भारतमा एक दिनमै थपिए ७८ हजार संक्रमित
जनादेश, काठमाडौं ।
विश्वमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ८ लाख ६० हजार नाघेको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याङ्क अनुसार विश्वमा अहिलेसम्म ८ लाख ६० हजार २ सय ६६ जनाले कोरोना भाइरस संक्रमणकै कारण ज्यान गुमाएका छन् ।
त्यस्तै संसारभरमा संक्रमितको संख्या २ करोड ५८ लाख ८९ हजार भन्दा बढी छ । त्यस्तै संक्रमणमुक्त भैसकेकाहरुको संख्या १ करोड ८१ लाख ७१ हजार भन्दा बढी छन् ।
विश्वमा सबैभन्दा बढी संक्रमितको संख्या रहेको अमेरिकामा ६२ लाख ५६ हजार भन्दा बढी मानिस कोरोनाको चपेटमा परेका छन् । चौबीस घण्टामा अमेरिकामा ४० हजार नयाँ बिरामी थिएका छन् । त्यहाँ अहिलेसम्म १ लाख ८८ हजार ८ सय ७० जनाले संक्रमणकै कारण ज्यान गुमाएका छन् ।
त्यस्तै अमेरिकालाई पच्छ्याइरहेको ब्राजिलमा चौबीस घण्टामा ४१ लाख नयाँ संक्रमित संख्या थपिँदै कुल संक्रमितको संख्या ३९ लाख ५२ हजार भन्दा बढी पुगेको छ । त्यहाँ अहिलेसम्म १ लाख २२ हजार भन्दा बढीले ज्यान गुमाएका छन् ।
सर्वाधिक संक्रमण दर भारतमा
कोरोना संक्रमण र भाइरससम्बद्ध मृत्यु संख्यामा विश्वमा तेश्रो स्थानमा रहेको भारतमा संक्रमण दर सर्वाधिक देखिएको छ । गत चौबीस घण्टामा भारतमा सर्वाधिक अर्थात् ७८ हजार भन्दा बढी संक्रमित थपिएका छन् । एकदिनमै सर्वाधिक नयाँ संक्रमित थपिएको भारतमा कुल कोरोना संक्रमितको संख्या ३७ लाख ६६ हजार नाघेको छ ।
भारतमा अहिलेसम्म ६६ हजार भन्दा बढीले भाइरस संक्रमणकै कारण ज्यान गुमाएका छन् ।