अखण्ड भारतको मुरलबारे भारतको जवाफः नेपाल र बंगलादेशले बुझिसके。。。 – Janadesh Daily | ePaper

अखण्ड भारतको मुरलबारे भारतको जवाफः नेपाल र बंगलादेशले बुझिसके。。。


जनादेश वाच।

भारतीय विदेशमन्त्री एस जयशङ्करले ‘अखण्ड भारत’ नक्साका विषयमा स्पष्ट पार्दै सो विषयका बारेमा छिमेकी मुलुकहरूले बुझिसकेका छन् भन्ने आफूलाई लागेको बताएका छन् ।

भारतको नवनिर्मित संसद् भवनमा राखिएको उक्त भित्ते नक्सामा नेपालको समेत केही भूभाग समेटिएको भन्दै नेपालमा समेत सो विषयमा कुरा उठिरहेका बेला उनले विहीबार नयाँ दिल्लीमा सञ्चारकर्मीसँग कुरा गर्दै स्पष्ट पारेका हुन् । उक्त नक्साका सम्बन्धमा यसअघि मन्त्रालयका प्रवक्ताले स्पष्ट पारिसकेको उल्लेख गर्दै विदेशमन्त्री जयशङ्करले सो नक्साकै तल साइनबोर्डमा ऐतिहासिक अशोक साम्राज्यको नक्साका बारेमा वर्णन गरिएको समेत बताए ।

नरेन्द्र मोदीले देशको नेतृत्व गरेको नौ वर्ष पुगेको अवसरमा विदेश नीतिको प्रगतिबारे बिहीबार पत्रकारहरुसँग गरिएको विशेष ब्रिफिङका क्रममा जयशंकरले यस्तो बताएका हु्न्।

विशेष ब्रिफिङका क्रममा पत्रकारहरुले ‘अखण्ड भारत’नक्सालाई लिएर नेपाल र बंगालादेशमा विभिन्न प्रतिक्रिया आइरहेको भन्दै यसबारेमा औपचारिक धारणा माग गरेका थिए।

‘मित्र देशहरु नेपाल र बंगलादेशले अब विवाद गर्ने छैनन्। उक्त नक्साको मुनि अशोका इम्पायरका बेलाको विवरण लेखिएको छ। यो केवल सांस्कृतिक कुरा मात्रै हो। यसलाई राजनीतिक विषय बनाउनु जरुरी नै छैन’, उनले भने, ‘हाम्रा मित्र देशले यसबारेको कुरा बुझ्ने छन्। अझै यसमा केही प्रष्ट पार्नुपर्ने छ भने हामी बुझाउँछौँ।’

उनले यस मामिलामा पाकिस्तानले कुरा नबुझ्ने बताए। ‘पाकिस्तानले त हाम्रो कुरा बुझ्दैन तपाईंहरुलाई थाहा नै छ’, उनले भने, ‘पाकिस्तान अक्युपाइड कश्मिरबारे हाम्रो धारणा पुरानै छ। त्यसमा हामी दायाँबायाँ हुँदैनौँ।’

उक्त ब्रिफिङका क्रममा पत्रकारहरुले नेपाल र बंगलादेशलाई मित्रराष्ट्र र पाकिस्तानलाई शत्रुराष्ट्रका रुपमा चित्रित गर्दै प्रश्न गरेका थिए।

त्यसक्रममा ती पत्रकारले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतबाट फर्किएपछि नेपालको संसद्‍मा यसबारे जवाफ दिएको पनि स्मरण गराए।

‘पाकिस्तान त हाम्रो शत्रु राष्ट्र हो। उसको कुरा अलग्गै भयो। नेपालका प्रधानमन्त्रीले अखण्ड भारतको नक्साबारे नेपाली संसद्मा बोल्दै आफूले यो मुद्दा भारत यात्राका कारण उठाएको थिएँ भन्नु भएको छ’, ती पत्रकारले प्रश्नका क्रममा भने, ‘प्रचण्डले त्यो राजनीतिक नक्सा होइन, सांस्कृति नक्सा मात्रै हो भन्ने जवाफ भारती अधिकारीबाट पाएको बताउनु भएको थियो। खासमा यसबारे प्रष्ट पार्दिनुस् न।’

त्यसपछि जयशंकरले यो नक्सा सम्राट अशोकको समयको सांस्कृतिक प्रतीक मात्रै भएको व्याख्या गरे। ‘उक्त नक्सालाई लिएर हाम्रा छिमेकी नेपाल र बंगलादेशले कुरा बुझिसकेका छन्। अब यसमा कुनै समस्या छैन। हाम्रा मित्र देशले कुरा बुझ्ने छन्। केही प्रष्ट पार्नुपर्ने छ भने हामी बुझाउँछौँ’, उनले थप ब्याख्यासहित भने।

जेठ १४ मा उद्घाटन गरिएको नयाँ भारतीय संसद्‍मा राखिएको नक्सामा नेपाल, बंगलादेश, पाकिस्तान र अफगानिस्तासम्मका भूगोल राखिएको छ। जसलाई लिएर नेपाल र बंगलादेशमा विरोध भइरहेको छ। भारतले नयाँ संसद राखेको अखण्ड भारतको नक्सालाई लिएर नेपाली संसद् र जनस्तरमा पनि विरोध भइरहेको छ।

यसलाई लिएर नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद्मा कडा विरोध जनाइरहेका छन्। तर सरकारले भने यसबारे औपचारिक भनाइ सार्वजनिक गरेको छैन।

यो नक्सालाई लिएर बंगलादेशले भने भारतीय विदेश मन्त्रालयमा स्पष्टीकरण सोध्ने भएको छ। उसले विरोधस्वरुप दिल्लीस्थित दूतावासलाई लिखित विरोध र स्पष्टीकरण लिन भनिसकेको छ।

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्