खस्यौली ।
रुपन्देहीको सैनामैना नगरपालिकाले वैकल्पिक विधिबाट सोह्रश्राद्ध अर्थात् पितृपूजन कर्म गर्न आग्रह गरेको छ । नगरपालिकामा रहेका प्रतिनिधिमूलक पण्डितहरुको आज भएको भेलाले यस वर्ष जजमानका घरघरमा गएर श्रोह्रश्राद्ध नगर्ने निर्णय गरेको छ ।
कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा देखिएपछि नगरपालिकाले सोह्रश्राद्धलाई भर्चुअल, अनलाइन वा अडियोका माध्यमबाट गर्न अनुरोध गरेको छ । स्रोह्रश्राद्धमा घरघरमा पण्डित बोलाएर पितृपक्षलाई तर्पण दिने परम्परागत प्रचलन छ । नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीको उपस्थितिमा भएको भेलाले नगरपालिकाका जुनसुकै वडा, टोल र गल्लीमा कोरोनाको सङ्क्रमण हुने सम्भावना भएकाले न्यूनीकरणका लागि वैकल्पिक विधिमा जान बाध्य भएको जनाएको छ ।
विभिन्न स्थानका पुरोहितमा समेत कोरोना सङ्क्रमण भेटिएको र सोह्रश्राद्धमा एक पुरोहित एक दिनमै धेरै ठाउँ जाने अवस्था रहेकाले वैकल्पिक विधि अपनाउन आग्रह गरिएको जनाइएको छ ।
उहाँले पुरोहित वा घरमा आउने आफन्तजनबाट समेत सङ्क्रमण हुने सम्भावना भएकाले पुरोहितलाई घरमा नबोलाउन र आफन्तजनलाई समेत घरमा नबोलाउन आग्रह गर्नुभयो
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्रश्राद्ध अर्थात् पितृपक्ष यस वर्ष भदौ १७ गतेदेखि शुरु हुँदैछ । पितृपक्षको पहिलो दिन प्रतिपदा तिथि श्राद्ध गरिन्छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो ।
सक्नेले यस पक्षका सोह्रै तिथिमा श्राद्ध गर्नुपर्छ । नसक्नेले पञ्चमीदेखि औँशीसम्म र यति पनि नसक्नेले पिताका तिथिमा श्राद्ध गर्नुपर्ने शास्त्रीय वचन छ ।
पं विष्णु ज्ञवालीले वैदिक सनातन धर्मअनुसार राष्ट्रलाई र विश्व मानवलाई सङ्कट परेका बेला पर्व, उत्सव वा सोह्रश्राद्ध जस्ता कर्म वैकल्पिक विधिबाट गर्न सबै पुरोहित सहमत भएको बताउनुभयो । उहाँले शास्त्रीय मतलाई आधार मानेर पनि अहिलेको अवस्थामा सोह्रश्राद्ध गर्न वैकल्पिक उपाय अवलम्बन गर्ने विषय सान्दर्भिक भएको स्पष्ट गर्नुभयो ।
यसअघि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वैकल्पिक विधिबाट सोह्रश्राद्ध गर्न आग्रह गरेको थियो । नगरपालिकामा केही दिनअघि मात्रै नौ जनामा कोरोना सङ्क्रमण भएपछि सङ्क्रमितको सङ्ख्या ५६ पुगेको छ । अहिलेसम्म रुपन्देहीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ ।