एजेन्सी ।
संसारमा कोरोना भाइरसका बिरामी बढ्दै जाँदा औषधिको खोजी पनि व्यग्ररुपमा भैरहेको छ । खोप र कोरोनाविरुद्धको औषधिको खोजीमा संसारका सबैजसो देशका शोधकर्ता बैज्ञानिकहरु लागिरहेका छन् ।
यसैबीच विश्व स्वास्थ्य संगठनले दुई प्रकारका स्टेरोइड हर्मोन कोरोना संक्रमितको ज्यान बचाउन उपयोगी हुन सक्ने बताएको छ । गम्भीर अवस्थाका कोरोनाका बिरामीलाई स्टेरोइड हर्मोन दिन सके उनीहरुलाई सहज हुने एक प्रतिवेदनलाई विश्व स्वास्थ्य संगठनले स्वीकार गरेको हो ।
बेलायतको अक्सफोर्ड विश्वविद्यालयका शोधर्कताहरुले विभिन्न अस्पतालमा कोरोनाका विरामी माथि यसको परीक्षण गरेका थिए । रकभरी ट्रायल भनिएको यो शोधमा ८ मध्ये १ गम्भीर विरामीको ज्यान डेक्सामेथासोन नामक स्टेरोइड दिएर बचाउन सफल भएको उनीहरुको निष्कर्ष छ ।
त्यस्तै अन्य शोध ट्रायलमा हाइड्रोकार्टिसोन नामको अर्को स्टेरोइड हर्मोनले पनि कोरोनाका विरामीको उपचारमा उल्लेख्यरुपमा सकारात्मक भूमिका खेलेको पाइयो । हाइड्रोकार्टिसोन सस्तो र सहजै उपलब्ध हुने स्टेरोइडमा पर्छ ।
अमेरिकन मेडिकल एसोसिएशनको जर्नलमा सात ट्रायलका नतिजा प्रकाशित गरिएको छ । र दुई प्रकारका स्टेरोइडले कोरोना उपचारमा महत्वपूर्ण काम गरेको उल्लेख छ । यी स्टेरोइडले गम्भीर अवस्थाका बिरामी मृत्यु हुने खतरा २० प्रतिशतले घटाउने समेत उनीहरुको निष्कर्ष छ ।
यो अध्ययनका लेखक तथा इङ्ल्याण्डको ब्रिस्टल विश्वविद्यालयका महामारी सम्बन्धि प्रोफेसर जोनाथन स्टर्नले स्टेरोइड सस्तो र सहजै उपलब्ध हुने बताएका छन् । र यी स्टेरोइडले सबै उमेर समूहका कोरोना संक्रमितको उपचारमा सकारात्मक नतिजा दिएको उनको दाबी छ ।
रिकभरी ट्रायल ब्राजिल, फ्रान्स लगायतका विभिन्न देशमा गरिएको थियो । अहिले नै यी स्टेरोइडको प्रयोग विभिन्न देशमा उपचारमा प्रयोग गर्न थालिसकिएको एन्थोनीले बताए ।
यो पनि पढ्नुस् –
विश्व कोरोना संकटः ८ लाख ७२ हजारको मृत्यु, २ करोड ६४ लाख ६६ हजार संक्रमित
भारतमा हरेक दिन नयाँ रेकर्ड, चौबीस घण्टामा थपिए ८४ हजार नयाँ संक्रमित