सत्तारुढ नेकपाको सचिवालय बैठक बिहीवार बस्दै – Janadesh Daily | ePaper

सत्तारुढ नेकपाको सचिवालय बैठक बिहीवार बस्दै


जनादेश, काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय वैठक भोलि बिहीवार बस्दै छ । समसामयिक विषयमा छलफल गर्नका लागि बस्न लागेको भनिएको उक्त वैठकका एजेण्डहरु भने सार्वजनिक गरिएका छैनन् । सञ्चार माध्यममार्फत् चर्चा भएका विषयहरु मुख्य गरी सरकारसँग सम्बन्धित छन् ।

यी एजेण्डाहरुमा सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाको संभावित बिदाइ, पार्टी उपाध्यक्ष वामदेव गौतमको राष्ट्रिय सभा सदस्यका लागि सिफरिससँगै मूलतः मन्त्रीमण्डलमा हेरफेर आदि रहेका छन् । यसका साथै पार्टी विवाद समाधान संयन्त्रले बुझाएको प्रतिवेदनमाथि विचार विमर्श पनि रहने राजनीतिक विश्लेषकहरुले बताएका छन् ।

सरकारको काम कारवाहीप्रतिको असन्तुष्टिलाई लिएर पार्टीको आन्तरिक विवाद बल्झिएको कुरा नै यस पटकको बसाइको विषय बन्ने देखिएको छ । सरकारमा प्रभावकारी रुपमा कार्य सम्पादन गर्नसक्ने क्षमता रहेका नेताहरु सरकार बाहिर रहँदा यो समस्या उब्जन गएकाले यस पटकको वैठकमा ती समस्याहरुको समाधानार्थ योग्य नेताहरु सरकारमा पठाउने विषयमा जमेर छलफल हुने देखिएको छ ।

अर्थमन्त्री युवराज खतिवडाको बहिर्गमनसँगै पार्टीका प्रभावशाली नेता वामदेव गौतमको चर्चाले यही कुराको सम्बोधनतर्फ इंगित गरेको छ । यद्यपि यसका बारेमा मत÷विमत सञ्चार माध्यमबाट बाहिरिइरहेका छन् । हरेक पटकको सरकारसँग सम्बन्धित एजेण्डा उठ्ने बित्तिकै नेता वामदेव गौतमको आवश्यकता बोध भैरहने तर सम्बोधन भने कहिले पनि नहुने भैरहेकाले यसपटकको सचिवालय वैठकमा यो कुरा पार्टी निर्णय, नीति र नैतिकतासँग पनि जोडिएर आउने देखिएको छ ।

नेता वामदेव गौतम स्वयम्ले पनि यसपटक पार्टीले सरकारमा हुने भनिएको आफू र आफ्नो जिम्मेवारीबारे मूर्त निर्णय लिने छ भन्ने कुरा कडाइका साथ राखेका छन् । नेकपाका नेता तथा कार्यकर्ताहरुले नेता गौतमको जिम्मेवारीको कुरालाई लिएर हँसीमजाक नबनाउन समेत शीर्ष नेताहरुलाई सामाजिक सन्जाल मार्फत् सतर्क गराएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्