टीआरसी विधेयकमा सहमतिसहितको प्रतिवेदन बन्नु नयाँ सरकारको राम्रो कामः प्रचण्ड – Janadesh Daily | ePaper

टीआरसी विधेयकमा सहमतिसहितको प्रतिवेदन बन्नु नयाँ सरकारको राम्रो कामः प्रचण्ड


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहरीकरणका लागि गठित राजनीतिक दलको कार्यदलले तयार पारेको सहमतिसहितको प्रतिवेदन तयार हुनु नयाँ सरकारको राम्रो सुरुवात भएको बताएका छन् ।

बुधबार प्रधानमन्त्री कार्यालयमा भएको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी)मा प्रतिवेदन बुझाउने क्रममा उनले यसलाई एउटा राम्रो काम भन्ने ठानेको भन्दै सरकारलाई धन्यवाद दिएका छन् ।

उनले भने, ‘नयाँ सरकार गठन भएपछिको यसलाई मैले एउटा राम्रो काम भन्ने ठान्छु र सरकारलाई पनि धन्यवाद भन्न चाहन्छु । यसलाई संसद्को समिति र सदनमा पनि यसै पटक जाओस् र यसलाई टुङ्गाइयोस् र आम नेपाली जनतालाई पनि शान्ति, स्थायित्व र प्रगतितिर जाने ढोका अझ राम्रोसँग खुलेको सन्देश दिइयोस् भन्ने मेरो चाहना छ र सरकारसँग यसको लागि आग्रह गर्न चाहन्छु ।’

उनले लामो समयदेखि छलफलमा रहेको सहमतिको नजिक पुगेर पनि निष्कर्ष दिन कठिन भएको यो विषय निष्कर्षमा पुगेको भन्दै खुसी पनि व्यक्त गरेका छन् । उनले भने, ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन ७१ लाई संशोधन गर्न बनेको विधेयकका सन्दर्भमा कार्यदलले समझदारीका साथ एउटा प्रतिवेदन बुझाएको छ । लामो समयदेखि छलफलमा रहेको सहमतिको नजिक पुगेर पनि निष्कर्ष दिन कठिन भएको यो विषय अहिले जुन मेहनतका कार्यदलले पीडित मैत्री बनाउँदै निष्कर्षमा लागिएको छ यो सबैको लागि खुसीको कुरा हो ।’

सोही क्रममा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिवेदन ल्याएकोमा कार्यदललाई धन्यवाद भन्दै सफलताको कामना गरेका छन् । उनले भने, ‘यो कार्यदलले तयार पारेको सहमतिसहितको प्रतिवेदनको लागि धन्यवाद दिन चाहन्छु । त्यति मात्र होइन, नेपालले गरेको यो काम विश्वको लागि नै अनुकरणीय हुनेछ । यसलाई पूर्ण रूप दिन सक्यो भने नेपाललाई राम्रो हुने विश्वास लिएको छु । यसको सफलताको पनि कामना गर्छु ।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्