काठमाडौंमा आज प्रचण्ड-नेपाल समूहको शक्ति प्रदर्शन, यस्तो छ ओली तर्साउने रणनीति – Janadesh Daily | ePaper

काठमाडौंमा आज प्रचण्ड-नेपाल समूहको शक्ति प्रदर्शन, यस्तो छ ओली तर्साउने रणनीति


जनादेश वाच ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहले आज काठमाडौंमा शक्ति प्रदर्शनमा गर्दैछ । प्रतिनिधिसभा विघटनको असंबैधानिक कदमविरुद्ध जनमत तयार गर्न र केपी ओलीको सत्तालाई तर्साउन कम्तिमा २ लाख कार्यकर्ता काठमाडौंमा उतार्ने तयारी प्रचण्ड-नेपाल समूहको छ ।

विहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा पत्रकार सम्मेलन गर्दै केन्द्रीय संघर्ष समितिका सह-संयोजक तथा प्रवक्ता योगेश भट्टराईले शुक्रबार गरिने विरोध सभाको तयारी पुरा भएको जानकारी दिए ।

आजको सभालाई अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायत वरिष्ठ नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

र्‍याली कहाँ कहाँबाट
स्थायी कमिटी सदस्यसहितका नेताहरुको नेतृत्वमा माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र क्याम्पस, शान्तिबाटिका, वाल्मिकि क्याम्पस लगायत स्थानबाट र्‍याली निस्किने छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट निस्किएका जुलुश रत्नपार्कमा जम्मा भई मुख्य जुलुशमा परिणत हुने र कार्यक्रम शान्तिपूर्ण हुने नेता योगेश भट्टराइको भनाई छ ।

नेकपा प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले प्रतिनिधि सभा सुचारु नहुञ्जेलसम्म संघर्षका कार्यक्रम जारी रहने बताए ।

श्रेष्ठले संघर्षका कार्यक्रमले संवैधानिक अंगलाई संविधानले निर्दिष्ट गरेको भुमिका स्वतन्त्रतापूर्वक निर्वाह गर्नको निम्ति वातावरण निर्माण हुने समेत दाबी गरे ।

नारा मर्यादित हुनुपर्ने
प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा हुने जुलुसलाई मर्यादित बनाउँदै निर्धारित नारा मात्र लगाउनुपर्ने निर्देशिका जारी गरेको छ ।

केन्द्रीय संघर्ष समितिले सभालाई पनि व्यवस्थित बनाउन आग्रह गरेको छ । स्थानीय रत्नपार्कमा शुक्रबार हुने विरोधसभामा काठमाडौँ उपत्यका र आसपासका जिल्लाका जनसमुदायको सहभागिता हुने नेकपाले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्