अल विदा अभिभावक कमरेड बर्मन बुढा – Janadesh Daily | ePaper

अल विदा अभिभावक कमरेड बर्मन बुढा


जनादेश दैनिक, काठमाडौं ।

नेपाली कम्युनिष्ट आन्दोलनको प्रेरणाको थलो ऐतिहासिक गाउँ थबाङमा जन्मिएर जीवनभर आमूल परिवर्तनको पक्षमा संघर्षरत कमरेड बर्मन बुढा आजका दिनदेखि भौतिक रुपमा रहनु भएन । ९० वर्षका उकाली र ओरालीहरुमा निरन्तर सतीसाल झैं ठिंग उभिदै आएका अग्रज अबका दिनमा स्मृतिको ऐनामा मात्र रहनु भएको छ ।

जीवन संघर्ष र संघर्ष नै जीवनको पर्याय बनेका उहाँ पञ्चायत कालदेखि निरन्तर देश र जनताको पक्षमा आफूलाई उभ्याउँदै आउनु भयो । स्थानीय वर्गसंघर्षमा नेतृत्व गरिरहँदा थवाङ बर्मन र बर्मन थवाङको पर्यायवाचीका रुपमा उहाँ स्थापित हुनु भएको थियो ।

पञ्चायत कालमै तात्कालीन राजा बीरेन्द्र पहिलो पटकको रोल्पा भ्रमणकै क्रममा थवाङ पगेका थिए । स्थानीय जनताको नेतृत्व गर्दै राजासँग आफ्ना मागहरु राख्ने क्रममा सिधा आँखा जुधाएर स्पष्ट रुपमा कुरा राख्दा राजाका कर्मचारी र सुरक्षाकर्मीहरु उहाँको अगाडी नतमस्तक भएका थिए । निकै उत्सुकताका साथ हेर्दै र मुसुमुसु हाँस्दै गरेका राजाले उहाँले राखेका मागहरु सबै पूरा गरिदिएका थिए ।

त्यसपछि बलियो अभिभाकत्व प्राप्त गरेका बुढा रोल्पा जिल्लाभर चर्चामा आउनु भएको थियो । सबैले थबाङी कस्ता हुन्छन् र त्यसमा पनि बर्मन बुढा कस्ता छन् भनेर निकै उत्सुकताका साथ हेर्ने मौका कुरिरहेका बखत उहाँ रोल्पा जिल्लाकै क्षेत्र नम्बर २ बाट तात्कालीन संयुक्त जनमोर्चाको तर्फबाट सांसद उम्मेदवार बनेपछि उहाँको स्वागत गर्न जनता ताँती लागेर उभिए । हसिंयाहथौडामुनी तारा चिन्ह लिएर निर्वाचन प्रचारप्रसारमा जुटेपछि उहाँको पक्षमा जनसागर नै उर्लन थाल्यो ।

उहाँ रोल्पाली नेता कृष्णबहादुर महरासँग एकैसाथ अत्यधिक मतले विजयी घोषणा भएपछि आफ्नै भेषभूषामा सिंहदरवार प्रवेश गर्नु भएको थियो । सिंहदरवार प्रवेशका लागि दौरा सुरुवाल एक अनिवार्य पोशाक थियो । कर्मचारी तथा मर्यादापालकहरुले गरेका हजार अनुनयविनय केही काम नलागेपछि धम्की दिंदा पनि उहाँले आफ्ने पोसाकमा सिंहदरवारमा उपस्थिति जनाउने अडानमा टसमस हुनु भएन ।

राजदरवारमा यो खबर पुर्याइएपछि राजा वीरेन्द्रले ंउनलाई सोही पोसाकमा सिंहदरवार पस्न अनुमति दिन हुकुम दिए । त्यसपछि सिंहदरवारमा आकर्षणका केन्द्र बनिरहनुभयोे– सांसद बर्मन बुढा । उहाँ सुरक्षाकर्मी, कर्मचारी, तथा पत्रकारको आकर्षणको घेरामा रहिरहनु भयो । ‘राजाले ला भनेर जनवाद दिंदैन’ भन्ने अन्तरवार्ता प्रकाशमा आएपछि बर्मन बुढाको परिपक्व वौद्धिक हैसियतको पनि खुलेरै तारिफ भयो ।

त्यसपछि उहाँ स्थानीय जनता र नीति निर्माण गर्ने थलो सिंहदरवारका बीचमा जीवन्त सेतुको काम गरिहनु भयो । आफ्नै पोसाकमा उहाँको उपस्थितिलाई लिएर संभ्रान्त वर्ग तथा शासकहरुबाट निकै कडा टिका टिप्पणी र आलोचना पनि भए । त्यसै बेला उहाँले त्यो वर्गीय सोचको उपज र अभिव्यक्ति भनी सालिन तर फलामे जवाफ दिएर ती सबैको मुखबुजो लगाइदिनु भएको थियो ।

उहाँ त्यसपछि २०५२ सालबाट तात्कालीन नेकपा (माओवादी) ले सुरु गरेको जनयुद्धको निरन्तर समर्थन, पक्षपोषण र सहभागिता जनाउँदै आउनु भयो । जनयुद्धहुँदै शान्ति प्रक्रियामा आइसकेपछि संविधानसभामा समानुपातिकता र समावेशिताका कुरा मुख्य एजेण्डाका रुपमा उठाइए । संविधानतः त्यो संबोधन भयो पनि । पोसाक, विचार र अभिव्यक्तिमा पहिले बर्मन बुढालाई फगत गाउँले देख्ने सोच र अभिव्यक्ति अब राष्ट्रिय एजेण्डा बनेर पारित भएको देख्दा पहिले गाली गर्दै बदनाम गर्ने सबैले आत्मसमीक्षा गरेको हुनु पर्छ ।

संविधान निर्माण र कार्यान्वयनसँगै बर्मन बुढा शारीरिक रुपमा केही कमजोर हुँदैजाँदा उहाँको क्रियाशील राजनीतिक जीवन केही ओझेलमा परेको सबैमा अनुभूत हुन गएको थियो । तर उहाँको सोच, विचार र अडानमा कहिल्यै पनि धरमराहट आएन ।

उहाँ आजका दिनदेखि भौतिक रुपमा हाम्रो माझमा रहनु भएन । अल बिदा अग्रज बर्मन बुढा !

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्