जनादेश, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव) पक्षका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्राप्त उपलब्ध गुम्ने खतरा बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभएको छ । जनयुद्धमा शहीद, ज्यान गुमाएका, बेपत्ता परिवार तथा घाइते योद्धाहरुबारे लेखिएको पुस्तक ‘जीवनगाथा’ को आज यहाँ विमोचन गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र समावेशिता नै धरापमा पर्ने खतरा बढ्दै गएको बताउनुभयो ।
तत्कालीन समयमा दुई हजार ५०० बढी व्यक्ति बेपत्ता पारिएको पहिचान गरिएको छ । बर्दिया जिल्लामा मात्रै २५० नागरिक बेपत्ता बनाइएको छ । बारबर्दिया नगरपालिकाले प्रकाशन गरेको आज सार्वजनिक गरिएको जीवनगाथामा ५८० शहीद, ज्यान गुमाएका, बेपत्ता पारिएका तथा घाइते व्यक्तिको जीवनी समेटिएको छ ।
यसमा ३२८ शहीद तथा मारिएका व्यक्ति, २५० बेपत्ता पारिएका व्यक्ति र १०२ घाइते तथा अपाङ्ग भएका व्यक्तिहरुको जीवनी समेटिएको छ । अधिकारकर्मी तथा लेखक सुशील चौधरी, प्रभुराम थारू र मानबहादुर चौधरीले सम्पादन गर्नुभएको सो पुस्तकमा समावेश व्यक्तिहरुको बाल्यकाल, युवाकाल, राजनीतिक अवस्था, घटना विवरण र आर्थिक तथा सामाजिक परिवेशलाई समावेश गरिएको छ । रासस