जनादेश, काठमाडौं ।
चौतर्फी विवाद र विरोधकाबीच नेकपाले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाएको छ । प्रत्यक्ष चुनाव हारेकालाई राष्ट्रियसभामा लैजानु अनैतिक भएको विरोध गर्नेहरुको तर्क छ ।
बामदेवले विहीबार राष्ट्रियसभा सदस्यको शपथ लिएपछि सञ्चार माध्यम र सामाजिक सञ्जालमा गौतममात्र होइन नेकपाको पनि आलोचना भैरहेको छ ।
बामदेवको संसदयात्रामा प्रश्न गर्नेहरुलाई माधव नेपालका सल्लाहकारले जवाफ फर्काएका छन् । नेकपा विदेश विभागका उपप्रमुख तथा पूर्वप्रधानमन्त्री माधव नेपालका तत्कालीन प्रेस सल्लाहकार विष्णु रिजालले पार्टी निर्णयको बचाउ गरेका हुन् ।
नेकपा केन्द्रीय सदस्य समेत रहेका रिजालले ट्वीटरमा लेखेका छन्, “राष्ट्रियसभा प्रत्यक्ष जननिर्वाचित संस्था होइन। यसमा विविध कारणले प्रत्यक्ष निर्वाचित हुन नसकेका, आवश्यक ठानिएका, राजनीतिमा योगदान गरेका र निर्वाचक पार्टी-सरकारलाई उपयुक्त लागेका मानिसहरू रहने हो।” ।
बामदेवलाई राष्ट्रियसभामा लैजानु नाजायज नरहेको तर्कसहित उनले अगाडि भनेका छन्, “कोही प्रतिनिधिसभामा जान समर्थ भएन भने राष्ट्रियसभाका लागि स्वत: अयोग्य हुँदैन होला।” ।
राष्ट्रियसभा प्रत्यक्ष जननिर्वाचित संस्था होइन। यसमा विविध कारणले प्रत्यक्ष निर्वाचित हुन नसकेका, आवश्यक ठानिएका, राजनीतिमा योगदान गरेका र निर्वाचक पार्टी-सरकारलाई उपयुक्त लागेका मानिसहरू रहने हो। कोही प्रतिनिधिसभामा जान समर्थ भएन भने राष्ट्रियसभाका लागि स्वत: अयोग्य हुँदैन होला।
— Bishnu Rijal (@bishnurijal1) September 18, 2020
बामदेवलाई राष्ट्रियसभा सदस्य बनाइएपछि सञ्चार माध्यम र सामाजिक सञ्जालमा नेकपाको नियतमाथि नै प्रश्न उठाइएको छ । राजनीतिक विश्लेषक विष्णु सापकोटाले बामदेवलाई बधाई दिनेहरु उनकै मार्गका यात्री रहेको भन्दै व्यङ्ग्य गरेका छन् ।
आज बामदेवलाइ बधाई दिन अभिशप्त जति पनि व्यक्ति छन्, तिनले आफ्नो बधाइ संदेश मार्फ़त भन्न चाहेका यति मात्र हुन- कृपया मबाट देशको लागी केही पनि आश नगर्नू।म स्वयं बामदेवको लाचार छायाँ मात्र हूँ।
— Bishnu Sapkota (@Bishnusapkota) September 17, 2020
यो पनि हेर्नुस् –
नेकपाको नयाँ बहसः बामदेव र नारायणकाजी मन्त्री बन्न पाउने कि नपाउने
अन्तिम समयमा आएर पछि सर्यो पेरिस डाँडा बैठक, स्थगनको खास कारण यस्तो