चौतारा,
चौतारा–सीपाघाट–कात्तिके–काठमाडौँ सडक आयोजनाअन्तर्गत सिन्धुपाल्चोकको झँ्याडी खोलादेखि सीपापोखरेको देउरालीसम्मको १२ दशमलव छ किलोमिटर सडकको ठेक्का सम्झौता भएको छ ।
हाल कायम चारदेखि पाँच मिटर चौडाइको कच्ची सडकलाई स्तरोन्नति गरी नालीसहित आठ मिटर चौडा कायम गर्ने गरी कालोपत्र गर्न ठेक्का सम्झौता भएको हो ।
चालू आर्थिक वर्षदेखि काम सञ्चालन गर्न बोलपत्र आह्वान गरेकोमा प्यासीफिक इञ्जिनीयरिङ कम्पनी प्रालिका ठेकेदार ठाकुरप्रसाद कँडेललाई रु २९ करोड ४९ लाख ५९ हजार ९८२÷३५ मा ठेक्का स्वीकृत भएको जिल्ला पूर्वाधार कार्यालयका इञ्जिनीयर सुजन भण्डारीले बताउनुभयो । ठेक्काको अवधि २०७९ असार २७ गतेसम्म कायम रहेको छ ।
वाग्मती प्रदेश सरकारबाट चालू आवमा दोस्रो खण्डको सडक सुधारसहित कालोपत्र गर्न बहुवर्षीय योजनाअन्तर्गत रु ५४ करोड ७४ लाख ७८ हजार बजेट निकासा भएको थियो । कन्ट्रीजेन्सी रकम कट्टी गरी रु ४६ करोड ७३ लाखको बोलपत्र आह्वान गरिएको थियो ।
प्रदेश सरकारले चौतारा–सीपाघाट–कात्तिके–काठमाडौँ सडकको नामकरणसहित बजेट निकासा भएको कार्यालयले जनाएको छ । चौतारादेखि सीपाघाटसम्मको २६ किलोमिटर सडकमा विगत दुई दशकदेखि यात्रु बस सञ्चालन हुँदै आएको छ ।
पहिलो खण्डअन्तर्गत चौतारादेखि सानु सिरुवारीको झँ्याडी खोलासम्मको नौ दशमलव ४४ किलोमिटर सडकको सुधारसहित कालोपत्र गर्ने काम गत वर्षदेखि हुँदै आएको छ ।
श्रेष्ठ सोवर्ण जेभीका ठेकेदार अर्जुन थापाले उक्त खण्ड आगामी असोजसम्म सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरे पनि कोभिड–१९ महामारीका कारण देशमा लकडाउन (बन्दाबन्दी) भएपछि तोकिएको समयभन्दा पछि धकेलिएको छ ।
इन्द्रावती गाँउपालिकाअन्तर्गत सीपापोखरेको देउरालीदेखि सीपाघाट पुलसम्मको चार किलोमिटर सडकको निर्माण सडक डिभिजन कार्यालय दोलखाले थालनी गरेको थियो । ग्राभेलिङ र नालीसहित ८० प्रतिशत काम पूरा भएपछि देशमा सङ्घीयता लागू भएपछि जिल्ला पूर्वाधार कार्यालयलाई हस्तान्तरण गरेको उक्त सडकलाई आगामी आवमा कालोपत्र गरिने इञ्जिनीयर भण्डारीले बताउनुभयो ।
उक्त सडक सीपाघाटस्थित ढाँडखोलाको किनार हुँदै काभ्रे जिल्ला र काठमाडौँको शङ्करापुर नपा–८ स्थित कात्तिके हुँदै सालीनदी गएर टुङ्गिने छ ।
चौताराबाट साँखुको सालीनदीसम्म ५५ किलोमिटर मात्र पर्ने हुँदा भइरहेको सडकको दूरीभन्दा कम देखिएकाले आफ्नै सक्रियतामा गत आवदेखि बजेट विनियोजन गरिएको वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले बताउनुभयो । रासस