राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा. मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ ।
आज बिहान बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको हो । यसअघि पार्टीले सोधेको स्पष्टीकरणमा ढकालले पार्टी सभापति रवि लामिछानेलाई प्रतिप्रश्न गर्दै जवाफ दिएका थिए ।
त्यसपछि रास्वपा नेतृत्व ढकालप्रति थप असन्तुष्ट थियो । ढकालले दुवैपटक जवाफ दिँदा सभापति रवि लामिछानेमाथि नैतिकताको प्रश्न उठाएका थिए ।
२५ असारमा बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाएको थियो । ३५ दिनभित्र कारबाही उपर पुनरावलोकन गर्ने अवधि दिइए पनि ढकालले पुनरावेदन गरेनन् ।