बाबुरामको चेतावनी- ओली-विद्याको प्रतिगमनमा प्रतिरोध नगरी उपदेश दिनेको हिसाव इतिहासले राख्नेछ – Janadesh Daily | ePaper

बाबुरामको चेतावनी- ओली-विद्याको प्रतिगमनमा प्रतिरोध नगरी उपदेश दिनेको हिसाव इतिहासले राख्नेछ


जनादेश सोसल मिडिया वाच ।

जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले संवैधानिक अंग र आयोगहरुको असंवैधानिक नियुक्ति ओली प्रतिगमनको अर्को किस्ता मात्रै भएको भन्दै प्रतिरोधको आह्वान गरेका छन् ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले बुधबार गरेको संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरुको नियुक्ति विरोध गर्दै अध्यक्ष भट्टराईले यस्तो आह्वान गरेका हुन् ।

बुधबार साँझ ट्वीट गर्दै भट्टराईले जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने उच्चतम अंग प्रतिनिधिसभा भंग गरेर शुरु भएको प्रतिगमन अब किस्ता किस्ता हुँदै सम्पूर्ण प्रतिक्रान्तितिर तीब्र बेगमा अघि बढेको बताएका छन् ।

उनले भनेका छन्- ‘संवैधानिक अंग र आयोगहरूको असंवैधानिक नियुक्ति ओली प्रतिगमनको अर्को किस्ता मात्रै हो। जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने उच्चतम अंग प्रतिनिसभा भंग गरेर शुरू भएको प्रतिगमन अब किस्ता किस्ता हुँदै सम्पूर्ण प्रतिक्रान्तितिर तीब्र वेगमा अघि बढेको कटुसत्य बुझ्न र प्रतिवाद गर्न ढिलो नगरौं ।’

 

त्यस्तै अर्को ट्वीटमा बाबुरामले अहिलेको प्रतिगमनको प्रतिरोध गर्न प्रतिपक्षी दलहरु बढी जुट्नुपर्नेमा जोड दिएका छन् ।

बाबुरामले लेखेका छन्, ‘ओली-विद्या संविधान र लोकतन्त्रको हत्या गरिरहने तर प्रतिपक्षी दलहरू चुनाव र सत्ताको र्याल काडेर बसिरहने हो भने भोलि इतिहासले ओली-विद्यालाई कम प्रतिपक्षी दलहरूलाई बढी दोषी ठहर्याउनेछ! फासिवादको बादल मडारिइरहेको वेला प्रतिरोध नगरी उपदेश छाटेर बस्नेहरूको हिसाब पनि इतिहासले राख्नेछ!’

यस अघि बाबुरामको जनता समाजवादी पार्टीले संसद विघटनविरुद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेको छ । यसकै विरोधमा नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहले देशव्यापी आम हड्ताल आह्वान गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्