एजेन्सी ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) का अध्यक्ष नासिर अल खलिफाले आफ्ना टोलीका सुपरस्टारद्वय नेयमार र केलियन एमबाप्पले खेल जीवनको अन्त्य पेरिसमै गर्नेमा विश्वस्त छन् ।
एटलान्टाविरुद्ध अन्तिम समयमा २ गोल फर्काउँदै पिएसजी बुधबार च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको थियो । १ गोलले पछि परेको खेल उल्टाउँदै पिएसजी विजयी भएको थियो । वैकल्पिक खेलाडीको रुपमा एमबाप्पे मैदान प्रवेश गरेपछि पीएसजी जिततर्फ उन्मुख देखिएको थियो । पीएसजीले अब सेमिफाइनलमा मंगलबार आरबी लाइप्जिगको सामना गर्दैछ ।
यसबीचमा पीएसजीका अध्यक्ष खालिफाले आफ्ना दुवै स्टारले क्लब नछाड्ने बताएका छन् । ‘केलियनका साथ नेयमार विश्वका उत्कृष्ट खेलाडी मध्ये एक हुन्,’ टोली सेमिफाइनल पुगेपछि खालिफाले तारिफमा भने, ‘उनी विश्वका उत्कृष्ट तीन मध्येका हुन् । नेयमार खेलको म्यान अफ द म्याच भए । उनी र केलियनले कहिल्यै छाड्ने छैनन् । उनीहरु पिएसजीमै रहनेछन् ।’
पिएसजी धेरै पटक नकआउट चरणबाट बाहिरिंदै आएको छ । २५ वर्षपछि यसपटक टोली अन्तिम चारको यात्रा तय गर्न सफल भएको छ । सन् १९९५ यता पिएसजी पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनल पुगेको हो । अब पीएसजीको नजर उपाधिमा छ ।
‘हामीले सेमिफाइनल पुगेकोमा विजयउत्सव मनायौं । अब हाम्रो सोच सेमिफाइनलमा केन्द्रित छ ,’ खलिफाले थपे,’हामीले खेलाडी, सिंगो टोली र सञ्चारमाध्यमको मनस्थितिमा परिवर्तन ल्याउनु छ । किन की पिएसजीलाई हरेकले शंका गर्छन् ।’
उनले एटलान्टाविरुद्ध जितको खुसियाली साट्ने क्रममा भने, ‘यो हाम्रा लागि विशेष दिन हो । हाम्रा खेलाडी र स्टाफमा मलाई गर्व छ । लिग रद्द भएका कारणले पनि हामीलाई सहज भएको हो ।’ कोभिड १९ का कारण स्थगित लिग त्यहि अवस्थामा रद्द भएपछि शीर्ष टोली पिएसजीलाई विजेता घोषित गरिएको थियो ।