जनादेश, काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणमा संलग्नलाई कडा कारवाही गर्न अध्यादेशमार्फत १५ दिनभित्र नयाँ कानून ल्याउने प्रतिवद्धता जनाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा एसिड आक्रमणबाट पीडित, सरोकारवाला मन्त्रालयका मन्त्री तथा प्रतिनिधिहरुसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले एसिड आक्रमण गर्नेलाइ कडा कारवाही गर्ने गरी कानून ल्याउन लागेको बताएका हुन् ।
एसिड आक्रमणलाइ जघन्य अपराध मानी यसमा संलग्नलाई कारवाही गर्न १५ दिनभित्र कानूनको मस्यौदा तयार हुने उनको प्रतिवद्धता छ । संसद अधिवेशन अन्त्य तथा कोरोना महामारी भएकोले अध्यादेशमार्फत कानूनको मस्यौदा तयार गरिने प्रधानमन्त्रीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले एसिड आक्रमणमा संलग्न व्यक्तिको सम्पत्ति रोक्का गरी उपचार र क्षतिपूर्ति भराउने व्यवस्था समेत कानूनमा हुने बताए । प्रधानमन्त्री ओलीले आक्रमणमा परेको पीडितलाई तत्काल अस्पताल पुर्याउन असहयोग गर्नेलाई पनि कारवाहीको भागिदार बनाउने गरी कानूनमा व्यवस्था गरिने तयारी छ ।
एसिड आक्रमणबाट पीडित भएकालाइ स्वास्थ्योपचारका लागि त्रिवि शिक्षण अस्पताल, बीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुरस्थित बोन अस्पताललाई डेडिकेटेड युनिट स्थापना गरि सम्पूर्ण खर्च सरकारले गर्ने ब्यवस्था गर्न लागिएको छ ।
नयाँ कानूनमा उमेर पुगेका वा पढ्न इच्छा गर्ने पीडितहरुको पढाइको व्यवस्था पनि सरकारले गर्ने छ । एसिड आक्रमणमा परेकाहरुलाइ रोजगारी, व्यवसाय र जीविकाको प्रवन्ध पनि सरकारले गर्ने प्रधानमन्त्रीको भनाइ छ ।
बालुवाटार छलफलमा एसिडपीडित १२ जनासहित गृहमन्त्री रामबहादुर थापा, कानुनमन्त्री शिवमाया तुम्बाहम्फे, महान्यायाधिवक्ता अग्नि खरेल, शिक्षा, स्वास्थ्य, उद्योग र अर्थ मन्त्रालयका सचिव समेतको उपस्थिति थियो ।
नेपालमा एसिड आक्रमणका १७ घटनामा १९ जना पीडित रहेका छन् ।