जनादेश सोसल मिडिया वाच ।
संसद विघटन गरेर चौतर्फीरुपमा एक्लिएका प्रधानमन्त्री केपी शर्मा ओली देशभरीका आयोजना शिलान्यास र उद्घाटन गर्न दौडिरहेका छन् ।
राजतन्त्रकालीन शैलीमै प्रधानमन्त्री उद्घाटन र शिलान्यासमा जाने र सरकारी सञ्चारमाध्यमले रातदिन लगाएर यसको प्रचार गर्ने चलन फेरि दोहोरिरहेको छ । यस्तो उद्घाटन मोह देखेर लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलाले ओलीप्रति व्यङ्ग्य वाण प्रहार गरेका छन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘प्रधानमन्त्री ओलीलाई लाग्दो हो- जति धेरै शिलान्यास र उद्घाटन गय्रो आफू त्यति नै बढी ओजस्वी र तेजस्वी भइन्छ। त्यसैले होला, नबनाइने वस्तुहरूको शिलान्यास र थोत्रिएका वस्तुहरूको उद्घाटन गर्दै जगलाई हँसाउन ओली सर रातदिन यता र उता कुदेका कुदेई छन्।एहे हे!चटककान्त अमर रहून्!’
प्रधानमन्त्री अाेलीलाई लाग्दाे हाे- जति धेरै शिलान्यास र उद्घाटन गय्राे अाफू त्यति नै बढी अाेजस्वी र तेजस्वी भइन्छ।त्यसैले हाेला,नबनाइने वस्तुहरूकाे शिलान्यास र थाेत्रिएका वस्तुहरूकाे उद्घाटन गर्दै जगलाई हँसाउन अाेली सर रातदिन यता र उता कुदेका कुदेई छन्।एहे हे!चटककान्त अमर रहून्!
— Khagendra Sangroula (@belakoboli) February 18, 2021
ओली कहिले एउटै योजना दुई–दुईपटक या तेस्रोपटक पनि शिलान्यास गर्न पुग्छन् या कुनै अधुरो योजना पनि एकैछिनका लागि तुल टाँगेर उद्घाटन गरिदिन्छन् ।
हालै उनले भरतपुरमा स्थानीय पालिकासँग सहकार्य नै नगरी दुईवटा संरचनाको शिलान्यास गरेर हिँडेका थिए ।
लामो समय घरबाहिर निस्किन नसकेर बालुवाटारबाटै देशको शासनसत्ता र हाइहुकुम चलाई बसेका प्रधानमन्त्री केपी शर्मा ओलीले सन्देहास्पद रूपमा असंवैधानिक तरिकाले निर्वाचन घोषणा गरेपछि उद्घाटन र शिलान्यासको दौडाहामा लागेका हुन् ।
नभएका उपलब्धि हासिल गरेको दाबी गर्ने र जनतालाई भ्रम छर्ने अभियान सरकारी खर्चमै चलाइरहेका प्रधानमन्त्रीले आफूले गर्ने यस्ता शिलान्यास र उद्घाटनले कसरी आफ्नै बदनामी भइरहेको छ भन्नेतिर ध्यान दिन विज्ञले सुझाव दिएका छन् ।