भियतनाममा आँधीका कारण नौ जनाको मृत्यु – Janadesh Daily | ePaper

भियतनाममा आँधीका कारण नौ जनाको मृत्यु


दक्षिणी चीन र फिलिपिन्समा आएको यागी नाम दिइएको आँधीका कारण भएका विभिन्न दुर्घटनामा भियतनाममा आइतबारसम्ममा कम्तीमा नौ जनाको मृत्यु भएको छ । आँधीका कारण भियतनामको विभिन्न तटीय क्षेत्रमा भवनका छाना उडाएको, डुङ्गा डुबाएको र पहिरो गएको बताइएको छ ।

उत्तरी भियतनामको पहाडी क्षेत्र होआ बिन्ह प्रान्तमा आइतबार बिहान गएको पहिरोमा परी चार जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीलाई उद्धृत गर्दै भिएनएक्सप्रेसले भनेको छ, “यागीले ल्याएको केही घण्टाको भारी वर्षापछि मध्यराततिर पहिरो गई एक घरलाई पुरेको छ । घटनामा ५१ वर्षीय एक पुरूषले भागेर ज्यान बचाउन सफल भएको तर उनकी श्रीमती, छोरी र दुई नातिनातिना पुरिएका थिए।

उत्तरी भियतनाममा शनिबार १४९ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको आँधीले भौतिक संरचनामा व्यापक क्षति गर्नुका साथै ठाउँठाउँमा रूखहरू ढालेको छ । शनिबार हुरीले घरका छानालाई उडाएर टाढाटाढासम्म पु¥याएको र हुरूका कारण भएका दुर्घटनामा चार जनाको मृत्यु भएको विपद व्यवस्थापन अधिकारीले बताएका छन् ।

हाई डुओङ प्रान्तमा शुक्रबार आएको हावाहुरीका कारण एउटा रुख ढलेर एक व्यक्तिको मृत्यु भएको थियो । बन्दरगाह शहर हाइ फोङका धेरै क्षेत्रमा आइतबार बाढीको पानी आधा मिटर (१.६ फिट) सम्म जमेको र बिजुलीको लाइन र खम्बामा क्षति पुगेको छ ।

युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत हा लोङ बेमा आइतबार बिहान भएको क्षतिको अध्ययन गर्दा मछुवाहरू स्तब्ध भएका थिए । स्थानीय बासिन्दाका अनुसार तुआन चाउ टापुमा रहेको हाई औ नामक डुङ्गा पार्किङ गर्ने स्थानमा कम्तीमा २३ वटा डुङ्गामा गम्भीर क्षति पुगेको छ । भियतनामभन्दा पहिले दक्षिणी चीन र फिलिपिन्समा निम्त्याएको विपत्तिमा कम्तीमा २४ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्