कोटेश्वर–कलङ्की सडकमा ट्राफिक बत्ती जडान गरिने – Janadesh Daily | ePaper

कोटेश्वर–कलङ्की सडकमा ट्राफिक बत्ती जडान गरिने


काठमाडौँ, १२ माघ । सडक विभागले चक्रपथको विस्तार भइसकेको खण्डमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । विभागले दुई वर्ष पहिले चीन सरकारका आर्थिक सहयोगमा विस्तार भएको कोटेश्वर–कलङ्की सडकमा सात स्थानमा बत्ती राख्न लागेको हो ।

विभागले सवारीसाधनको चाप बढी भएका र पैदलयात्रु बढी भएका सडकमा ट्राफिक बत्ती जडान गर्दै आएको छ । यस सडकमा चालू आवभित्रै सम्झौता गर्ने योजना रहेको विभागका सडक सुरक्षा तथा ट्राफिक शाखाका प्रमुख कृष्णनाथ ओझाले जानकारी दिनुभयो ।

चक्रपथका विभिन्न खण्डमा बत्ती राख्न चालू आवमा बजेट नभए पनि अर्को वर्ष निरन्तर हुने गरी सम्झौता गरिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यो वर्ष ठेक्का सम्झौता भइसकेर अर्को वर्ष बनिसक्नेछ ।”

सरकारले दुई वर्ष पहिलेदेखि उपत्यकाका विभिन्न सडकमा र जेब्राक्रसिङमा ट्राफिक बत्ती जडान गर्दै आएको छ । बढी सवारी चाप भएका ठाउँमा बत्तीका कारण सवारीसाधन व्यवस्थापन गर्न सजिलो भएको देख्न सकिन्छ । विभागले चालू आवभित्रै जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान गर्दैछ ।

उपत्यकाका बढी सवारी चाप र यात्रुले सडक पार गर्ने स्थान छनोट गरी बत्ती जडान भइरहेको विभागले जनाएको छ । पाँच चोक र त्यहाँका आठ जेब्राक्रसिङमा बत्ती जडान गरिने सवारी व्यवस्थापन तथा ट्राफिक शाखाका प्रमुख ओझाले जानकारी दिनुभयो । ती बत्ती जडानका लागि रु एक करोड १५ लाखमा ठेक्का सम्झौता भएको छ । विभागले अहिले बत्ती जडान गरिरहेका स्थानमध्ये थापाथली र जडीबुटीमा पहिले पनि बत्ती रहेका थिए । पहिले थापाथलीमा एउटा निजी सस्ंथाले परीक्षणका लागि आफ्नो खर्चमा बत्ती जडान गरेको थियो । सो प्रविधि सफल नभएपछि संस्थाले बत्ती निकालेर लगेको उहाँले जानकारी दिनुभयो ।

तीनकुने–सूर्यविनायक सडक विस्तार गरेको जापान अन्तरराष्ट्रिय सहयोग नियोग ९जाइका० ले जडीबुटीमा बत्ती जडान गरेको थियो । बत्तीले काम नगरेको र पुरानो प्रविधि भएकाले त्यसका ठाउँमा नयाँ प्रविधिको बत्ती जडान गर्न लागिएको उहाँले बताउनुभयो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्