नेपालको राष्ट्रिय झण्डा जलाउँदै म्युजिक भिडियो बनाउने मुख्य अभियुक्त सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार मुख्य अभियुक्त ग्याल्जेन दोर्जे तामाङसहित ९ जनालाई पक्राउ गरिएको हो ।
हिजो भिडियोका क्यामेरा पर्सनलाई प्रहरीले पक्राउ गरेको थियो ।नेपालको राष्ट्रिय झण्डा जलाउँदै आपत्तिजनक शब्दहरु प्रयोग गर्दै युट्युवमा सार्वजनिक गरिएको उक्त गीतको सामाजिक संजालमा आलोचना भएको थियो ।
‘देशद्रोही’ शीर्षकको उक्त गीत ‘मंगोल हप अफिसियल’ नामक च्यानलबाट सार्वजनिक भएको थियो भने गीतमा जातीय असहिष्णुता फैलाउने शब्दहरु समेत प्रयोग गरिएको छ ।
मुलुकी अपराध संहिता २०७४ अनुसार राष्ट्रिय गान वा राष्ट्रिय झण्डाको अपमान गर्न पाइदैन । राष्ट्रिय झण्डाको अपमान गरेमा ३ वर्ष कैद सजाय र ३० हजार जरिवाना वा दुबै हुनसक्छ ।