जनादेश, काठमाण्डौ ।
काठमाडौँ उपत्यकामा तीन हप्तापछि पुनः चहलपहल शुरु भएको छ ।
कोभिड–१९ सङ्क्रमण जोखिम रोक्न तीन साताअघि जारी गरिएको निषेधको आदेशमा केही खुकुलो बनाइएपछि आजदेखि यहाँको बजार, कलकारखाना, उद्योग तथा व्यवसाय चलायमान हुन थालेका हुन् ।
सवारीसाधन जोरबिजोर प्रणालीअनुसार सञ्चालनमा आएको छ । सङ्क्रमण रोक्न गएको चैत ११ गते सरकारले जारी गरेको बन्दाबन्दीपछि चार महिना मुलुकको आर्थिक क्षेत्र ठप्प हुन पुगेको थियो ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जनजीवन प्रभावित भएकाले आदेशमा केही हेरफेर गरी खुकुलो बनाइएको र आर्थिक क्षेत्रलाई सहजीकरण गरिएको बताए ।
काठमाडौँ उपत्यकामा निषेधाज्ञाका कारण जनजीवन प्रभावित भएको निष्कर्ष निकाल्दै स्थानीय प्रशासनले आजदेखि लागू हुने गरी केही हेरफेर गरेर नयाँ आदेश जारी गरेको हो ।
उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) मा उक्त आदेश जारी भएपछि व्यापार, व्यवसाय तोकिएको समयमा खुल्न थालेका छन् । मानिस र यातायातका साधनको चहलपहल ह्वात्तै बढेको छ ।
निषेधाज्ञा जारी भएपछि भदौ ४ गतेबाट यहाँको व्यवसाय ठप्प भएको थियो भने अत्यावश्यक बाहेकको आवागमनमा समेत रोक लगाइएको थियो । आजदेखि भने बढी जमघट हुने क्षेत्रबाहेकका गतिविधि सञ्चालनमा सहजीकरण गरिएको छ । रासस