जनादेशडेली संबाददाता । नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड सदस्यमा छुम्बी लामा र धर्मराज गिरी मनोनीत भएका छन् । लामा र गिरी राष्ट्रिय खेलकुद परिषद्को सिफारिसमा मनोनीत भएका हुन् । परिषद्ले क्यानको बोर्डमा आफ्ना दुईजना प्रतिनिधि सिफारिस गर्न पाउने प्रावधान छ । गत १० असारमा परिषद्कै सिफारिसका आधारमा मंगलबार लामा र गिरीले क्यानमा बोर्ड सदस्यका रूपमा प्रवेश पाएका हुन् ।
व्यवस्थापनमा निकै पोख्त मानिएका लामा क्विन्स इभेन्ट्सका प्रबन्ध–निर्देशक हुन् । क्यानका अर्को मनोनीत गिरी मदन भण्डारी स्पोर्टस् फाउन्डेसनअन्तर्गत क्रिकेट विभागका उपाध्यक्ष हुन् । यसअघि लामाले क्यानमा चिफ अपरेटिङ अफिसर (सिओओ) को अनुभव बटुलिसकेका छन् । ०६८ सालमा टंक आङबुहाङ अध्यक्ष क्यानमा उनले म्यानेजमेन्ट लेभल जिम्मेवारी पाएका थिए ।