जनादेश, काठमाण्डौ ।
नेपालमा आजैमात्र कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ७५ वर्षीय एक जना पुरुष र २० वर्षीया एक जना महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।
ती बिरामी मधुमेह, उच्च रक्तचाप र मिर्गौला तथा बाथरोगबाट पीडित रहेको बताइएको छ । दुवै जनाको आइसियूमा उपचार भइरहेको थियो । त्यस्तै रुपन्देहीमा पनि एक कोरोना संक्रमितको आज मृत्यु भएको छ । पर्सा र चितवनमा पनि थप एक-एक जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।
नेपालमा अहिलेसम्म ४० हजार ५ सय भन्दा बढी कोरोना संक्रमित भैसकेका छन् भने २ सय ४४ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।