जनादेश, काठमाण्डौ ।
कोरोना सङ्क्रमणबाट सिरहामा आज बिहान थप एक जनाको मृत्यु भएको छ ।
सिरहाको मिर्चैया नगरपालिका–६ का ५५ वर्षीय पुरुषको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।
भदौ १० गते कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रतिष्ठानको आइसियुमा उपचाररत उहाँको आज बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिनुभयो ।
उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित उहाँको यसअघि विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिए थियो ।
उपचारकै क्रममा उहाँको प्रतिष्ठानमा मृत्यु भएको प्रमुख यादवले बताउनुभयो । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या सिरहामा सात पुगेको छ ।