जनादेश, काठमाण्डौ ।
समाज रुपान्तरणकी अभियन्ता टर्किस कानुन व्यवसायी तथा मानव अधिकारकर्मी एब्रु तिम्तिकको २३८ दिने लामो भोक हड्तालपछि दुखःद निधन भएको छ । युरोपियन युनियनका प्रवक्ताद्वारा जारी गरेको वक्तव्यमा उक्त दुखःद खबर सार्वजनिक गरिएको छ ।
एब्रु तिम्तिक टर्कीका हिरासतमा भोक हडतालमा ज्यान गुमाउने चार जनामध्ये पछिल्लो अधिकारकर्मी हुन् । यस अघि हेलेन बोलेक, इब्राहिम गोकेक र मुस्तफा कोकेकको टर्कीे हिरासतमा न्यायको आवाज उठाउँदै भोकहडतालमा उत्रदा दुःखद निधन भैसकेको छ ।
विश्व पुँजीवादको भीमकाय स्वरुप साम्राज्यवादको अन्त्य भैनसकेको तर विश्व कम्युनिष्ट समाजवादको पनि उदय हुने छनक नदेखिइरहेको यो अवस्थामा जर्जर बन्दै गएका पुराना शासनव्यवस्था टिकाउन जहाँका शासक पनि निरंकुश र बर्बर बन्दै गएका छन् । उनीहरुका हातमा ‘आतंकवाद’ भन्ने अस्त्र मात्र बाँकी छ ।
भारतीय उपमहाद्वीपमा शास्त्रअनुसार अयोध्याका रामका पालामा ‘राक्षस’ भने पछि जसलाई पनि मार्न छूट थियो । महाभारत कालमा ‘अधर्मी’ भनेपछि जसलाई पनि मार्न छुट भयो । अहिले आतंकवादका नाममा जसलाई जे गर्न पनि छूट छ । विश्वका शासकहरु आज यही मनोदशाबाट ग्रसित छन् । र, आफ्ना ‘म्याद कटिसकेका’ पुराना थोत्रा सत्ताहरु बन्दुकका नालमा टिकाइरहन चाहन्छन् ।
टर्किस सरकारले आफूलाई संसदीय प्रजातान्त्रिक गणतान्त्र भनी नाक फुलाउँछ । तर त्यही सत्ताभित्र सामाजिक न्याय र परिवर्तनका पक्षधरलाई कारागारमा भोकभोकै मार्न विवश पारिरहेको छ । यसले संसारलाई यस्ता बर्बर फासीवादीहरुका विरुद्ध नयाँ ढंगले आन्दोलन उठान गर्न प्रेरित गर्ने छ ।