ओली पक्षका नेताहरु संसद विघटनको बचाउमा, शंकर पोखरेलको तर्क यस्तो – Janadesh Daily | ePaper

ओली पक्षका नेताहरु संसद विघटनको बचाउमा, शंकर पोखरेलको तर्क यस्तो


जनादेश, सोसल मिडिया वाच ।
प्रधानमन्त्री केपी ओलीले संसद विघटनको निर्णय लिएपछि चौतर्फी विरोध भैरहँदा पनि ओली पक्षीय नेताहरुले यसको बचाउमा विभिन्न तर्क अघि सारिरहेका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले ओलीलाई सरकार र पार्टीमा काम गर्न नदिएपछि ताजा जनादेशका लागि संसद् विघटन गरेर मध्यावधि निर्वाचनमा जाने कदम चालिएको तर्क गरेका छन् ।

ओली गुटका पोखरेलले संसद् विघटन गरेर मध्यावधि निर्वाचनको विकल्प बाध्यात्मक रहेको दाबी सामाजिक सञ्जालमा गरेका हुन् ।

पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डको प्रस्ताव र अविश्वास प्रस्ताव दर्ताको चलखेल रोक्ने प्रयास असफल भएपछि प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको पनि पोखरेलको दाबी छ ।

‘पार्टी एकताको मर्म विपरितको समीकरण, पार्टी विधानको व्यवस्था विपरित पहिलो वरियताका अध्यक्ष तथा प्रधानमन्त्रीका विरुद्धको संगिन आरोपसहितको अर्का अध्यक्षको एकल प्रस्ताव र दलभन्दा बाहिरबाट अविश्वास प्रस्ताव दर्ताको चलखेल रोक्ने प्रयास असफल भएपछिको वाध्यात्मक कमदका रूपमा ताजा जनादेशमा जाने निर्णय आएको हो,’ पोखरेलले फेसबुकमा लेखेका छन्, ‘पुरानो जनादेशको सान्दर्भिकता स्थापित नभएको अवस्थामा नयाँ जनादेश खोजी लोकतन्त्रमा स्वभाविक मानिन्छ ।’

पार्टी एकताको मर्म विपरितको समिकरण,पार्टी विधानको व्यवस्था विपरित पहिलो वरियताका अध्यक्ष तथा प्रधानमन्त्रीका विरुद्धको…

Posted by Shankar Pokhrel on Sunday, 20 December 2020

 

पोखरेलले सडक आन्दोलनको बाटोले प्रतिकृयावादी र दक्षिणपन्थीलाई फाइदा पुग्ने भएकाले गम्भीर र जिम्मेवार बन्नसमेत आग्रह गरेका छन् । ओलीले संसद विघटन गरेपछि नेकपासहित प्रमुख तीन दलले सबै मोर्चाबाट सरकारका कदमको विरोध गर्ने र अधिनायकवादी व्यवहारलाई परास्त गर्ने निर्णय गरेका छन् ।

आज बिहान बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संसद् विघटन गरेकी हुन् । संसद् विघटनपछि चौतर्फी विरोध र प्रदर्शन सुरु हुन थालेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्