सुदर्शन प्रधानले अबको क्रान्ति पर्यावरणीय क्रान्ति नामक पुस्तक प्रकाशन गरेको ६ वर्ष भइसकेको छ । बुक आर्ट नेपालले प्रकाशन गरेको यस पुस्तकले नेपाल र नेपाली सन्दर्ममा नयाँ बहस उठान गरेको छ । यसभित्र पृथ्वी, मान्छे र आधारभूत आवश्यकतामा केन्द्रित भई लेखिएका लेखहरु छन् ।
मान्छेलाई हरेक दिन १६ लिटर अक्सिजन, ४०–५० लिटर पानी, ४ किलो इन्धन (दाउरा), २ किलो खाधान्न जस्ता वस्तुहरु चाहिन्छ । वार्षिक रुपमा झण्डै ६ हजार लिटर अक्सिजन, १६ हजार लिटर पानी, एक हजार किलो इन्धन (दाउरा), ८ सय किलो खाधान्न जस्ता वस्तुहरु चाहिन्छ ।
यस अनुपातमा ७० वर्ष बाँच्ने व्यक्तिको सन्दर्भमा हेर्दा करिव ४ लाख ८८ हजार लिटर अक्सिजन, ११ लाख ५० हजार लिटर पानी, ५ सय ११ क्वीन्टल खाधान्न र ४ सय २० मिटर कपडा चाहिन्छ ।
यतिखेर यो पृथ्वीमा ७ अर्व मान्छे छन् । उनीहरुलाई चाहिने यस प्रकारको अक्सिजन, पानी, खाधान्न, कपडा लगायतका प्रयोजनका सामाग्रीहरु यही प्रकृतिको दोहनबाट प्राप्त गर्ने हो । यो प्राप्त हुने कुराको पनि निश्चित सीमा हुन्छ ।
हरेक वर्ष विश्वमा १ करोड हेक्टर वन जंगल विनास भइरहेको तथ्यांक प्रस्तुत गर्दै लेखकले उक्त क्षेत्रलाई धर्ती माता सम्झेर जोगाउनु पर्छ भन्ने मत जवरजस्त रुपमा राखेका छन् । किनकि मान्छेलाई चाहिने सबै प्रकारका जडीबुटी, काठ, दाउरा, घाँसपात, फलफूल, कन्दमुल वन क्षेत्रबाटै प्राप्त हुन्छ ।
नेपाल हिमालका कारण विश्व पर्यटकहरु आउने गरेका छन् । एक जना मान्छेले हिमाल चढ्नु पर्दा न्युनतम १० जना मानिस चाहिने र तिनले खाने खाना, इन्धन, टेन्ट, विविध सामाग्री साथमा लिनुपर्ने भएकाले उनीहरुले हिमालमा गर्ने गतिविधिले प्रदुषण र अस्तित्व संकटमा पार्दैछन् भन्ने मत लेखकको छ । हिमाल र वन जंगल नभए नेपाल काला पत्थर भएको मरुभूमि हुने तथ्य उजागर गरिएको छ ।
हिमालको हिउसँग पहाडको जंगलको नजिकको साइनो रहेको र पहाडको जंगलसित तराइ र समुद्रको समेत सम्वन्ध रहेकोमा गहिरो ध्यानाकर्षण गराइएको पाइन्छ । यसो त बाढी पहिरोका सुत्राधार डंढेलो र मुसा हुने भएकाले हिमालका गिद्ददेखि तराईका सर्प जोगाउनु पर्ने निकै खोजपूर्ण विचार उल्लेख भएको पाइन्छ ।
हामीहरुले लेखपढ गर्ने कागजकै कुरा गर्दा लेखकका अनुसार १ केजी कागज उत्पादन गर्न झन्डै ५ केजी इन्धन, ५० लिटर पानी, ५० ग्राम केमिकल र ०५ ग्राम रङ आवश्यक पर्छ । उत्पादनभन्दा ५५.५५ गुणा प्रकृतिमा प्रदुषण गरेर कागज उत्पादन हुने गर्दछ ।
महिलाहरु आफ्नो अनुहार चम्काउन क्रिम पाउडर तथा गरगहना लगाउने गर्दछन्, तिनको निर्माणका लागि पनि भारी मात्रामा वातावरण प्रदुषण भएको छ भन्ने कुरा बुझ्न आवश्यक छ । रासायनिक प्रयोग गरी सुन, चाँदी, तामा, फलाम गलाउनु पर्दछ । यस्तै कलकारखानाजस्तै कलर ल्याव र सुनचाँदीका ज्यासलहरुले वातावरण बिगारेको पाइन्छ ।
युरोपेली युनियनबाट ५२ अर्व रुपैयाँ जंगल संरक्षण गर्ने देशलाई वितरण दिने कुरा सम्प्रेषण गर्ने पत्रकारलाई उद्धृत गर्दै लेखकले नेपालका जिल्ला वन कार्यालयहरुमा वरामद भएका झण्डै ५ अर्व बराबरको काठपात, गाडीवाहन, जडीबुटीहरुमा नजर पुर्याउन आवश्यक छ भन्ने कुरा सशक्त रुपमा उल्लेख गरेको पाइन्छ ।
दुई दशकअघिदेखि युरोपेली–अमेरिकी वैज्ञानिकले फलाम, तामा, कोइलाजस्ता वस्तुहरु ७०–८० वर्ष मात्र रहने चेतावनी दिदै आएका छन् । तीन सय वर्ष यता पृथ्वीको कुल ६८.२ प्रतिशत भूभाग रहेको समुद्रलाई प्रदुषण र दोहन गर्ने क्रम बढ्दो छ ।
मान्छेहरु सेवा सुविधाका दृष्टिले शहर वजारमा बस्न लालायित हुँदै गएका छन् । अमेरिकी प्राध्यापक ग्राउलका अनुसार १५० डेसिवल ध्वनीमा केही क्षण बस्यो भने मान्छेको कानको जाली फुटेर बहिरो बन्न सक्छ । १५५ डेसिवलले शरिरको छाला डढ्न सक्छ र १८० डेसिवल ध्वनीमा बसेमा मान्छेको मृत्यु हुन सक्छ ।
पटका, वम, बारुद यसको स्रोत हुन् । विश्व वातावरण र पर्यावरण प्रदुषणको निर्णायक भूमिका शस्त्रास्त्रको निर्माण, प्रयोग र विक्री वितरण भएकाले त्यसमा शक्ति सम्पन्न शासकहरुप्रति लेखक आक्रामक रुपमा प्रस्तुत भएको पाइन्छ ।
लेखकले प्रकृतिको दोहन गरी धनी हुनेहरु र धनी हुन चाहनेका कारण आजको पुस्ताको स्वास्थ्यमा परेको चिन्तादेखि भोलिको पुस्ताको अधिकार छिन्नेहरुप्रति निर्मम भई पृथ्वीलाई आमाको रुपमा माया गर्नपर्ने सन्देश प्रवाह गर्नु भएको छ । हरेक अक्षरमा लेखकले हिमाल, पहाड, वनजंगल र तराइको फाँटमा हुने सबैखाले जीवजन्तु र बोट विरुवाप्रति विश्वास र माया गरेको पाइन्छ ।
यो पुस्तक पढ्दै जाँदा देशभक्तिको भावना र भावी पुस्ताको चिन्ताहरु यत्रतत्र पाइन्छ । साथै ३५०० किलोमिटर दुरीमा फैलिएको हिन्दकुश पर्वतमालाले करिव दुई अर्व जनसंख्यालाई बचाएको विवरण रोचक छ ।
छ करोड वर्षअघि आजको मध्यभारतदेखि मध्यचीनसम्म टेथिस सागर थियो । त्यसको उत्तरी भागलाई लौरासिया र दक्षिणी भूभागलाई गोन्डवाना द्वीप भनिन्थ्यो ।
पृथ्वी उथलपुथल हुने क्रममा यी दुई दिप आपसमा मिल्नाले आज उत्तरी खण्डलाई तिव्वतीयन प्लेट र दक्षिणी खण्डलाई इण्डियन प्लेट भन्ने गरिन्छ । हिम श्रृंखलाहरुलाई त्यही मिलन विन्दु मान्ने गरिएको छ ।
एक अनुमानअनुसार अबको १० लाख वर्षपछि नेपालको सम्पूर्ण भू–भाग पूर्ण रुपले विलुप्त हुनेछ । किनकि तिव्वतीयन र भारतीय प्लेट सर्ने क्रम जारी छ ।
हाल अर्गानिक अभियन्ता बनेका लेखक सुदर्शन प्रधानसँग नारायणगढमा जन्मेको, वन्दीपुरमा कर्मथलो बनाएको र घलेगाउँ लगायत २२ गाउँलाई पर्यटकीय गाउँका रुपमा स्थापित गरेको र पञ्चायती व्यवस्थाका विरुद्ध बन्दुक उठाएको अनुभव छ ।
पछिल्ला दिनहरुमा उनले मातृसत्ताका पक्षमा वकालत गर्ने गरेको पाइन्छ । बह्मले देखेको कुरा निर्धक्कतापूर्वक लेख्ने लेखकको यो पुस्तकले यसै मर्मलाई केन्द्रमा राखी अबको क्रान्तिको निर्णायक महत्वको विषयलाई उठान गरेको देखिन्छ ।
जसलाई संयुक्त राष्ट संघले पनि दिगो विकास लक्ष्यहरुका रुपमा अगाडि सारिरहेको छ । यहाँ पठनीय संस्कृति नभएर मात्र हो, पुस्तकले खोजपूर्ण तथ्य र अनुभव पस्केको छ ।