जनादेश, काठमाण्डौं । काठमाडौं महानगरपालिकाका मेयर बलेन शाहले निजी विद्यालयलाई सरकारी विद्यालयमा सरह समान तलब संरचना उपलब्ध गराउन निर्देशन दिएका छन् ।। शैक्षिक क्षेत्रमा शिक्षकको तलबमा अनियमितता भएको गुनासो आएपछि यस्तो निर्देशन दिएका हुन् । ।
सामाजिक सञ्जालमार्फत बालेनले लेखेका छन्-‘ काठमाडौँ महानगरपालिकामा संस्थागत (निजी) विद्यालयको शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको छ। तर ‘शिक्षा ऐन, २०२८’ को दफा १२(७) (छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ। यस्तै काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी सङ्घीय शिक्षा कानुनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको छ। सोही बमोजिम काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरूले प्राप्त गर्ने निम्न अनुसारको तलब सुविधा संस्थागत विद्यालयको शिक्षकलाई पनि प्राप्त गराउन काठमाडौँ महानगरपालिकाका सम्पूर्ण संस्थागत विद्यालयहरूलाई सूचित गरिन्छ। निम्न अनुसारको तलब सुविधा प्राप्त नभएमा काठमाडौँ महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न अनुरोध गर्दछौँ।’
यी व्यवस्थालाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाभित्रका सबै संस्थागत विद्यालयहरूलाई शिक्षकको तोकिएको तलब सुविधा पालना गर्न निर्देशन दिँदै आधिकारिक सूचना जारी गरिएको छ । मेयर बलेनले यी सुविधा नपाउने शिक्षकले तुरुन्त काठमाडौं महानगरपालिकाको शिक्षा विभागमा सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।
मेयर बलेनको यो प्रगतिशील कदमले काठमाडौंको शिक्षा प्रणालीमा निष्पक्षता र समानताको प्रवर्द्धन गर्दै सार्वजनिक र निजी विद्यालयहरूमा शिक्षकहरूको लागि समान अबसर सिर्जना गर्ने लक्ष्य राखेको छ।