बालुवाटारमा तेश्रो विकल्पको खोजीः विष्णु पौडेल बन्न सक्छन् अर्थमन्त्री – Janadesh Daily | ePaper

बालुवाटारमा तेश्रो विकल्पको खोजीः विष्णु पौडेल बन्न सक्छन् अर्थमन्त्री


ओली निकटको निष्कर्ष- बामदेवलाई यस पटक विच्क्याए सधैं टाढा हुनसक्छन्

जनादेश विश्लेषण ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीलाई पटक पटक साथ दिँदै आएका उपाध्यक्ष बामदेव गौतमले राष्ट्रियसभामा नगइ नछाड्ने अडान लिएपछि बालुवाटारमा वैकल्पिक समाधानबारे विभिन्न विकल्पहरु प्रस्ताव भएका छन् ।

प्रधानमन्त्री ओली समूहका नेताहरुले बामदेवलाई चिढ्याइ राख्न नहुने बरु विकल्पमा जान सुझाव दिएपछि प्रधानमन्त्रीले अन्य विकल्पबारे सुझाव मागेको बताइन्छ । बामदेवलाई राष्ट्रियसभामा लैजाँदा आफ्ना विश्वासपात्र अर्थमन्त्री खतिवडाको पद गुम्ने र बामदेवले भनेको नमान्दा उनी सधैंका लागि विच्किने अवस्था आएपछि ओलीलाई धर्म संकट आइलागेको छ ।

बामदेव गौतमले राष्ट्रियसभामा मात्र होइन सरकारमै गएर ओलीलाई सघाउने इच्छा व्यक्त गरेपछि निर्णय लिन ओलीलाई झनै कठीन बनेको छ । कसैलाई पनि नचिढ्याइकन विश्वास पात्रहरुलाई वरीपरि नै राख्ने रणनीति अन्तर्गतको सुझाव माग भएपछि ओली निकट नेताहरुले तेश्रो विकल्प अघि सारेको बताइएको छ ।तेश्रो विकल्पकोरुपमा ओलीका सर्वाधिक नजिकका मध्ये मानिने नेकपा महासाचिवसमेत रहेका विष्णु पौडेललाई अर्थमन्त्रालयको जिम्मेवारी दिने र वहालवाला अर्थमन्त्री खतिवडालाई प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त गर्ने सुझाव आएको श्रोतले बताएको छ । यसो गर्दा बामदेवालाई राष्ट्रियसभामा सिफारिश पनि गर्न सकिने र अर्थमन्त्रालय ओली कित्तामै रहने उक्त समूहको बुझाई छ ।

यस अघि नेकपाको आन्तरिक विवाद मिलाउन गठित कार्यदलका सदस्य माधव नेपाल पक्षीय मानिने सुरेन्द्र पाण्डेलाई अर्थमन्त्रीमा ल्याइने चर्चा पनि चलेको थियो । तर ओली आफू निकटबाहेक अरुलाई अर्थमन्त्रालय नदिने पक्षमा दृढ रहेको बताइएको छ । तर बामदेवले पनि सोही पदको आकाँक्षा राखेपछि ओली समूहले तेश्रो विकल्पबारे विमर्स थालेको हो ।

बुधबार बालुवाटारमा भएको भेटमा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो समूहभित्र प्रस्तावित विकल्पको सुँइको दिएका छन् । यद्यपि ओली र प्रचण्डबीच मन्त्रालय विभाजन र बामदेवलाई दिने जिम्मेवारीबारे एकमत हुन नसकेको बताइएको छ । पद विभाजनमा माधव नेपाल पक्षको पनि सहमति लिएर अघि बढ्नुपर्ने प्रचण्डको भनाई रहँदै आएको छ ।

तर ओलीले बैकल्पिक प्रस्तावलाई सचिवालयमा छलफल गराउन संकेत दिइसकेको बालुवाटार श्रोत बताउँछ । यद्यपि दुई अध्यक्ष र सचिवालयभित्र सहमति जुटाएर मात्र यो विकल्पले निर्णयकोरुपमा टुङ्गो पाउने बालुवाटार श्रोतले स्पष्ट पारेको छ ।

यो पनि पढ्नुस् – बामदेव गौतमको सिंहदरबार आकाँक्षा, बुधबार बालुवाटार र खुमलटारको दौडधुप

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्