्चारमाध्यमले चिनियाँ निर्भरता कम गर्ने उद्देशअनुरूप कुक भारत प्रवेश गरेको मान्छन्। कोरोना भाइरसको महामारीताका चीनमा भइरहेको एप्पलका सामग्री उत्पादन शृंखला बिग्रिएको र त्यसलाई सन्तुलनमा राख्ने योजनाअनुसार एप्पल भारत आएको समाचारमा उल्लेख गरेका छन्।
त्यसो त, सन् २०१६ मा पहिलो पटक भारत भ्रमणमा गएका बेला एप्पलका सीईओ कुकले भारतमा दीर्घकालीन रणनीतिका साथ एप्पल अघि बढ्न चाहेको बताएका थिए। भारतीय बजार, यहाँको संस्कृति र व्यापार कसरी गरिन्छ भन्ने सिक्न आफू भारत आएको उनको भनाइ थियो।
“हामीले यहाँ आफ्नो ठूलो ऊर्जा खर्च गरिरहेका छौँ। यहाँ हामी दुई चार वर्षका लागि आएका होइनौँ, थप चार वर्ष वा अर्को वर्षका लागि पनि होइन। हामी यहाँ हजारौँ वर्षका लागि आएका हौँ,” उनको भनाइ थियो। एप्पलका लागि भारतीय बजार कति महत्त्वपूर्ण छ भन्ने कुरा कुकको त्यसै अभिव्यक्तिले पुष्टि गर्छ।
सात वर्षपछि भारत आएका कुकले स्टोर उद्घाटनका तस्वीर ट्विटरमार्फत साझा गर्दै खुशी साटेका छन्। उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि, “मोदीले कल्पना गरेजस्तो प्रविधिको सकारात्मक प्रभावले भारतको भविष्य बनाउनेछ भन्नेमा साझा दृष्टिकोण छ” भन्दै ट्विट गरेका थिए। “देशैभर शिक्षा, विकासदेखि उत्पादन र वातावरण सबै पक्षमा अघि बढ्न र लगानी गर्न प्रतिबद्ध” रहेको बताएका थिए।
मोदीले सीईओ कुकसँगको भेटमा प्रविधि सञ्चालनमा भइरहेको रूपान्तरणलगायतका विषयमा धारणा साटासाट गरेको बताए थिए। भारतीय सञ्चारमाध्यमका अनुसार भारत प्रविधिमार्फत वैदेशिक लगानी भित्र्याउँदै विश्व बजारमा उपस्थित जनाउन चाहन्छ, एप्पलले यसैको सदुपयोग गर्न खोज्दैछ। चीनबाट छुटकारा पाउन भारतमा उत्पादनका लगानी बढाइरहेको र मुम्बई र दिल्लीमा स्टोर खोलेको उनीहरूले लेखेका छन्।
अमेरिकी कम्पनी भए पनि एप्पलका करिब ९० प्रतिशत सामग्री (आईफोन, आईप्याड, आईपड, आईवाच, म्याकबुक) चीनमा उत्पादन हुन्छन्। विशेष गरी ९८ प्रतिशत आईफोन चीनले नै उत्पादन गर्छ। एप्पलले सन् २००१ देखि औपचारिक रूपमा चीनमा आफ्ना सामग्री उत्पादन थालेको हो। होन हाई प्राविधिक समूह (फक्सकन)ले चीनमा सबैभन्दा बढी एप्पलका सामग्री उत्पादन गर्ने गर्दछ।
हाल भारतीय बजार सामसुङ र चाइनिज स्मार्टफोनहरूको कब्जामा छ। भारतका ९५ प्रतिशत स्मार्टफोन प्रयोगकर्ताहरूले गुगलको एन्ड्रोइड प्रणालीप्रयोग भएका मोबाइल प्रयोग गरिरहेका छन्। भारतमा केबल पाँच प्रतिशत मात्रै आईफोन प्रयोगकर्ता रहेको बताइन्छ। यस्तोमा एप्पलका उत्पादनलाई भारतीय बजारमा खपत गराउन थप रणनीतिक कदमको खाँचो पर्ने देखिन्छ। यति मात्र होइन, चीनमा उत्पादन हुँदै आएका एप्पलका सामग्री भारतमा उत्पादन गर्ने माहौल बनाउने एप्पलको महत्त्वाकांक्षा सफल हुन त्यति सहज छैन। तर एप्पलका सीईओ टिम कुकले आफ्ना उत्पादन चीनबाट सारेर भारतमा बिस्तार गर्ने सम्भावनामा केही वर्ष अघिदेखि रुचि देखाइरहेका छन्। तर योजना विविध कारणले यो योजना तत्काल सम्भव देखिँदैन। उत्पादनमा एप्पललाई अझै केही वर्ष चीनमै निर्भर रहनुपर्नेछ।
एप्पलका लागि भारतको महत्त्व र चुनौती
भारतमा उत्पादन र व्यापार बिस्तार गर्ने रणनीतिमा एप्पलले लामो समयदेखि काम गरिरहेको छ। चीनसँगको आपूर्ति शृंखलामा दूरी आउन थालेपछि भने पछिल्लो समय एप्पल भारतप्रति थप आकर्षित भइरहेको हो। विश्वको बलियो अर्थतन्त्रका रूपमा उदाइरहेको भारतमा प्रभाव बिस्तार गरी त्यहाँको विशाल जनशक्तिको सदुपयोग गर्ने एप्पलको इच्छा देखिन्छ। साथै, आफ्ना उत्पादन बेच्न घरेलु संभावनाको खोजीमा रहेको एप्पल भारतको परिपक्व अर्थव्यवस्थालाई विश्वास गर्दै चीनसँगको निर्भरता घटाउन चाहन्छ।
साथै, भारत पनि स्वदेशमा एप्पलका उत्पादन बढाउन सहकार्य गर्ने इच्छा देखिएको छ। भारतीय प्रधानमन्त्री मोदीले समेत विदेशी लगानी भित्राउन र अर्थव्यवस्था बलियो पार्न चाहेको दोहोर्याउँदै आएका छन्। सरकार, लगानीकर्ता र साझेदारहरू रिझाउने काममा अहिले एप्पल व्यस्त देखिन्छ। स्वदेशमै एप्पलका उत्पादन बढाएर भारतीय स्मार्टफोन प्रयोगकर्तालाई आकर्षित गर्ने रणनीति एकातिर छ भने पछिल्लो समय अमेरिका र चीनबीचको बढ्दो दूरीका कारण चीनको निर्भरता कम गर्ने पक्षमा एप्पल रहेको विश्लेषण पनि गरिन्छ।
यता, भारतको तुलनामा चीनमा एप्पल प्रयोगकर्ता तेब्बरभन्दा बढी छन्। चीनमा कूल जनसंख्याको करिब १८ प्रतिशत आईफोन प्रयोगकर्ता रहेको पाइन्छ। सन् २०२२ मा चीन, हङकङ र ताइवानमा मात्रै एप्पलले ७४ बिलियन डलरको व्यापार गरेको थियो। यो कम्पनीको त्यस अवधिको कूल आम्दानीको १८ प्रतिशत बताइएको छ। तर भारतीय बजार तत्कालका लागि चुनौतीपूर्ण छ।
सन् २०२२ मै एप्पलको तथ्यांक प्रतिवेदनमा अन्य बजार क्याटेगोरी ‘रेस्ट अफ एशिया प्यासिफिक’ (जहाँ भारत छैन)मा यस अवधिमा २९ बिलियन डलर आम्दानी भएको देखाइएको सीएनबीसीले उल्लेख गरेको छ। यस अवधिमा भारतमा केबल ४ अर्ब डलरको व्यापार भएको स्थानीय समाचार माध्यमहरूलाई उद्धृत गर्दै सीएबीसीले लेखेको छ। ब्लुमबर्गले भने सन् २०२३ को मार्चसम्म एप्पलले ६ अर्ब डलरको व्यापार गरेको भनेको छ।
त्यसैले अहिलेको अवस्थामा उत्पादन र व्यापार दुवैमा भारतलाई चीनसँग तुलना गर्न सकिँदैन। किनकि, कम्पनीले चीनकै दाँजोमा भारतमा समय, बजार बिस्तार, रणनीतिक अभ्यास, सरकारी सहकार्य र स्थायित्वको पक्षका काम गर्नु आवश्यक छ। विशेष गरी आईफोनसहित एप्पलका उत्पादन महँगो हुनु, आईफोनको ब्याट्री कम टिक्नु, भारतीय बजारमा उत्पादन नहुनु, आईफोनका स्टोर भारतमा नहुनुजस्ता कारणले भारतीय बजारमा एप्पलले रणनीतिक प्रभाव पार्न नसक्ने कुरा फोब्र्सले पाँच वर्षअघि नै विश्लेषण गरेको थियो।
अहिले एप्पलले यिनै विषयमा ध्यान दिँदै भारतमा आफ्नो प्रभाव बिस्तार गरिरहेको छ। नयाँ मोडलको आईफोन उत्पादन, स्टोर खोल्नेदेखि लगानी बढाउने, सरकार र साझेदारहरूसँगको छलफल तीव्र पार्नेमा एप्पलले ध्यान दिइरहेको छ।
भारतमा लगानी बढाउँदै एप्पल
एप्पलले भारतको बैंगलोरमा आईफोनका पाटपुर्जा बनाउने केन्द्रका लागि ७०० मिलियन डलरको प्लान्ट बनाइरहेको छ। ताइवानस्थित फक्सकन प्राविधिक ग्रुपले पनि भारतमा आईफोन बनाइरहेको छ। केही महिनाअघि भारतीय उद्योगमन्त्रीले एप्पलले नयाँ मोडलको आईफोन बनाइरहेको बताउँदै विश्वको कूल उत्पादनको २५ प्रतिशत उत्पादन गर्ने लक्ष्य लिएको बताएका थिए।
एप्पलका सप्लायर्सले पनि चीनमा उत्पादनको निर्भरता कम गर्न चाहिरहेको ब्लुमबर्गले लेखेको छ। यदि सप्लायर्सले भारतमा आईफोन उत्पादनलाई निरन्तरता दिए र आक्रामक ढंगले बिस्तार गरे सन् २०२५ सम्ममा कूल उत्पादनको एक चौथाइ उत्पादन भारतमै गर्न सकिने ब्लुमबर्गको प्रक्षेपण छ। हाल फक्सकन, विस्ट्रोन कर्पोरेशन र पेगाट्रोनका गरी भारतमा ६० हजार कर्मचारी छन्। उनीहरूले आईफोन ११ देखि नयाँ मोडलको आईफोन १४ सम्म निर्माण गरिरहेका छन्। भारतको तमिलनाडूमा सन् २०१७ देखि पुराना मोडल बनाउँदै आएकोमा सन् २०२२ देखि आईफोन १४ बनाउन शुरू गरिएको हो।
यता, आईफोन उत्पादनमा चीनको वैकल्पिक हब बन्ने भारतको महत्त्वाकांक्षा देखिन्छ। साथै, प्राविधिक क्षेत्रको आपूर्ति शृङ्खलामा केही दशकयता चीनमै निर्भर एप्पलले यसलाई सन् २०३० सम्म २० देखि ४० प्रतिशत घटाउनसक्ने ब्लुमबर्गले जनाएको छ। भूराजनीतिक तनाव (अमेरिका–चीनको तिक्तता)का साथै सरकार र कम्पनीहरूको नीति नियममा भौगोलिक रूपले विविधता ल्याउनका लागि एप्पलले नयाँ कदमहरू उठाइरहेको छ। यद्यपि, चीनको जटिल र कुशल आपूर्ति शृंखलालाई फरक धारमा लैजान सञ्चालकहरूदेखि सरकारसम्मको शृंखला मिलाउन कम्पनीले धेरै वर्ष लगानी गर्नुपर्ने विश्लेषण गरिएको छ।