विदेशी मुद्रा सञ्चिति १५ खर्ब ७३ अर्ब पुग्यो – Janadesh Daily | ePaper

विदेशी मुद्रा सञ्चिति १५ खर्ब ७३ अर्ब पुग्यो


चालु आर्थिक वर्षको पहिलो महिनामा विदेशी विनिमय सञ्चिति बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्षको तथ्यांकअनुसार साउन मसान्तसम्म विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले बढेको छ ।

अघिल्लो आर्थिक बर्ष २०७९/८० को असार मसान्तसम्ममा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबरको रहेको कुल विदेशी विनिमय सञ्चिति चालु आर्थिक बर्षको साउन मसान्तसम्ममा २.२ प्रतिशतले वृद्धि भएर १५ खर्ब ७३ अर्ब १२ करोड रुपैयाँ पुगेको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति ११ अर्ब ८५ करोड पुगेको छ । यो अघिल्लो बर्षको तुलनामा १.२ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक बर्ष अमेरिकी डलरमा यस्तो सञ्चिति ११ अर्ब ७१ करोड रहेको थियो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति अघिल्लो बर्षको असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ रहेकोमा चालु आर्थिक बर्षको साउन मसान्तसम्ममा २.९ प्रतिशतले वृद्धि भई १३ खर्ब ८५ अर्ब २४ करोड रुपैयाँ कायम भएको छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति गत आर्थिक बर्षको असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा चालु आर्थिक बर्षको साउन मसान्तमा २.९ प्रतिशतले कमी आई १ खर्ब ८७ अर्ब ८९ करोड कायम भएको छ । साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२।५ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २९.२ प्रतिशत, ८५.७ प्रतिशत र २६.३ प्रतिशत रहेको छ । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्