काठमाडौंमा प्रदुषण घातक तहमा, मर्निङ वाक नगर्न सुझाव, कल कारखाना बन्द गरिँदै – Janadesh Daily | ePaper

काठमाडौंमा प्रदुषण घातक तहमा, मर्निङ वाक नगर्न सुझाव, कल कारखाना बन्द गरिँदै


जनादेश, काठमाडौं ।

काठमाडौंमा वायु प्रदूषणको स्तर भयावह तहमा पुगेको छ । प्रदुषण घातक सत्रमा पुगेपछि केही दिन मर्निङ वाकमा ननिस्किन स्वास्थ्य मन्त्रालयले अपील नै गरेको छ ।

मन्त्रालयले केही दिन यता मौसममा आएको परिवर्तनसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण निकै बढेको हुँदा सावधानी अपनाउन अपिल गरेको हो ।

वायु प्रदूषण अत्याधिक बढेको हुँदा मानव स्वास्थ्यमा असर पर्नसक्ने अवस्थालाई मध्यनजर गर्दै सचेत रहन सबैमा मन्त्रालयले अपिल गरेको हो ।

मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै हालको वायु प्रदूषणको अवस्थालाई मध्यनजर गरेर आकस्मिक रुपमा निम्नअनुसारका काम गर्न सरोकारवालाहरु सबैमा अनुरोध गरेको छ ।

काठमाडौं उपत्यकामा वायु प्रदूषण अत्यधिक बढेसँगै वातावरण विभागले अत्यावश्यक कामबाहेक साँझ र बिहान बाहिर ननिस्कन आग्रह गरेको छ ।

घरबाहिर निस्कनै परेमा विशेष सावधानी अपनाउनसमेत विभागले आग्रह गरेको छ ।

विभागले फोहोरजन्य प्लास्टिकहरूका कारण थप प्रदूषण बढ्ने भएकाले नबाल्न पनि अनुरोध गरेको छ । यस्तै अवस्था भएपछि गत वर्ष भारतको राजधानी नयाँ दिल्लीवासीलाई त्यहाँको सरकारले ५० लाख मास्क वितरण गरेको थियो । वायु प्रदूषणले गम्भीर स्वास्थ्य संकट सिर्जना गर्न थालेपछि दिल्ली सरकारले जनस्वास्थ्य संकटकाल समेत घोषणा गरेको थियो ।

रियल टाइम एयर क्वालिटी इन्डेक्स (एक्यूआई)का अनुसार काठमाडौं उपत्यकाको वायु प्रदूषण जोखिमको तहमा पुगेको छ । एक्यूआईका अनुसार अहिले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा वायु प्रदूषण सूचकाङ्क न्यूनतम ३ सय ५९ छ भने अधिकतम ४ सय ८ छ । एक्यूआईमा ३ सय १ भन्दा माथिको संख्या देखिनु भनेको उच्च जोखिमको संकेत हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्