संसारभर अहिलेसम्मकै बढी गर्मीः तातो मौसममा कसरी जोगिने, के गर्ने के नगर्ने – Janadesh Daily | ePaper

संसारभर अहिलेसम्मकै बढी गर्मीः तातो मौसममा कसरी जोगिने, के गर्ने के नगर्ने


जनादेश हेल्थ डेस्क।

निश्चित ठाउँमा अन्य समयको भन्दा लामो समयसम्म अत्यधिक तापक्रम रहिरहनुलाई उष्णलहर भनिन्छ। यद्यपि यसको परिभाषा ठाउँअनुसार भिन्न हुनसक्छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् १९९८ देखि २०१७ बीचमा उच्च तापक्रमका कारण १,६६,००० जनाले ज्यान गुमाएका छन्। ज्येष्ठ नागरिक, जोखिमको समूहमा पर्ने व्यक्ति, बालबालिका र घाममा काम गर्ने मानिसहरू यसको उच्च जोखिममा छन्।

छहारी
छहारीमा जमिनको तापक्रम सूर्यको प्रत्यक्ष ताप हुने क्षेत्रभन्दा १५°C सम्म कम हुन्छ। हाम्रो छालामा सूर्यको प्रकाशले गर्मी बनाउने भएका कारण छहारीमा हामी शीतल महसुस गर्छौँ।

यूएईको दुबाईमा दुईपाङ्ग्रे सवारीसाधनमा खानेकुरा डेलिभर गर्ने कामदारका लागि आराम गर्न, पानी पिउन, फोन चार्ज गर्न र स्वास्थ्य परीक्षण गर्नका लागि वातानुकूलित कक्षहरू बनाइएका छन्। गर्मी महिनाहरूमा त्यस्ता कामदारहरूका लागि कामको बीचमा नियमित आराम गर्न प्रोत्साहन गर्ने नीतिअन्तर्गत यस्ता संरचना बनाइएका हुन्।

के गर्मी मौसममा व्यायाम गर्नु हुन्छ?
शारीरिक परिश्रम हुने काम गर्नु छ भने दिनको सबैभन्दा शीतल समयमा गर्नुहोस्। त्यो समय प्रायः बिहान ४ देखि ७ बजेसम्म हो। मध्यदिनको गर्मीबाट जोगिनुहोस्।

रातिको तापक्रम
राति पनि तापक्रम २०°C भन्दा तल नझर्दा स्वास्थ्यका लागि खतरा हुन सक्छ। त्यस्तो अवस्थामा दिउँसोको तातोबाट शरीरलाई शीतल बनाउन कठिन हुन्छ। यसलाई केही देशहरूमा ‘उष्ण रात’ भनिन्छ।

मरोकोमा परम्परागत वास्तुकलाको एउटा विशेषताको रूपमा रहेको भित्री आँगनको संरचनाले तातो र सुक्खा मौसममा घरभित्रको तापक्रम कम गर्न सहयोग गर्छ। उनीहरू घर बनाउँदा हावा ओहोरदोहोर गर्ने ठाउँ राख्छन्, आँगनमा रूखहरू रोप्छन् जसले छहारी दिनुका साथै वाष्पीकरणबाट शीतल बनाउन सहयोग गर्छन्। घरको मोटो पर्खालले पनि तातो बाहिरै राख्न सघाउँछ। कोठाहरू भित्री आँगनको वरिपरि हुन्छन् र बाहिरपट्टि खुल्ने झ्यालहरू हुँदैनन्। त्यसो गर्दा शीतल हावा मात्रै कोठाभित्र जान पाउँछ।

घरलाई कसरी शीतल बनाइराख्ने?
देिउँसोपख झ्यालढोका वा बाक्लो पर्दा लगाएर घामको तातो छेक्नुहोस्। राति घरको सबैभन्दा शीतल कोठामा बस्नुहोस् र सुरक्षित छ भने झ्याल खुल्लै राख्नुहोस्। विश्व स्वास्थ्य सङ्गठनले कोठाको तापक्रम रातको समयमा २४°C भन्दा कम राख्न सुझाव दिएको छ।

घरबाहिर काम गर्दा हुने जोखिम
२४ देखि २६°C भन्दा उच्च तापक्रममा गरिने श्रमअनुसार उत्पादकत्व हुँदैन। यो ३३ देखि ३४°C मा अझै बिग्रिन्छ र कामदारहरूले आफ्नो क्षमताको ५० प्रतिशत मात्रै काम गर्न सक्ने अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) ले जनाएको छ। सबै प्रकारका पेसा प्रभावित हुन्छन् तर बढी शारीरिक परिश्रम गर्नुपर्ने काम घाममा गर्दा बढी जोखिम हुन्छ। अत्यधिक गर्मीले ‘हीटस्ट्रोक’ पनि हुन सक्छ र यो घातक बन्न सक्छ। आर्द्रता, चर्को घाम र हावाले गर्मी अझ बढाइदिन्छन्।

ह्ययूमन राइट्स वाचले पर्याप्त स्वास्थ्य र सुरक्षा उपकरणको अभाव र उक्त क्षेत्रको उच्च गर्मी तथा आर्द्रताका कारण खाडी राष्ट्रमा काम गर्ने आप्रवासी कामदारहरू विशेष जोखिममा रहेको जनाएको छ। यहाँ काम गर्ने कामदारहरूलाई उच्च तापक्रम हुने समयमा कामको समय छोट्याइदिनुपर्ने र पेसाअनुसार सुरक्षा उपायहरू अवलम्बन गरिनुपर्ने सुझाव दिइएको छ।

के गर्मी दिनमा तातो चिया खानु हुन्छ?
तातो पेय पदार्थले तपाँईको शरीरलाई शीतल बनाउन सघाउन सक्छ। अन्ननली र पेटमा रहेका ‘थर्मोसेन्सरहरू’ले तपाईँको पूरै शरीर तातो भएको ठानेर प्रतिक्रिया जनाउँदा तपाईँलाई पसिना आउँछ। शरीरलाई चिसो बनाउन बाफिनेगरी पसिना आउनुपर्छ। तर यसो गर्नु गर्मी र सुक्खा दिनमा मात्रै उपयोगी हुन्छ।

सेतो रङ्ग लगाउनुहोस्
सहरका भवनहरू प्रायशः सिमेन्ट, इँटा, अलकत्रा, सिसा र स्टीलबाट बनेका हुन्छन्। तिनको छाना पनि कालो रङ्गको हुन्छ। कालो रङ्गले तापक्रम सोसेर तातो अझै बढाउँछ। त्यसलाई ‘अर्बन हीट आइल्यान्ड इफेक्ट’ पनि भनिन्छ। छानाहरूमा सेतो रङ्ग लगाएर बाहिरी र भित्री तापक्रम कम गर्न सकिन्छ। यसका फाइदाहरूबारे अझै अध्ययन भइरहेको छ। तर क्यालिफोर्नियाको एउटा कम्पनीले गरेको विशेष खालको सेतो रङ्ग लगाइएको छानाले सूर्यको प्रकाश ८० प्रतिशतसम्म परावर्तित गर्ने र छतको तापक्रम ३१°C सम्म घटाइदिने देखाएको छ।

भारतको थार मरुभूमिको एउटा सुकुम्बासी बस्तीमा गैरनाफामूलक संस्थाले त्यहाँका गरिब महिलाहरूलाई आफ्नो घरको छानोमा सेतो रङ्ग लगाउन सहयोग गरेको छ। त्यो उपायले घरको भित्री भाग शीतल राख्न सहयोग पुग्छ।

उष्णलहर फैलिँदा आफूलाई कसरी शीतल राख्न सकिन्छ?
शरीरलाई छिट्टै शीतल बनाउनु छ भने हातखुट्टा चिसो पानीले भिजाउन सकिन्छ। नाडी र गोलीगाँठाको भागमा कैयौँ ‘पल्स पोइन्ट’ हुन्छन्। छालाको नजिकै हुनाले तिनले यो प्रक्रियालाई छिटो बनाइदिन्छन्।

आर्द्रता र ‘वेट बल्ब’ तापक्रम
आर्द्रताले हाम्रो शरीरले ताप खेप्ने तरिकालाई प्रभावित पार्छ। पसिना आएपछि हामीलाई शीतल हुन्छ तर पसिना छालाबाट बाफ बनेर जानुपर्छ। तर वायुमा पानीका कणहरू धेरै भएको अवस्थामा त्यो सहज हुँदैन। ‘वेट बल्ब’ तापक्रम भनिने एकाइले आर्द्रता र तापलाई एक ठाउँमा राखेर त्यसले मानव स्वास्थ्यमा पार्ने असरको मूल्याङ्कन गर्न सहयोग गर्छ। यो मापनअनुसार मानिसहरूले सामना गर्न सक्ने वेट बल्ब तापक्रम डब्ल्यूबीटी ३५°C हो। अर्को मापन ‘ग्लोबल वेट बल्ब’ तापक्रम अझ विस्तृत हुन्छ। त्यसमा तापक्रम, आर्द्रता, वायुको गति, सूर्यको कोण र बादलले ढाकेको अवस्था पनि हेरिन्छ।

भूउपग्रहबाट प्राप्त डेटाले वेट-बल्ब तापक्रम रहेका क्षेत्रहरू पहिचानमा सहयोग गरिरहेको छ अनि त्यस्तो डेटाको अध्ययन गर्दा वैज्ञानिकहरूलाई मौसम पूर्वानुमान गर्न सहयोग पुगेको छ। नासाको भूउपग्रहबाट खिचिएका तस्बिरहरूले सन् २००५ देखि पाकिस्तान र पर्सियाको खाडीमा वेट-बल्ब तापमानले डब्ल्यूबीटी३५C को सीमा नाघेको देखाएका छन्।

उष्णलहर फैलिँदा कस्तो लुगा लगाउनुपर्छ?
ऊन, पोलिस्टर वा डेनिमजस्ता गर्मी गराउने कपडाहरू नलगाउनुहोस्। बरु लिनिन, रेसम, कटन जर्सी वा सुतीका कपडा लगाउनुहोस्।

विज्ञहरूले जे सिके
हामी मध्यपूर्वका तातो र सुक्खा मरुभूमिमा शताब्दिऔँदेखि बस्दै आएका अरबी भाषा बोल्ने आदिवासी बेडुइन समुदायका मानिसहरूबाट धेरै कुरा सिक्न सक्छौँ। यो मरुभूमिमा दिनको समयमा औसत तापक्रम नै ३८°C हुन्छ।

बेडुइन समुदायका मानिसले लगाउने पोसाकमा प्रायः सेता वा काला कपडाहरू पर्छन्। कालो कपडाले धेरै ताप सोस्छ तर त्यसलाई केही खुकुलो हुनेगरी लगायो भने भित्रको हावाको प्रभावले तातोपन छालामा पुग्दैन। खुकुलो हुनेगरी बुनिएको ऊनले भित्रको तापलाई फैलाउँछ र बाहिर निकालिदिन्छ।

विज्ञको सुझाव
परापूर्वकालमा इजिप्टमा पराल वा छ्वाली भिजाएर ढोका र झ्यालमा झुन्डाइन्थ्यो। त्यसो गर्दा झ्यालढोकाबाट तातो हावा घरभित्र जाँदा बाफ आउँथ्यो र घरको भित्री भाग शीतल हुन्थ्यो। अहिले पनि भिजाएको तौली राखेर मानिसहरूले परम्परालाई निरन्तरता दिएका छन्।

अत्यधिक तापक्रमबारे पूर्वसूचना प्रणाली
पूर्वसूचना प्रणालीले मानिसहरूलाई विशेषतः उष्णलहरको समयमा जोखिम समूहका मानिसहरूलाई गर्मीको प्रकोपबाट जोगिने तयारी गर्न सचेत गराउँछ। उदाहरणको लागि, भारतमा मौसम निगरानी गर्ने दुईवटा केन्द्रमा अधिकतम तापक्रम दुई दिनदेखि ४५°C भन्दा माथि पुग्यो भने सचेततनाका लागि पूर्वसूचना दिइन्छ। यद्यपि विश्वको एकतिहाइ क्षेत्र मात्रै तापक्रमसम्बन्धी पूर्वसूचना प्रणालीमा समेटिएको विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्यूएमओ) ले जनाएको छ। उसले सन् २०२७ सम्म सबै मानिसहरूले यस्तो पूर्वसूचना पाउनुपर्ने बताउँदै आएको छ।

सन् २०१५ मा भारतको अहमदाबादमा ह्वाट्स्यापको सहयोगमा उष्णलहरबारे सन्देश प्रवाह गरिएको थियो। यो विधि रेडिओ र टीभीबाट सूचना दिने परम्पराभन्दा फरक थियो। पाँच वर्षअघि घातक उष्णलहर आएपछि बनाइएको कार्ययोजना अन्तर्गत त्यसो गरिएको थियो। भारत र पाकिस्तान दुवै देशमा गर्मी र स्वास्थ्यसँग सम्बन्धित सफल कार्ययोजना बनेका छन्।

विज्ञको सुझाव
एशियाका कतिपय देशमा छ्वाली वा परालबाट बनेका छत्रेटोपीसँगै अरू बुनेका सामग्रीहरू तत्कालका लागि शीतलता दिने साधनको रूपमा प्रयोग गरिन्छ। शीतलताका लागि यस्ता टोपीहरू पानीमा डुबाएर लगाइन्छ।

उष्णलहरको सङ्ख्या, फैलिने अवधि र सघनता बढिरहेको देखिन्छ। मध्यपूर्व र अफ्रिकामा तापक्रम सन् २१०० को मध्यदिनमा ५०°C सम्म पुग्ने प्रक्षेपण गरिएको छ। भारतको मौसम विभागले उष्णलहरको अवधि विगत ३० वर्षमा औसत तीन दिनले बढेको जनाएको छ। भारतले आगामी ३० देखि ४० वर्षमा यसको अवधि १२ देखि १८ दिनले बढ्ने प्रक्षेपण गरेको छ।

तर विभिन्न देश र सहरहरूले उष्णलहरबाट हुने मृत्यु नियन्त्रण गर्ने तयारी गरिरहेका छन्। विश्व स्वास्थ्य सङ्गठनले पूर्वसूचना प्रणालीदेखि स्वास्थ्यसेवाको प्रणालीसम्म तयार हुनुपर्ने बताएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्