काठमाडौँ। नेपालमा पहिलो समाचारमूलक पत्रिका गोरखापत्र प्रकाशन आरम्भ भएको दिनको स्मरणमा हरेक वर्षको वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिएको छ । यो वर्ष हामी ‘सूचनामा नागरिकको पहुँच र अधिकार, जवाफदेही पत्रकारिता सुरक्षित पत्रकार’ भन्ने मूल नारासहित राष्ट्रिय पत्रकारिता दिवस मनाउँदै छौँ । नेपाली पत्रकारिताको समीक्षा गर्दै आगामी बाटो अझै सहज र फराकिलो बनाउन आज महत्वपूर्ण दिन पनि हो । राष्ट्रिय पत्रकारिता दिवस मनाइरहँदा पत्रकारिताको विकास, चुनौती, स्वतन्त्रतासँगै हाम्रो दायित्वलगायतका विषयमा पनि समीक्षा हुन जरुरी छ । हरेक नागरिकले सूचनाको हक प्रयोग गर्नका लागि समेत यो महत्वपूर्ण हुन्छ ।
सरकारले विसं २०७३ मा पत्रकारिता दिवस राष्ट्रिय रूपमै मनाउन मान्यता दिएपछि यो दिवस मनाउन थालिएको हो । आजभन्दा १२३ वर्ष पहिले १९५८ वैशाख २४ गते नेपालमा पहिलो समाचारमूलक पत्रिका साप्ताहिकरूपमा गोरखापत्रको प्रकाशन आरम्भ भएको थियो । सरकारी तहबाट समाचारमूलक पत्रिका प्रकाशन हुन थालेको झण्डै सवा सय वर्ष पुगे पनि निजी क्षेत्रबाट भने २००७ सालको क्रान्तिपछि मात्रै सञ्चार माध्यमहरु प्रकाशन/प्रसारण हुन थालेका हुन् । २००७ सालको क्रान्तिकै बीचबाट रेडियो प्रसारण आरम्भ गरिएको थियो भने प्रजातन्त्रको आगमनसँगै निजी क्षेत्रका पत्रपत्रिका प्रकाशन हुन थालेका हुन् ।
प्रजातन्त्रसँगै पत्रकारिता पनि फष्टाउन खोजिरहेकै बेला पञ्चायती व्यवस्थाका कारण पुनः प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको जगजाहेर नै छ । पञ्चायतको कालरात्रिमा जनतालाई जागरुक बनाउन नेपाली पत्रकारिता क्षेत्रले निर्वाह गरेको ऐतिहासिक भूमिका हामी युगयुगसम्म सम्झिरहने छौंँ । विभिन्न राजनीतिक आन्दोलनका बेलामा जनतामा जागरण ल्याउन पत्रकारिता क्षेत्रले एतिहासिक भूमिका निर्वाह गर्दै आएको छ ।
राजनीतिक अधिकारविना प्रेस स्वतन्त्रता सम्भव नहुने र प्रेस स्वतन्त्रताबिनाको राजनीतिक अधिकार अपूर्ण हुने भएकाले राजनीति र पत्रकारिता सँगसँगै अघि बढेको हाम्रो इतिहास छ । राजनीतिक अधिकार र प्रेस स्वतन्त्रताको अधिकार सँगसँगै अघि बढ्ने भएकाले हिजोका ठूलाठूला राजनीतिक परिवर्तनका सङ्घर्षमा नेपालको पत्रकारिता क्षेत्रले परिवर्तनको महत्वपूर्ण हिस्साको रुपमा भूमिका निर्वाह गर्दै आएको हो । अब राजनीतिक तथा प्रेस स्वतन्त्रताको अधिकारलाई थप स्थापित गर्दै बदलिएको व्यवस्था अनुकूल जनताको अवस्था बदल्न राजनीति र पत्रकारिता एउटै अभियानमा अघि बढ्न आवश्यक छ ।
हामी संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको व्यावहारिक अभ्यासका क्रममा छाँैं । संविधानको प्रस्तावनामै राखिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यावहारिक कार्यान्वयनले मात्रै अब नेपाली पत्रकारहरुको अधिकार सुनिश्चित भएको मानिने छ । प्रेस स्वतन्त्रताको उपयोग गर्दा सत्य, तथ्य, विश्वसनीय र भरपर्दो सूचना पाउने नागरिकको नैसर्गिक अधिकारको सम्मान हुनु पर्दछ । प्रेस स्वतन्त्रता, लोकतन्त्र र राष्ट्रियताको संरक्षण, सामाजिक न्याय र समानताको प्रत्याभूति गर्दै शान्ति र स्थायित्वको प्रवद्र्धन तथा मानवअधिकारसम्बन्धी सरोकारलाई प्राथमिकतामा राखेर विकास र निर्माणमा सरकार अग्रसर रहेको छ । अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, सूचना प्रवाहमा स्थापित अन्तर्राष्ट्रिय मूल्य, मान्यता र प्रचलन तथा नेपालको संविधानले प्रत्याभूत गरेको सूचना र सञ्चारसम्बन्धी मौलिक हकको कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको छ ।
राजनीतिक अधिकार बिना प्रेस स्वतन्त्रता संभव नहुने र प्रेस स्वतन्त्रता बिनाको राजनीतिक अधिकार अपूर्ण हुने भएकाले राजनीति र पत्रकारिता सँगसँगै अघि बढेको हाम्रो इतिहास छ । राजनीतिक अधिकार र प्रेस स्वतन्त्रताको अधिकार सँगसँगै अघि बढ्ने भएकाले हिजोका ठूलाठूला राजनीतिक परिवर्तनका संघर्षमा नेपालको पत्रकारिता क्षेत्रले परिवर्तनको महत्वपूर्ण हिस्साको रुपमा भूमिका निर्वाह गर्दै आएको हो । अब पनि राजनीतिक तथा प्रेस स्वतन्त्रताको अधिकारलाई थप स्थापित गर्दै बदलिएको व्यवस्था अनुकूल जनताको अवस्था बदल्न राजनीति र पत्रकारिता एउटै मिसनमा अघि बढ्न आवश्यक छ ।
प्रेस स्वतन्त्रतालाई थप सुनिश्चित गर्ने गरी एक वर्षदेखि सञ्चारसँग सम्बिन्धित कानुन निर्माण तथा पुनरावलोकनको काम भइरहेको छ । सञ्चार सम्बद्ध संस्था तथा यस क्षेत्रका विज्ञहरुको प्रत्यक्ष संलग्नता र राय सुझावका आधारमा कानुनको मस्यौदा गर्ने, त्यसमाथि सरोकारवाला र आम नागरिकको रायसुझाव समेत लिएर पारदर्शी र लोकतान्त्रिक विधिबाट कानुन निर्माण गर्ने कार्यलाई सरकारले प्राथमिकता दिएको छ । यसअनुसार आमसञ्चार क्षेत्रको स्वनियमन प्रवद्र्धनमा केन्द्रित रहेर तयार गरिएको मिडिया काउन्सिल विधेयक भर्खरै सङ्घीय संसदमा दर्ता भएको छ भने आम सञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्मा पेश हुने प्रक्रियामा छ । त्यस्तै सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी विधेयक पनि चाँडै मन्त्रिपरिषदमा पेश हुने तयारीमा छ । छाता कानुनको रुपमा आमसञ्चार ऐन बनाएर सङ्घीयताको मर्मअनुसार नेपाली सञ्चार क्षेत्रलाई प्रवद्र्धन र व्यवस्थापन गर्ने सरकारको उद्देश्य रहेको छ ।
यही ऐनअन्तर्गत बन्ने आमसञ्चार प्रतिष्ठानमार्फत मिडियाको प्रवद्र्धन र व्यवस्थापन, श्रमजीवी पत्रकारको पेशागत अधिकारको संरक्षण र लोककल्याणकारी कोष सञ्चालन लगायतका काम एउटै निकायबाट अघि बढाउने सरकारको सोंच रहेको छ । सरकारी स्वामित्वका सञ्चार माध्यमलाई थप स्वायत्त र प्रभावकारी बनाउने उद्देश्यले अघि बढाइएको सार्वजनिक मिडियासम्बन्धी विधेयक प्रतिनिधिसभाको विषयगत समितिमा छलफलका क्रममा रहेको छ ।
पत्रकारिताको बढदो विकाससँगै चुनौती पनि थपीदै गएका छन् । परम्परागत र नयाँ विद्युतीय आमसञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म आधारहीन सामग्री सम्प्रेषण हुन नदिन सजग हुनुपर्छ । गलत र भ्रमपूर्ण सूचना सम्प्रेषणका कारण आज सम्पूर्ण क्षेत्र जस्तै पत्रकारिता क्षेत्र पनि आक्रान्त छ । सत्य तथ्य जान्न पाउनु नागरिकको अधिकार हो । त्यसैले हामीले यो वर्षको पत्रकारिताको नारामै सूचनामा नागरिकको पहुँच र अधिकार स्थापित गर्नुपर्नेमा जोड दिएका छौँ । नागरिकले सही सूचना प्राप्त गर्न जवाफदेही पत्रकारिता चाहिन्छ र त्यसले मात्र पत्रकारलाई भौतिक र पेसागतरुपमा सुरक्षित बनाउन सक्छ ।
मिडियाको सवलीकरण र श्रमजीवी पत्रकारको हित प्रवद्र्धनलाई सँगसँगै अघि बढाउनका लागि सरकारले निरन्तर काम गरिरहेको छ । मिडियाको सवलीकरणमै सहयोग पुगोस् भनेर गत वर्ष मात्रै विज्ञापन नियमावली संशोधन गरिएको छ भने समग्र विज्ञापन क्षेत्रमा नै सुधार ल्याउने गरी विज्ञापन नीति तर्जुमाको काम पनि भइरहेको छ । विगत छ वर्षदेखि बढ्न नसकेको श्रमजीवी पत्रकारको पारिश्रमिक वृद्धिको प्रस्ताव मन्त्रिपरिषद्को समितिमा छलफलका क्रममा रहेको छ । छलफलका क्रममा रहेका तथा सरकारले अघि बढाएका प्रस्तावित कानुन र निर्णयहरुले पूर्णता पाउँदा नेपालको आमसञ्चार क्षेत्रमा पुनःसंरचना हुने र नेपाली पत्रकारिता क्षेत्रले परिवर्तनको अनुभूति गर्नसक्ने छ भन्ने सरकारको विश्वास रहेको छ ।
छापा माध्यमबाट सुरु भएको पत्रकारिताको विकासक्रम आज डिजिटल मिडियासम्म पुगेको छ । सूचना तथा सञ्चार प्रविधिको तीब्रतम विकासका कारण पत्रकारिता क्षेत्रमा सिर्जित अवसरबाट लाभ लिंने र चुनौतीको सामाना गर्न सक्षम भएर मात्रै आजको दिनमा पत्रकारिताको विकास गर्न सकिने छ । पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गर्दै पत्रकारको हकहित र आमसञ्चारका माध्यमहरुको सबलीकरणका लागि सम्बन्धित सबै क्षेत्रबाट आउने राय सुझावका आधारमा अघि बढ्न सरकार प्रतिबद्ध छ ।
अन्त्यमा, सामाजिक उत्तरदायित्व बहन गर्दै संविधानप्रदत्त हकअधिकार उपयोग गर्न राष्ट्रिय पत्रकारिता दिवसले थप प्रेरणा प्रदान गर्ने विश्वास लिन सकिन्छ । राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा पत्रकारिता क्षेत्रलगायत सबैमा शुभकामना छ । नवौँ राष्ट्रिय पत्रकारिता दिवस मनाइरहँदा पत्रकारिताका माध्यमबाट समाज रुपान्तरणको अभियानमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुभएका सहिदहरुको योगदानलाई स्मरण गर्र्नै पर्दछ । पत्रकारिता क्षेत्रमा रहेर समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरी वरिष्ठ पत्रकारहरुको योगदान पनि स्तुतियोग्य छ । लोकतान्त्रिक राज्य व्यवस्था कायम गर्न÷गराउन पत्रकारिता क्षेत्रले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै उहाँले आगामी दिनमा पनि सूचना प्रवाहमा निष्पक्ष, सन्तुलित, व्यावसायिक, जिम्मेवार र उत्तरदायी भई भूमिका निर्वाह गर्न पत्रकार तथा आमसञ्चार जगत्ले अझ महत्वपूर्ण नेतृत्वदायी भूमिका निर्वाह गर्ने नै छ । सत्य, निष्पक्ष एवं विश्वसनीय पत्रकारिताबाटै नै मुलुकलाई समृद्धिको बाटोमा हिँड्न बल पुग्दछ ।
(प्रस्तुत विचार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग रासस प्रतिनिधिले गरेको कुराकानीमा आधारित)