जनादेश अपडेट ।
आज देशका अधिकांश क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायु तथा स्थानीय वायुको सामान्य प्रभावका कारण मौसम बदली भएको हो ।
अहिले देशको पहाडी भू–भागमा आंशिक बदली छ भने तराईमा हल्का हुस्सु–कुहिरो लागेको छ ।
बिहीबार दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र लुम्बिनि प्रदेशका तराईका भू–भागमा आंशिक बदली हुनेछ ।
देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । प्रदेश १ र गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
यस्तै राति प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै भू–भागमा आंशिकदेखि सामान्य बदली रही अरु क्षेत्रमा आंशिक बदली हुने देखिन्छ । प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
यसैबिच देशका विभिन्न भू–भागमा तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भू–भागमा बिहानको समयमा बाक्लो हुस्सु–कुहिरो समेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।