प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई भेट्न शुक्रबार बिहान रास्वपा सभापति लामिछाने बालुवाटार पुगेका हुन् । भेटमा रास्वपा सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोलेर अनुसन्धान अघि बढाएकोमा प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद दिएका थिए ।
सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान खुट्टा नकमाएर अघि बढाउन आग्रह गरेका छन् । प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन प्रहरीले निष्पक्ष ढंगले गरिरहेको र यसलाई निष्कर्षमा पुर्याउन सरकार प्रतिबद्ध रहेको बताएको बालुवाटार स्रोतले जनाएको छ ।
सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि रास्वपा सभापति लामिछाने पहिलोपटक प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सरकारका बहालवाला सचिव टेकनारायण पाण्डे, खाँणका स्वकीय सचिव नरेन्द्र केसीलगायत १२ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।