अति आलोचना भएपछि पल शाहको प्रश्नः के निधारमै बलात्कारी लेखेर हिडौं ! – Janadesh Daily | ePaper

अति आलोचना भएपछि पल शाहको प्रश्नः के निधारमै बलात्कारी लेखेर हिडौं !


जनादेश सोसल मिडिया वाच।

अभिनेता पल शाहले आफूमाथि अझै ’बलात्कारी’को आरोप लाग्ने गरेकोप्रति असन्तुष्टि जनाएका छन्। कान्तिपुर टेलिभिजनको अन्तर्वार्तालाई लिएर उनको बारेमा फेरि विभिन्न टीकाटिप्पणी हुन थालेपछि पलले यस्तो गुनासो गरेका हुन्।

आफूले कानुन अनुसार ’सफाइ’ पाइसकेपछि पनि विभिन्न आरोपहरू खेपिरहेको गुनासो गरे।

 सोमबार राति फेसबुकबाट उनले भनेका छन्, “मेरो पनि एउटा परिवार छ । परिवारभित्र आमा, बाबा, बहिनी, इष्टमित्रहरू पनि छन् । उनीहरूमा के बित्छ होला, जहिले बलात्कारीको ट्याग दिँदा ? कहिल्यै सोच्नुभएको छ परिवारमा पर्ने आघातका बारेमा ?”

पलले अदालतबाट ’सफाइ’ पाइसकेपछि पनि निधारमा ’म बलात्कारी हुँ’ लेखेर हिँडौँ ? भनेर प्रश्न गरेका छन् ।

“मलाई पल शाह बनाएको तपाईँहरूले हो । यस कारण म प्रश्न पनि तपाईँहरूसमक्ष नै गर्न चाहन्छु म के गरौँ ? कसरी बाँचौँ ? कसरी हिँडौँ ? कसरी बोलौँ ? कसरी खाऊँ ? कसरी लाऊँ ? कि मैले निधारमा म बलात्कारी हुँ लेखेर देश छोडौँ ? कि मैले खुल्लमखुल्ला रत्नपार्कमा गएर आत्मदाह गरौँ ?,“ उनले भनेका छन् ।

यसैबीच, बलात्कारको विषय मजाक बनाएको भन्दै आलोचना भएको टेलिभिजन कार्यक्रम ‘ह्वाट द फ्लप’ युट्युबबाट हटेको छ । प्रसारण संस्था कान्तिपुर टेलिभिजनले उक्त कन्टेन्ट युट्युवबाट फिर्ता लिएको जनाएको छ ।

‘गत शनिबार प्रसारित ‘ह्वाट द फ्लप’मा छानिएका पात्र र गरिएको संवादबारे जनस्तरबाट प्राप्त प्रतिक्रियालाई कान्तिपुर टेलिभिजनले सम्मान गर्दछ । महिलाको प्रतिष्ठा र सम्मान कान्तिपुरको आधारभूत प्रतिबद्धताको साथै एजेन्डा पनि हो । त्यसैले यो कार्यक्रमको कन्टेन्ट युट्युबबाट फिर्ता गरिएको छ’ कान्तिपुरले सामाजिक सञ्जालमा उल्लेख गरेको छ ।

गत शनिबार प्रसारित कार्यक्रम ‘ह्वाट द फ्लप’ नाबालिग बलात्कारको आरोपमा जिल्ला र उच्च अदालतबाट सफाइ पाएका अभिनेता पल शाहलाई प्रस्तोता सन्दीप क्षेत्री अतिथिको रुपमा बोलाएका थिए । कार्यक्रममा उनले जेल पर्दाको अनुभव सुनाइरहँदा क्षेत्रीले त्यसलाई मजाक बनाउँदै हाँसेका थिए । बलात्कारजस्तो संवेदनशील विषयलाई राष्ट्रिय टेलिभिजनमा मजाकको विषय बनाइएको कार्यक्रम, टेलिभिजन र प्रस्तोताको अहिले व्यापक आलोचना भइरहेको छ ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्