काठमाडौँ,
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकभर पहिरामा परी बेपत्ता व्यक्तिको जतिसक्दो चाँडो उद्धार गर्न र घाइतेको तत्काल उपचार गर्ने प्रबन्ध मिलाउन सरकारसँग आग्रह गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जालमार्फत सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी र कालीकोटको महाबै गाउँपालिका–३ मा गएको पहिरामा परी बेपत्ता व्यक्तिको उद्धार गर्न सरकारसँग माग गर्नुभएको छ । साथै घाइते भएकाहरुको तत्काल उपचार गर्ने प्रबन्ध मिलाउन पनि अनुरोध गरिएको छ ।
पूर्वप्रधानमन्त्री देउवाले पहिरामा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।
पहिराका कारण घरबास गुमाएकाहरुलाई तत्काल सुरक्षित क्षेत्रमा स्थानान्तरण गरेर उचित बासको प्रबन्ध गर्न र आवश्यक क्षतिपूर्ति दिलाउन पनि उहाँले सरकारसँग माग गर्नुभएको छ । रासस